Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

प्रयोगात्मक परीक्षाका सामग्रीबाट विद्यालयमा सामाजिक प्रयोगशाला

विहीबार, २३ माघ २०७६

पाल्पा - विद्यालयमा कम्प्यूटर कक्ष, पुस्तकालय, विज्ञान प्रयोगशाला त सुन्नु भएकै होला, तर यहाँको एक विद्यालयले सामाजिक प्रयोगशाला अर्थात् 'सोसल ल्याव' पनि बनाएको छ !

तानसेन नगरपालिका वडा नं. २ स्थित  महेन्द्रवोधि माध्यमिक विद्यालयमा उक्त प्रयोगशाला बनाईएको हो । 

गत वर्ष कक्षा १० का विद्यार्थीबाट शुरु गरिएको उक्त कार्यमा यस वर्ष कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागि गराईएको विद्यालयले जनाएको छ । विद्यार्थीले नै जम्मा गरेका विभिन्न सामग्रीले सामाजिक प्रयोगशाला सजिएको छ । 

प्रयोगशालामा दैनिक जीवनमा प्रयोग हुने ढिकी जाँतो, हलो, जुवा, ठेकी, स्यागु, डोको, गुलेली, टुकी, लालटिन सहित विद्यँर्थीले बनाएका विभिन्न हस्तकला तथा वस्तुकलाका नमुनाहरु राखिएको छ । यस्तै पुराना नोट तथा सिक्काहरु, रेडियो, विद्यालयको पुरानो मध्येको एक कम्प्यूटर, विद्यार्थीले सृजनात्मक रुपमा बनाएका विभिन्न चार्ट पेपरहरु लगायत १ सय भन्दा बढी सामग्री राखिएका छन् । 

केही समय अघि सम्म दैनिक जीवनमा प्रयोग हुँदै आएका तर विस्तारै लोप हुन लागेका यस्ता बस्तुहरुको संकलनबाट विद्यार्थीलाई आफ्ना अघिल्लो पुस्ताको जीवन बुझ्न सघाएको प्रयोगशाला निर्माणको पहलमा संलग्न  सामाजिक शिक्षक झविन्द्र देवकोटाले बताए । प्रयोगात्मक परीक्षा अन्तर्गत विद्यार्थीलाई सामग्री जम्मा गर्न लगाई उक्त कक्षको व्यवस्थापन गरिएको उनले बताए । 

'ल्याव निर्माणले विद्यार्थीमा थप हौसला बढेको छ, यो काममा विद्यालयको आर्थिक लगानी भएको छैन, विद्यार्थीले पढ्दै, सिक्दै बुझ्दै सहभागिता जनाईरहेका छन्' देवकोटाले भने, 'अन्यत्रका केही विद्यालयमा समाजमा पाईने पुराना तथा नयाँ सामग्री जम्मा गर्ने चलन त देखिएको छ तर सोसल ल्याव भनेर विद्यालयमै छुट्टै कक्ष निर्माण गरिएको हामीलाई थाह भए सम्म यो नै पहिलो हो ।'

प्रयोगशाला निर्माण कार्यले विद्यालयमा थप आकर्षण बढेको प्रधानाध्यापक केशव केसी बताउँछन् । ल्याव निर्माणसँगै शैक्षिक सामग्रीको फाइल तयार पार्ने काम पनि शुरु भएको छ । 

प्रतिक्रिया