Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

उच्च शिक्षा पढ्ने छोरी बुहारीलाई ५ विषयमा छात्रवृत्ति

शुक्रबार, ११ पुस २०७६

हेटौंडा - उच्च शिक्षा पढ्ने प्रदेश ३ भित्रका  छोरी बुहारीका लागि व्यवस्था गरेको छात्रवृत्ति प्राप्त गर्न योग्यता पुगेका छोरी बुहारीलाई निवेदन दिन शिक्षा विकास निर्देशनालयले आह्वान गरेको छ । प्रदेश ३ को सामाजिक विकास मन्त्रालय मार्फत् सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वितरण हुने उक्त छात्रवृत्ति विभिन्न ५ विषयका लागि दिईने निर्देशनालयको आह्वानमा उल्लेख छ । 

प्राविधिक तथा व्यवसायिक तर्फ स्नातकोत्तरका लागि ५ वटा कोटामा १ लाख ७६ हजार रुपैंयाका दरले छात्रवृत्ति उपलब्ध गराईने छ । यस्तै विज्ञान तर्फ स्नातकोत्तरका लागि १० कोटामा ५२ हजार रुपैंयाका दरले र विज्ञान बाहेक अन्य विषयको स्नातकोत्तरको १ सय कोटाका लागि २५ हजार रुपैंयाका दरले छात्रवृत्ति दिने उल्लेख छ । यसैगरी विज्ञानको स्नातकका लागि २० कोटामा ४० हजारका दरले र विज्ञान बाहेकका स्नातकका लागि २ सय ६५ कोटामा २० हजारका दरले छात्रवृत्ति दिईने निर्देशनालयले जनाएको छ । 

प्रदेश ३ भित्र बसोवास भएका र विवाह गरी प्रदेश ३ भित्र आएका छात्राहरुले १५ दिन भित्र शिक्षा तालिम केन्द्र धुलिखेल वा हेटौंडा स्थित निर्देशनालयको कार्यालयमा आवेदन गर्न सक्ने छन् । आवेदनको साथमा शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र पेश गर्नु पर्ने छ । साथै दलित, जनजाती, शहीद, वेपत्ता परिवारका विद्यार्थी भएमा सो सम्बन्धमा प्रमाणित पत्र, क्याम्पस भर्ना भएको रसिद र बार्षिक शुल्क किटान गरिएको पत्र, विपन्न परिवारको विद्यार्थी भएमा स्थानीय तहबाट प्रमाणित पत्र पनि पेश गर्नु पर्ने हुन्छ । 

यसै गरी यस अघिका तहमा छात्रवृत्ति प्राप्त गरेको भए सोको किटानी पत्र र हाल स्थायी बसोवास रहेको स्थानीय तहको पत्र पनि पेश गर्नु पर्ने हुन्छ । विवाहिताको हकमा विवाह दर्ता प्रमाणपत्र र श्रीमानको नागरिकताको प्रमाणित प्रतिलिपी पनि पेश गर्नु पर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया