Edukhabar
मंगलबार, ११ बैशाख २०८१
विचार / विमर्श

सन्दर्भ सन् २०२०, अपेक्षा परिवर्तन

बुधबार, १६ पुस २०७६

सन् २०१९ मा बितेका दिन र सन् २०२० मा आउने दिनहरुलाई मानिसको जीवनचक्र भन्दा पर राखेर हेर्ने हो भने खासै फरक हुन्नन् । सबै दिनहरु उस्तै हुन् । ऋतुका हिसाबले पनि खासै फरक हुँदैनन् । जब यी दिनहरु मानिससँग जोडिन्छन् अनि तीनै दिनहरु फरक - फरक जस्तो बन्न पुग्छन् । व्यक्तिको मनोभावनाले दिनहरुलाइ फरक - फरक रुपमा बुझाइ दिन्छ । यहि भएर कुनै दिनलाई राम्रो मानिन्छ भने कुनैलाई मानिँदैन ।

समयका हिसाबले यसमा खासै भिन्नता छैन । अझ पूर्वीय पद्धतिमा त दिन पनि शुभ अशुभ मान्ने प्रचलन छ । शुभ भनिने दिनहरु खास खास घटना वा विषयसँग जोडिन्छन् । यस अन्तर्गत एउटै दिनका घडि, पला आदि पनि शुभ अशुभ हुन्छन् भन्ने मान्यता रहि आएको छ । शुभ भनिएका यीनै समयमा मानिसले नयाँ नयाँ काम गर्ने वा काम गर्ने प्रतिवद्धता जनाउने प्रचलन पनि रहि आएको छ । 

व्यक्तिले शुभ मानेर नयाँ नयाँ प्रतिवद्धता जनाउने मध्येको एउटा दिन नयाँ वर्षको पहिलो दिन पनि हो । कतिपयले कतिपय कामहरु यहि दिनबाट शुरु गर्ने प्रचलन छ । यसमा के विशेषता छ अध्ययन अनुसन्धान हुन बाँकी होला । तर पनि मुलुक भित्र विगतमा बैशाख १ गतेलाई मात्र नयाँ वर्ष मानी त्यस दिन विशेष प्रतिवद्धता व्यक्त गर्ने प्रचलन थियो र अहिले पनि छ । समयसँगै अहिले जनवरी १ लाई पनि नयाँ वर्षको रुपमा मनाउने प्रचनले व्यापकता पाउँदै गएको देखिन्छ । कतिका लागि त अंकका संयोजनका हिसाबले सन् २०२० वर्ष नै पनि शुभ बन्ने हुन सक्छ । मुलुकको लागि पर्यटन वर्षको रुपमा रहेको सन् २०२० को आफ्नै महत्व पनि छ । यीनै सन्दर्भमा सन् २०२० को जनवरी १ नेपालीलाई राम्रा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नका लागि अर्को एउटा थप अवसरको रुपमा हाम्रै अगाडि आइपुगेको छ ।  

हुन त मानिसलाई असल काम गर्न कुनै मुहुर्त वा दिन आवश्यक पर्दैन भन्ने मत पनि छ । राम्रो काम जहिले शुरु गर्दा पनि हुन्छ । यो विश्वास पनि हो । तर कतिका लागि नयाँ काम शुरु गर्नका लागि शुभ अवसर चाहिने हुनाले सदा झै अहिले अर्को अवसर पुनः आएको छ । तसर्थ आउनुहोस् सन् २०२० को यस अवसरमा कुनै नयाँ काम शुरु गरेर आफ्नो जीवन र अरुलाइ पनि सहयोग पुग्ने काम शुरु गरौ । 

सन् २०२० मा गर्नै पर्ने कामहरु धेरै हुन सक्छन् । तर ती मध्ये देहायमा उल्लेख गरिएका केहि काम मात्र गर्न सके पनि स्वयम व्यक्ति र मुलुकका लागि फाइदा पुग्ने थियो, केही परिवर्तन हासिल हुने थियो : 

- असल स्रोता बन्ने : यसका लागि कम भन्दा कम बोल्नु पर्छ । कम बोलेमा शक्ति क्षयिकरण हुनबाट रोक्न सकिन्छ । अरुको कुरा धेरै मात्रामा सुन्न सकिन्छ । साथै कम बोल्दा अरुको भावनामा असर पार्ने काम पनि कम हुन्छ । यसबाट घरपरिवार र सार्वजनिक जीनवमा धेरै परिवर्तन आउन सक्छ ।

- समय पालना गर्ने : आफूलाई बोलाएको स्थानमा समयमै पुग्ने र आफुलाइ तोकिएको काम समयमै सम्पन्न गर्न सकेमा पनि धेरै उपलब्धि हासिल गर्न सकिन्छ । आफ्ना कारण अरुलाइ कुराउने काम नगर्ने र बैठक तथा अन्तरक्रियालाई सकेसम्म छोटो बनाउने कार्यबाट उपलब्ध समयलाइ धेरै उत्पादन मूलक बनाउन सकिन्छ र बचत हुने समयलाइ अन्य आवश्यक काममा लगाउन पनि सकिन्छ ।

- साना साना कुरामा ध्यान दिने : हजार माइलको यात्रा पहिलो पाइलाबाट शुरु हुन्छ । साथै हरेक सानो काम जोडिदै गएर पछि ठूलो हुने भएकोले यस्ता साना मसिना कुरामा ध्यान दिन आवश्यक देखिन्छ । मसिनो काममा ध्यान दिँदा आफ्नो कार्यक्षेत्रमा अत्यन्त सचेत रहने सोच बनाउन पनि उत्तिकै आवश्यक देखिन्छ ।

- सहयोग गर्ने : मानव जीवनको सार्थकता नै एक आपसमा गरिने सहयोग र सहकार्यमा देखिने हुनाले अरुलाई सहयोगका लागि तत्पर रहन सके व्यक्तित्व विकासमा सहयोग पुग्नका साथै समूहमा सकारात्मक छाप सृजना गर्न पनि सकिन्छ । समतामूलक समाज सृजना गर्नमा पनि सहयोग पुग्दछ ।

- समन्वय गर्ने : समाजमा विविधता छ । विचारमा विभिन्नता छ । यीनै विविधता र फरक विचारको संयोजनबाट नै साझा विचार बन्न सक्दछ । यस्ता कार्यको असर सार्वजनिक क्षेत्रमा पर्ने हुनाले अरुको विचार सुन्ने¸ मिलेर काम गर्ने¸ सहिष्णु बन्ने जस्ता कार्य विकासका लागि समन्वय अति आवश्यक हुन्छ । तसर्थ समन्वयले जोड्ने काम गर्छ, जुन अहिले चाहिएको छ ।

- अध्ययन गर्ने : व्यक्तित्व विकासका लागि अध्ययन अति आवश्यक छ । व्यस्त जीवनमा अध्ययनका लागि समय निकाल्ने काम त्यति सजिलो पनि छैन । तर पनि सामाजिक सञ्जालमा कम समय दिने, अनावश्यक टिप्पणी र नकारात्मक भावना व्यक्त गर्ने काम रोक्न सकेमा अहिले प्रयोग भइरहेको समय मध्ये केहि समय वचत गर्न सकिन्छ । यसरी वचत भएको समय अध्ययनमा विताउन सकेमा लाभ पुग्छ । सम्भव भएसम्म नयाँ नयाँ पुस्तक अध्ययन गर्ने बानीले व्यक्तित्व निखार्न सहयोग पुग्छ । 

- खुला र सकारात्मक सोच राख्ने : घरपरिवार र सार्र्वजनिक जीवनमा हुने र गरिने सार्थक बहसले खुला समाज निर्माणमा सहयोग पुग्छ । यस्ता बहसलाई स्वच्छ ढँगबाट अगाडि बढाउनका लागि व्यक्तिमा सकारात्मक सोच चाहिन्छ । ज्ञान निर्माणका लागि पनि बहस चाहिन्छ । असहमती पनि खुला ढँगबाट राख्ने संस्कार बनाउन आवश्यक छ । यसबाट असहमतीका बिचमा पनि सहमती खोज्न सहयोग पुग्छ ।

र अन्तमा¸ 

सबै मानिसका लागि उपलब्ध हुने समय यहि २४ घण्टा नै हो । अरुले केहि गरेका पनि यहि २४ घण्टा मध्येकै समय सदुपयोग गरेर नै हो । हामीले गर्न नसकेको पनि यसैको व्यवस्थापन गर्न नसकेर नै हो । व्यवस्थापनका गुरुहरुले भने अनुसार सबैभन्दा ठुलो सम्पत्ती समय नै हो र यसको समुचित व्यवस्थापनबाट मात्र केहि हासिल गर्न सकिन्छ । 

अँग्रेजी नयाँ वर्षको अवसरमा यसमा केहि गर्न सकिन्छ त ?

शिक्षा मन्त्रालयका सहसचिव लम्साल, चिकित्सा शिक्षा आयोगमा सदस्य सचिवका रुपमा कार्यरत छन् । प्रस्तुत आलेखमा व्यक्त मत लेखकका निजी विचार हुन् ।

प्रतिक्रिया