घरमा पनि समस्या, कक्षामा पनि समस्या !


वर्तमान युग प्रविधिको युग हो । मान्छे प्रविधिको प्रयोग विना जिउन नसक्ने भएको छ । मोबाइल फोन, इण्टरनेट सेवा मानिसको अभिन्न अंग बनिसकेको छ । मोवाइल फोन विनाको मान्छे भेट्न मुस्किल छ । केटाकेटीदेखि वृद्धवृद्धासम्म सबैको हातमा विभिन्न स्तरका मोवाइल फोन रहेकै हुन्छ । जन्मेको छ महिनाको बच्चाले घरमा रिमोट थिचेर टिभीमा कार्टुन हेर्न उत्सुकता देखाउन थाल्छ । स्कूले केटाकेटी घर, स्कूल, खेल मैदान, पार्क सर्वत्र मोबाइल फोनमा व्यस्त देखिन्छन् । हुन त हरेक वस्तुको राम्रा र नराम्रा पक्ष हुन्छन् नै ।

आधुनिक प्रविधि अर्थात् मेशिनरी, जसले कामलाई चुस्त, छरितो बनाएका छन्, सबैको गुण र अवगुण भेटिन्छन् । प्रविधि मानव जीवनको महत्वपूर्ण अंग बनिसकेको छ । कम्प्युटर, ल्यापटप नभई अहिलेका विद्यार्थी स्कूल तह मात्र होइन, विश्वविद्यालय स्तर सम्मका सबै बाँच्नै नसक्ने जस्ता देखिन्छन् । प्रविधिको प्रयोगले मानवीय जीवनमा नाटकीय परिवर्तन ल्याएको तथ्य स्वीकार्नै पर्छ । अत्याधुनिक मेशिनरीले कृषि क्रान्ति बनाए जस्तै प्रविधिले मानवीय जीवन रुपान्तरण भएको छ । प्रत्येक घर अहिले शान्त छ । ईण्टरनेट जडान मात्रै हैन मोवाईलमा डाटा प्याकेज लिएका हुन्छन् । एकले अर्कोसँग बोल्ने फुर्सद हुँदैन । दुईजना मात्र हुँदा पनि एउटा एका तर्फ र अर्को अर्को तर्फ फर्केर व्यस्त बन्छन् । परिवारका मूली अभिभावकको आफ्ना केटाकेटी, सन्तानसँग कुरा गर्ने फुर्सद त धेरै टाढा बनेको छ । पति–पत्नी त माबोइल फोनमा, इण्टरनेटमा व्यस्त रहने र आपसमा आवश्यक सल्लाह पनि नहुने धेरै ग्याप बढ्दै जाने स्थिति धेरैले महशुस गरेका छन् ।

मोवाइल फोनमा इण्टरनेट सेवाको प्रयोग एउटा लत बनेको छ, नसा भएको छ । अझ अफिमको नसा सावित भएको छ । केहीले भन्न थाले, यसैगरी चल्ने हो भने अबको एक दशकमै प्रत्येक घरमा मोबाइल फोनकै कारणले विग्रह उत्पन्न हुन्छ । हत्या, आत्महत्या मात्र नभई अन्य विभिन्न अपराधहरु बढ्ने तथ्य निश्चित छ । सँगै यो सेवा वेभपेजको माध्यमले खोज अनुसन्धान गरेर शिक्षामा नयाँ र थप उपलब्धि हासिल गर्नेहरुको संख्या पनि कम छैन । यो पृष्ठभूमिको घेरामा मोबाइल फोनको प्रयोगलाई शिक्षण संस्थासँग जोडेर संक्षिप्त चर्चाको विषय प्रस्तुत गर्नु सान्दर्भिक भएको छ ।

१. कक्षामा हैरान भएर एक स्कूले शिक्षकले मोबाइल फोन बारे आफ्नो धारणा राख्दै भन्छन्– यसले सबै बिगारेको छ, घरमा पनि समस्या, कक्षामा पनि समस्या । सबै मोबाइलमा व्यस्त, शिक्षकका कुरा कसैले नसुन्ने, मोबाइल फोन खेलाएर बस्ने, पटक्कै नपढ्ने, कक्षामा अगाडि शिक्षक कराइ रहने, उता विद्यार्थी मोवाइल फोनमा व्यस्त देखिने अनि विविध स्थान, दृश्य, घटना हेरेर हाँस्ने, अस्वभाविक अभिव्यक्ति दिने स्थिति बनेको छ । विद्यार्थी एकोहोरो बन्ने, मोबाइल फोनमा अझ गेम खेल्न थाल्दा त झनै मानसिक विरामी जस्तो हुने, क्रमशः एकान्त मन पराउने, साथीबाट टाढा हुने, घर परिवारबाट टाढा बस्ने जस्ता समस्याले अभिभावक, शिक्षक सबै चिन्तित बनेको यथार्थता व्यक्त गरे ।

विद्यार्थीमा मोबाइल फोनको फेसबुक पेजमात्र होइन, विभिन्न खाले गेम, म्यासेन्जरको वार्ता आदिले मनोवैज्ञानिक असर गरिसकेको भन्नेहरु पनि कम छैनन् । ती शिक्षक मात्र होइन, उच्च शिक्षाका प्राध्यापक पनि दिक्क भएर अब त यो पेशा नै पो छोड्नु पर्ने हो कि ? भन्न थालेका छन् । आफ्नो काम त मात्र जागिरे धर्म पो भएछ । सिकाउने, पढाउने दिन गएछन् । सबै मोवाइल फोन र ल्यापटपले खाएछ । यो त गम्भीर भाइरस पो रहेछ भन्छन् । शिक्षक विद्यार्थीको कक्षागत अन्तरक्रिया पटक्कै छैन । विद्यार्थीको होमवर्क सबै गुगलबाट सर्च गर्दै प्रिण्ट गर्दै अझ आकर्षक कभर राखेर दर्ता गर्ने संस्कार देखियो । स्नातक गरेको भनिएको विद्यार्थीलाई लिखित निवेदन दिन आउँदैन । कसलाई के भनेर सम्बोधन गर्ने, विषय, व्यहोरा सबै गुगलमा सर्च गरेर डाउनलोड गर्ने अवस्थाले व्यक्तिको क्षमता, ज्ञानको क्षेत्र सबै इण्टरनेटरुपी भाइरसले ध्वस्त गरेको भन्नेहरु शिक्षण संस्थामा धेरै छन् ।

अभिभावकको पनि गुनासो छ– घरमा टिभी र कम्प्युटर छोडे्नै नखोज्ने हाम्रो सन्तानले दिक्क लगाए । बोल्ने फुर्सद छैन, तरिका छैन, सबै म्यासेन्जरमा आउने अभिव्यक्तिको घेरा सानो बनेकाले हैरान हुनेहरु धेरै छन् । कपी, कलम, किताबसँग सरोकार छैन, मात्र मोबाइल फोन, रिचार्ज कार्ड भए पुग्छ । शिक्षक पनि कतिपय विद्यार्थीसँगै कक्षामा नै म्यासेन्जरमा कुरा गर्दछन् । विद्यार्थी एकातर्फ मस्त, शिक्षक, प्राध्यापक अर्कोतर्फ यो प्रविधिको समस्या बनेको छ ।

२.  दुरुपयोग गर्ने हो भने मोबाइल फोन मात्र होइन, अरु धेरै वस्तुहरुको नतिजा नकारात्मक बन्छ । ज्ञान र सीपसँग जोडेर खोज, अनुसन्धान गर्नेतर्फ विद्यमान प्रविधिको प्रयोग हुनुपर्छ । शिक्षकबाट भन्दा मोबाइल फोनबाट, ल्यापटपबाट विद्यार्थीले धेरै सिक्न सक्छन् । इण्टरनेट सेवा तथा विभिन्न वेभपेजहरु प्रयोग गरेर विद्यालय स्तरदेखि कलेज स्तरसम्मका विद्यार्थीले बढीभन्दा बढी फाइदा लिन सक्छन् । पाठ्यक्रम र सोसँग जोडिएका पाठ्य सामग्रीहरुको अध्ययन गर्ने, हेर्ने, सुन्ने क्रियाकलापले विद्यार्थीको सिकाई स्तरमा अपेक्षित वृद्धि हुनसक्छ । अलमलमा परेका, नबुझेका, शिक्षकबाट स्पष्ट हुन नसकेका, प्राध्यापकले दिनुपर्ने जति दिन नसकेका, नयाँ विषयवस्तुहरु, अत्याधुनिक खोज अनुसन्धानहरु, पछिल्ला विकसित अभ्यासहरु यी सबैको समाधान इन्टरनेटको प्रयोगबाट आधुनिक प्रविधिमार्फत् हल हुनसक्छ ।

तसर्थ, सबै तहका विद्यार्थीलाई मोबाइल फोन खुला गरिनुपर्छ । अझ प्रयोगका लागि त प्रोत्साहन गर्नुपर्छ । अभिभावकलाई किताब भन्दा मोबाइल फोन, ल्यापटप खरिद गर्न भन्नुपर्छ । यसो भन्नेहरु पनि हामी बीचमा धेरै पाउँछौं । वास्तवमा प्रविधिको प्रयोगलाई दुरुत्साहन होइन, प्रोत्साहन नै गर्नुपर्छ । मोबाइल फोन, इण्टरनेट सेवा, वेभपेजहरु सिकाइका लागि अत्यन्त उपयोगी साधन हुन् ।

३.  यी साधन तथा प्रविधिको दुरुपयोगबाट उत्पन्न विकृति र समस्याहरु हल गर्ने उपाय अवलम्बन गर्नुपर्छ । अनावश्यक गेमहरु र विसंगति तथा मूल्य मान्यता विपरितका वेभसाइट बन्द गरिनुपर्छ । धेरै देशहरुले विद्यार्थीको मात्र नभई शिक्षक, प्राध्यापक, कर्मचारी, सेना, प्रहरी, राजनीतिज्ञ यी सबैको प्रतिकूल हुने वेभसाइटहरु बन्द गरेको समाचार बाहिर आएको छ । स्मरणीय कुरा के हो भने बसहरु, जहाजहरु दुर्घटना भए भनेर उत्पादनको कारखाना बन्द गर्ने वा प्रयोग गर्न छाड्ने भन्ने होइन । त्यसको सदुपयोगबारे अधिकतम सावधानी अपनाउनु पर्ने सवाल मुख्य विचारणीय पक्ष हो ।

त्यस्तै, विकृतिजन्य, नकारात्मक प्रभाव पार्ने तथा हाम्रो समाजमा हाम्रा सामाजिक मूल्य मान्यतालाई, अनुशासन ध्वंश गर्ने सबै वेभसाइट बन्द गर्न सकिन्छ, निषेध गर्न जरुरी हुन्छ, तर मोबाइल फोन तथा समग्र इण्टरनेट सेवा नै रोक्नु थप मूर्खता बन्न सक्छ । यो प्रविधिलाई शिक्षाका विभिन्न आयाम तथा विधिसँग जोडेर ज्यादा फाइदा लिन सकिन्छ । यो तथ्य विद्यार्थीमा सम्झाएर सिकाएर प्रयोग गर्न लगाउँदा सिकाइ उपलब्धिमा वृद्धि गर्न सकिन्छ । नयाँ विधिहरु अभ्यासहरु विभिन्न समयका धेरै स्थानका एकापसमा आदानप्रदान गरेर थप क्षमतावान, नैतिकवान र जिम्मेवार बनाउनमा आधुनिक प्रविधि जोड्न सकिन्छ ।

छाडा र गलत सन्देश दिने अनि विद्यार्थी तथा शिक्षक मात्र नभई समाजका विभिन्न वर्ग र तहका जनसमुदायलाई नसामा डुबाएर तहसनहस बनाउने सामग्री उत्पादन र वितरणमा निषेधमात्र होइन, कडा सजायको व्यवस्था गर्न विलम्ब भइसकेको छ । हाम्रा मिडिया देखि यस प्रकारका गलत सन्देशका उत्पादक, वितरकहरुले अनुशासित बन्नै पर्छ । सजग र सावधानी पूर्वक सृजनात्मक, अनुसन्धानात्मक तथा सीप मूलक एवम् ज्ञानवर्धक  सामग्रीमा जोड दिनुपर्छ । मनोरञ्जनात्मकको नाममा छाडा र लज्जास्पद एवम् सस्ता प्रचारका सामग्री तत्काल निषेध गर्नु पर्दछ । हामी प्रविधिको प्रयोगले समाजको सकारात्मक रुपान्तरण चाहन्छौं । व्यक्तिको सिकाइ, सामाजिक मर्यादा, पारिवारिक जिम्मेवारीमा प्रविधिको उपयुक्त र आदर्श पूर्ण सहयोगको अपेक्षा राख्दछौं । यो प्रकरणमा सरकारको हस्तक्षेप जरुरी हुन्छ । प्रशासनिक संयन्त्रहरु, ऐन कानून तथा स्थानीय सरकार समेत यस्ता विषयमा स्पष्ट बन्नै पर्छ ।