Edukhabar
आइतबार, ०९ बैशाख २०८१
अभिभावक / विद्यार्थी

नाटक घरमा पहिलो पटक

बुधबार, ०९ पुस २०७६

आठ नौ वर्षको हुँदा हलमा फिल्म हेरेको थिएँ । त्यस पछि अहिले ९ कक्षा पढ्दा सम्म हलमा पुगेकी छैन । नाटक घर त झन् कस्तो होला भन्ने लागिरहेको थियो । नाटक घरमा फिल्म हलमा जस्तै सेतो पर्दा हुन्छ कि हुन्न होला ? भित्र दर्शक बस्ने ठाउँ कस्तो हुन्छ होला ? नाटक घर जाने भने देखि नै यस्तै सोचिरहेको थिएँ ।

शैक्षिक भ्रमणको क्रममा हामीले नाटक घर जाने अवसर प्राप्त गर्यौँ । भ्रमणको दोस्रो दिन गत मंसिर २४ गते हामी काठमाडौंको कालिकास्थानमा रहेको सर्वनाम नाटक घर पुग्यौं । 

‘सर्वनाम’को स्थापना वरिष्ठ रङ्गकर्मी अशेष मल्लले गर्नु भएको रहेछ । उहाँले यसका लागि निकै संघर्ष गर्नुभएको थियो । मल्लकै शब्दमा ‘यो भवन होइन, भावना हो ।’

बाहिरबाट हेर्दा नाटक घर सानो देखियो । भित्र भने आश्चर्य जनक कुराहरु भेटिए । एक छिन त म दङ्ग परेँ । मलाई लाग्यो, नाटक घर पनि यति धेरै कलाले भरिपूर्ण हुँदो रहेछ ।

हामी नाटक घर पुगेको केहीबेरमा अशेष मल्ल आइपुग्नु भयो । त्यस पछि उहाँले हामीलाई एउटा कोठामा लिएर जानु भयो । त्यस कोठामा थुप्रै चित्रहरु थिए । उहाँले हामीलाई भन्नु भयो, ‘यी चित्रहरु मिथिला चित्रकलाका नमुना हुन् । भारतको बिहारमा जन्मेर हाल महोत्तरीमा बस्नुहुने पुनम कुमारी दासले यी चित्रहरु बनाउनु भएको हो । उहाँले यी कला जनकपुर क्षेत्रमा सिक्नु भएको हो ।’

चित्रहरु हेरे पछि हामी नाटकको पूर्वाभ्यास गर्ने कोठामा गयौँ । त्यहाँ कक्षा १० को नेपाली किताबको नाटक ‘माउजङ बाबु साहेबको कोट’ को पूर्वाभ्यास भैरहेको रहेछ । हामीले केहीबेर नाटकको तयारी कसरी गरिँदो रहेछ भनेर हे¥यौँ । हामीलाई त्यो अभ्यास रमाइलो लाग्यो । त्यस पछि हामी नाटक प्रदर्शन हुने हलमा गयौँ ।

हल भित्र जानु भन्दा पहिले मलाई डर लागिरहेको थियो किनकि म कहिल्यै नाटक हलमा गएको थिइनँ । जब भित्र पुगेँ, मलाई अचम्म लाग्यो । मेरो अगाडि रङ्गमञ्च थियो । पछाडी लहरै दर्शक बस्ने कुर्सीहरु थिए । फरक किसिमका बत्तीहरु थिए । भित्तामा सबैतिर कालो पोतिएको थियो ।

सर्वनामका कलाकारहरुले तत्कालै हाम्रा लागि एउटा लघुनाटक तयार गर्नुभएको रहेछ । यो नाटक हामी जस्तै विद्यार्थीका बारेमा थियो ।

नाटक हेरे पछि हामीले केहीबेर कुराकानी गर्यौँ । अशेष सरले त्यहाँ आफ्नो जीवनका बारेमा धेरै कुरा भन्नुभयो । उहाँले भन्नुभयो, ‘जब मान्छे यस धर्तीमा जन्मन्छ, तब हरेकले केही न केही दायित्व बोकेर आएको हुन्छ ।’ 

मलाई उहाँको यो भनाइ निकै मन प¥यो । मैले पनि त्यति बेला महशुुस गरेँ कि म पनि एक जिम्मेवार व्यक्ति रहेछु । हामी सबैले आआफ्नो जिम्मेवारी निभाउन सकेमा हाम्रो देश राम्रो हुँदो रहेछ । उहाँले आफूले गरेको संघर्ष र आफ्नो दायित्व पूरा गर्ने क्रममा भोगेको अनुभव हामीलाई सुनाउनु भयो । 

सानैमा स्कुल पढ्दै गर्दा अशेष सरलाई नाटक प्रति रुचि रहेछ । उहाँले स्कुलमा नाटक प्रतियोगितामा भाग लिनु भएको रहेछ जुन निकै चर्चित भएछ । पछि त्यसैको प्रेरणाले उहाँ काठमाडौं आएर नाटकमा संघर्ष गर्नु भएछ । अहिले उहाँ एक सफल रङ्गकर्मी हुनुहुन्छ । यो सुन्दा मलाई पनि केही कुरा अहिले देखि नै प्रयास गरेँ भने म पनि भविष्यमा गएर एउटा सफल मान्छे बन्न सक्छु भन्ने भावना जाग्यो ।

अशेष सरले हामीलाई रिसका बारेमा पनि धेरै कुरा भन्नुभएको छ । 

‘रिस त सबैलाई उठ्छ, तर त्यसलाई सन्तुलन गर्न जान्नुपर्छ । यदि सन्तुलन गर्न जान्यौँ भने हामीले भावनालाई नियन्त्रण गर्न सक्छौँ । जानेनौँ भने हरेक मानिसले आफ्नो परिवार, आफन्त र समाजबाट तिरस्कृत हुनुपर्छ । यति मात्र होइन, रिसले आफैँलाई मार्छ ।’

अन्त्यमा उहाँले हामीलाई आँखा बन्द गरेर आफ्नो परिवार, समाज र आफन्तसँग माफि माग्नु पर्छ भन्ने महशुस गराउनु भयो । त्यो कुराले हामी सबैको मन छोयो । म त्यतिखेर भक्कानो फोरेर रुन मात्र सकेकी थिइनँ । मैले मन मनै आफूले गरेका गल्ति र रिसको लागि प्रायश्चित गरेँ । त्यस पछि मलाई धेरै आनन्द महशुस भयो । सर्वनाम नाटकघर र अशेष सरसँगको भेट मलाई जहिले पनि याद रहि रहनेछ ।

गुरागाईँ, मकवानपुर बाल विद्या सदन हेटौंडामा कक्षा - ९ मा अध्ययनरत विद्यार्थी हुन् । 

प्रतिक्रिया