Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

जसको शैक्षिक योग्यता धेरै, उही तस्करको फन्दामा !

सोमबार, २८ पुस २०७६

काठमाडौं २८ पुस / सार्वजनिक हुँदा आफ्नो प्रतिष्ठा कमजोर हुने सोचेर शैक्षिक योग्यता ढाँट्नेहरु मानव तस्करको फन्दामा पर्ने क्रम बढ्दो छ ।

पढालेखालाई अवैध बाटोबाट अमेरिका र युरोप देखि खाडीका देशसम्म छिराइदिने आशा देखाउने एजेन्टहरूको शैक्षिक योग्यता भने कम रहेको विषयमा कान्तिपुरले खबर छापेको छ ।

'फन्दामा पर्छन् पढेलेखेकै धेरै' शिर्षकमा जनकराज सापकोटाले लेखेको खबरमा दाङ तुल्सीपुरका ३५ वर्षीय युवकको घटनालाई उदृत गरिएको छ । ५० लाख खर्चेर अवैध बाटो हुँदै अमेरिका छिरेका ती युवक ‘डिपोर्ट’ भएर यही पुस ४ गते काठमाडौं उत्रिए । प्रहरीको मानव बेचबिखन ब्युरोको प्रारम्भिक बयानमा उनले आफ्नो शैक्षिक योग्यता १० कक्षा पास मात्रै भएको बताए । थप अनुसन्धान पछि थाहा भयो, उनी स्नातकोत्तर तहको अध्ययन सकेर स्थानीय बोर्डिङमा पढाउँदा रहेछन् । मानव तस्करको फन्दामा परेको सार्वजनिक हुँदा आफ्नो प्रतिष्ठा कमजोर हुने सोचेर उनले आफ्नो शैक्षिक योग्यता ढाँटेका रहेछन् ।

दाङका यी युवाजस्तै मानव बेचबिखनमा परेकाहरूमा उच्च शैक्षिक योग्यता भएका धेरै रहेको उक्त खबरमा उल्लेख छ ।

मानव बेचबिखनका २ सय ६७ घटनामा संलग्न पीडित र पीडकको शैक्षिक पृष्ठभूमिको अध्ययनबाट थाहा हुन्छ, पढेलेखेकैहरू थोरै पढेका वा कमजोर शैक्षिक योग्यता भएकाहरूबाट ठगिन्छन् । १ सय ७६ पुरुष र ९१ महिला पीडितले प्रहरीमा दिएका निवेदनमा मानव बेचबिखन समूहको फन्दामा परेर २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ गुमाएको दाबी गरेका थिए ।

ब्युरोका डीएसपी राजकुमार सिलवालले यसअघि केन्द्रीय अनुसन्धान ब्युरोमा छँदा मानव बेचबिखनका पीडित, पीडितको शैक्षिक योग्यता र उमेर समूहको अध्ययन गरेका थिए । अध्ययनका बेला २ सय ६७ पीडितलाई मानव बेचबिखनमा पारेका २२ जना पीडक समातिएका थिए । पीडित र पीडकको शैक्षिक योग्यता तुलनात्मक अध्ययन गर्दा पढालेखालाई थोरैशैक्षिक योग्यता भएकाले झुक्याएर ठगेको पाइएको थियो ।

पक्राउ परेका २२ पीडकमध्ये कसैले पनि स्नातकसम्म वा त्यसभन्दा माथि अध्ययन गरेको भेटिएन । पीडकमध्ये ६ जना एसएलसी पास देखिन्छन् भने १६ जनाको शैक्षिक योग्यता एसएलसीभन्दा कम देखिन्छ । ठगिएका २ सय ६७ मध्ये १३ जना भने स्नातकोत्तर अध्ययन गरेका छन् । १२ स्नातक, दुई स्टाफ नर्स, एक सय ३० एसएलसी, ४५ एसएलसीभन्दा तलका र ५ जना निरक्षर छन् ।

ठगिएकाहरूमध्ये २ सय ५ जना कृषि पेसाको पृष्ठभूमि भएका छन् भने १४ जना नोकरी र २८ जना व्यापारिक पृष्ठभूमिका छन् ।

तथ्यांकले विदेश गइसकेकाहरूभन्दा कहिल्यै विदेश नगएकाहरू ठगीको पासोमा बढी पर्ने गरेको देखाएको छ । ठगिनुअघि वैदेशिक रोजगारीमा वा अन्य सन्दर्भमा विदेश गएका ३७ जना छन् भने कहिल्यै विदेश नगएकाहरू २ सय ३० जना छन् ।

डीएसपी सिलवालले यो अध्ययनले कमजोर शैक्षिक योग्यता भएका एजेन्टहरूले पढालेखालाई नै झुक्याइरहेको र ठगिरहेको बताए । ‘सजिलै प्रलोभनमा पर्ने र धेरै कमाउने आशामा फस्नेहरूमा पढेलेखेका धेरै देखिन्छन्,’ उनले भने ।

संगठित मानव तस्करका अनेकन एजेन्टको सहयोगमा अवैध बाटो हुँदै अमेरिका छिरेर आर्थिक वर्ष ०७५/७६ मा डिपोर्ट भएका ४५ जनाको शैक्षिक योग्यतालाई केलाउँदा पनि उच्च शैक्षिक योग्यता भएकाहरू भेटिएका छन् । कान्तिपुरले गरेको अध्ययनमा ४५ मध्ये स्नातकभन्दा माथिको शैक्षिक योग्यता भएका सात जना अवैध बाटोबाट अमेरिका पुगी डिपोर्ट भएका थिए । ०७६/७७ मा अवैध बाटोबाट अमेरिका पुगी डिपोर्ट भएका ४५ जनाको तथ्यांक केलाउँदा पनि स्नातक तहमाथिको शैक्षिक योग्यता भएका सात जना भेटिएका थिए । यी दुवै तथ्यांकले पढेलेखेकाहरू संगठित मानव तस्करका एजेन्टको विश्वासमा पर्ने र ठगिने गरेको देखिन्छ ।

प्रतिक्रिया