Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

शिक्षामा दलीयकरण लोकतन्त्रका लागि चुनौती

शनिबार, ०५ पुस २०७६

काठमाडौं - शिक्षामा बढ्दो दलीयकरण लोकतन्त्र सवलीकरणमा वाधक हुने भन्दै नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डेले चिन्ता व्यक्त गरेका छन् । शिक्षामा प्राज्ञिक ज्ञानगुन, अनुसन्धान र अध्ययनका आधारमा नभई पार्टिको सम्पर्कको आधारमा उत्कृष्टता खोज्ने चलन बसेको भन्दै उनले यसले लोकतान्त्रिक व्यवस्था सवलीकरण गर्न चुनौती बढाएको बताए ।  

मार्टिन चौतारी स्थापनाको अवसरमा शुक्रबार आयोजित पाँचौ व्याख्यानमा प्रवचन दिदैं पाण्डेले लोकतन्त्रको सवलीकरणमा शिक्षाको महत्वका बारेमा चर्चा गरेका हुन् । 'नेपालमा लोकतन्त्रको प्राण - प्रतिष्ठा' शिर्षकको उक्त प्रवचनमा उनले लोकतन्त्र भनेको जीवन पद्दतीमा देखिनु पर्ने र सामान्य नागरिकले अनुभुत गर्न पाउनु पर्ने व्यवस्था भए पनि त्यो दिशामा अभ्यास हुन नसकेको तर्क गरे । नेपाली नेताहरूले दलीय व्यवस्थालाई नै लोकतन्त्रको पर्याय बनाएको उल्लेख गर्दै उनले राजनीतिक अस्थिरताका कारण अवधारणा अनुसार अभ्यास हुन नपाए पनि लोकतन्त्रको सवालमा सबै भन्दा महत्वपूर्ण कुरा शिक्षा हुने बताए । अन्य क्षेत्रमा जस्तै शिक्षा, प्रशासन, शिक्षण विधि लोकतान्त्रिक हुनुपर्ने तथा लोकतान्त्रिक मुल्य मान्यताको विकास पनि आवश्यक रहेको उनको भनाई छ ।  

'शिक्षाले लोकतान्त्रिक नागरिक वृद्धि विकसित गर्न मद्दत गर्छ । नागरिकको मानसिकता, आत्मबल र नैतिक चरित्र विना लोकतन्त्र विकसित हुँदैन' उनले भने,  'शिक्षाको अवस्था के छ हामीले देखेका छौं, दलहरुको अवस्था देखेका छौं, शिक्षाको क्षेत्रमा पनि दलीयकरण भएको छ । त्यहाँबाट कुनै प्राज्ञिक ज्ञानगुनका कुरा अनुसन्धानका कुरा अध्ययनका कुराको आधारमा उत्कृष्टता रोज्ने हैन की पार्टिको सम्पर्कको आधारमा उत्कृष्टता खोज्ने चलन बसेको छ । यी सब कुरा भईञ्जेल सम्म लोकतान्त्रिक व्यवस्था सवलीकरण गर्न सक्दैनौं ।' 

यसका लागि शिक्षाको विषय के छ ? विधि के छ ? शिक्षा प्रशासन कसरी चलेको छ ? हरेक नयाँ पुस्ताले शिक्षाबाटै शन्देश र ज्ञान पाईरहेका छन् भन्ने आधारमा लोकतन्त्र नविकरण हुनु पर्ने उनको तर्क छ । शिक्षालाई व्यक्तिगत, पेशागत, सन्तोष सुविधा वा जीवन यापनको माध्यमको रुपमा मात्रै लिन नहुने बताउँदै उनले शिक्षा सार्वजनिक महत्वको विषय भएको र यसले लोकतन्त्रलाई र लोकतन्त्रले शिक्षालाई भरथेग गर्ने पनि बताए ।

'लोकतन्त्र हरेक पिढींमा नविकरण हुँदै जानु पर्छ, सात सालमा क्रान्ति गरेर अहिले सम्म खाएर बस्न पाईदैन' उनले भने 'नविकरणको मुख्य ठाउँ भनेको शिक्षा हो, यो क्षेत्र आफैंमा लोकतान्त्रिक हुनै पर्यो, यसले लोकतन्त्रको प्रतिनिधित्व पनि गर्छ ।' 

झण्डै एक घण्टा लामो प्रवचनमा उनले बहुदलीय व्यवस्था र आवधिक चुनावले मात्रै लोकतन्त्र नहुने उल्लेख गर्दै हरेक नागरिक, परिवार, समाज र दलहरुबाट लोकतान्त्रिक आचरण, व्यवहार र अभ्यास गर्नु पर्ने उल्लेख गरे । बजारवादले लोकतन्त्रलाई थप चुनौती दिएको उल्लेख गर्दै पाण्डेले आदर्शवादी विचार कायम राख्न सक्दा मात्रै उक्त चुनौती सामना गर्न सक्ने पनि उल्लेख गरे ।

'जतिसुकै दिक्दारी र निराशा छाए पनि लोकतन्त्रको आदर्शलाई पन्छाउने होइन, पछ्याइरहने हो, म ४० बर्ष पुगे पछि लोकतान्त्रिक आदर्श बोकेको मान्छे परेँ' उनले भने 'बुढेसकालको माया दिगो हुन्छ भन्छन् नी ! अरु मैले देखेको पनि छैन विकल्प, संरचनागत विकल्प हुन्छ तर मैले जुन आदर्श मूल्य मान्यताको कुरा गरेको छु, मैले विकल्प देखेको छैन ।'

इतिहास, विश्व परिवेश र हाम्रो समाज परिवेशको अध्ययन गरेर चिन्तन मनन, अध्ययन विश्लेषण गर्ने तर्फ लाग्न जरुरी रहेको उनको निष्कर्श छ ।

नेपालमा प्रजातन्त्र हुँदै गणतन्त्र र संघीयता आए पनि जीवन्त हुन नसकेको औल्याउँदै उनले सत्ताधारीहरुले लोकतन्त्रलाई आफू अनुकूल प्रयोग गरिरहेको आरोप पनि लगाए । विश्वकै लोकतन्त्र अव्यवस्थित हुँदै गएको बताउँदै उनले निकट छिमेकी मुलुक भारतमा पछिल्लो समय हेरिनसक्नु भएको टिप्पणी समेत गरे । सात सालको क्रान्ति, पञ्चायत, बहुदल, मावोवादी द्धन्द्ध, राजाको शासन, गणतन्त्र हुँदै दुईतिहाइको सरकार बन्दा सम्म जनताले खोजेको रुपमा राज्य लोककल्याणकारी नभएको उनको दावी छ । नेपालका राजनीतिक नेताहरुलाई दलीय व्यवस्था नै लोकतन्त्र हो भन्ने लागेको बताउँदै उनले शीर्ष पाँच–सात जना नेता बसेर गर्ने लेनदेनबाट लोकतन्त्र बलियो नहुने बताए । दल जनताका लागि नभई नेताका लागि मात्रै भएको भन्दै उनले कटाक्ष पनि गरे ।

'हेर्दा हृष्टपुष्ट छ लोकतन्त्र । सबै अंग पुगेको छ । संविसधानसभाबाट जनता आफैंले संविधान बनाएका छन् । सार्वभौम संसद छ । संसद प्रति उत्तरदायी निर्वाचित सरकार छ । स्वतन्त्र न्यायापालिका छ । संवैधानिक अंगहरु छन् । मोटो न मोटो संविधान छ । संविधानले सबै अधिकार प्रत्याभूत गरिदिएको छ । यो भन्दा हृष्टपुष्ट लोकतन्त्र होला त कतै ? तर यो लोकतन्त्रको आत्मा छैन, शरीर मात्र छ' उनले प्रवचनका क्रममा भने, 'विश्व परिवेश हेर्दा एकातिर जनता आन्दोलित छन् । अर्कातिर लोकतन्त्रलाई पुँजीवादको पर्याय ठानिदैछ । यहाँसम्म त ठिकै थियो, यहाँ त बजारवाद आयो । पुँजीवादका त केही गुण छन् । बजारवादमा त जे पनि बिक्न । पृथ्वी बिक्छ, पर्यावरण बिक्छ। राजनीति पनि बजार भएको छ । किनबेच हुन्छ राजनीति । मूल्य मान्यताको अर्थ के हुन्छ बजारमा ? लोकतन्त्रको आदर्श कहाँ पुग्यो ?'

लोकतन्त्र राज्य र राजनीतिको सन्दर्भमा मात्र नभई यो आदर्शले समाजमा प्रभाव नपारेसम्म राज्य र राजनीतिमा लोकतान्त्रिक पद्धतिको विकास हुन नसक्ने बताउँदै उनले जटिल मानव समाजमा आदर्श लोकतन्त्र सम्भव नभए पनि प्रयास गरिरहनु पर्ने सुझाव दिए ।

'लोकतन्त्रको आदर्शलाई आत्ससात् गर्न नसकेर, नचाहेर, निष्ठा नभएर आदर्श लोकतन्त्र व्यवहारिक हुन नसकेको हो' उनले भने, 'लोकतन्त्र जीवनपद्धति हो । समाजमा विभिन्न सन्दर्भमा हुने क्रिया–अन्तरक्रिया, अभ्यासमा यो आदर्श देखिनुपर्छ । दैनिक व्यवहारमा नै लोकतन्त्र झल्किनुपर्छ । हाम्रो दैनिक आनीबानी नै लोकतान्त्रिक हुनुपर्छ ।'

मार्टिन चौतारीको फेसबुक पेजमा राखिएको यो लिंकबाट उनको विचार सुन्न/हेर्न सकिन्छ : 'नेपालमा लोकतन्त्रको प्राण - प्रतिष्ठा'
 
कार्यक्रमको शुरुवात गर्दै मार्टिन चौतारीका संस्थापक अध्यक्ष प्रत्युष वन्तले पाण्डेको व्यक्तित्व र कृतित्वका बारेमा जानकारी गराएका थिए । त्यस अघि तौतारीका कार्यक्रम व्यवस्थापक देवराज हुमागाईले चौतारी स्थापनाको अवसरमा हरेक वर्ष हुँदै आएको व्याख्यानका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया