Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

चैत तेस्रो साताबाट स्वयंसेवक शिक्षक खटाउने गरी तयारी

विहीबार, २९ फागुन २०७६

काठमाडौं २९ फागुन / विषयगत शिक्षक अभाव कम गर्न भन्दै सरकारले शुरु गर्न लागेको शिक्षक स्वयंसेवकलाई चैत तेश्रो साताबाट खटाउने तयारी गरिएको छ । 

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले शिक्षण स्वयंसेवकका लागि १३ हजार बढीको आवेदन शिर्षकमा लेखेको खबर अनुसार एक शैक्षिक सत्रका लागि यो वर्ष करिब १ हजार ५ सय स्वयंसेवक शिक्षक छनोट हुनेछन्।  शिक्षण स्वयंसेवकका लागि १३ हजार ३ सय ५४ ले आवेदन दिएका छन्। शिक्षक स्वयंसेवक छनोट समितिका संयोजक एवं शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक अणप्रसाद न्यौपानेले शिक्षक छनोट गर्ने काम भइरहेको बताउनुभयो। उहाँका अनुसार चैत तेस्रो साताबाट स्वयंसेवक शिक्षक खटाउने गरी तयारी भइरहेको छ। कतिपयले दुईवटा स्थानीय तहमा आवेदन फाराम भरेको भेटिएको बताउँदै उपमहानिर्देशक न्यौपानेले अहिले ती शिक्षकको एक पालिकामा मात्र नाम सिफारिस गर्ने काम भइरहेको बताउनुभयो।

समितिले आवेदकको नाम छनोट गरी स्थानीय तहको समन्वयमा स्वयंसेवक शिक्षक छनोट गर्नेछ। एक शैक्षिक सत्रका लागि यो वर्ष करिब १ हजार ५ सय स्वयंसेवक शिक्षक छनोट हुनेछन्।

केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले करिब १५ करोड रुपियाँ बजेट व्यवस्थापन गर्न उक्त संख्यामा स्वयंसेवक शिक्षक छनोट गर्न लागेको जानकारी दिनुभयो। मन्त्रालयले पारित गरेको कार्यविधिको आधारमा शिक्षकलाई काममा खटाइनेछ।

केन्द्रले ६ सय ४८ स्थानीय तहका लागि शिक्षक छनोट गर्न लागेको हो। उपत्यकाका १८ स्थानीय तहमध्ये ललितपुर महानगरपालिका र टोखा नगरपालिकामा मात्र स्वयंसेवक शिक्षक खटाइने भएको छ।

अन्य स्थानीय तहमा पुल शिक्षक रहेको कारण स्वयंसेवक शिक्षक आवश्यक नरहेको श्रेष्ठको भनाइ छ। केन्द्रका अनुसार एक स्थानीय तहमा १० जनासम्म शिक्षकले रोजगारी पाउनेछन्।

तीमध्ये पाँचथरको फिदिम, कटारीको चौदण्डी, महोत्तरीको बर्दिबास, नुवाकोटको विदुर, धादिङको नीलकण्ठ नगरपालिकामा बढी स्वयंसेवक शिक्षक परिचालन हुनेछन्।

भरतपुर महानगरपालिका, बुटवल उपमहानगरपालिका, पोखरा लेखनाथ महानगरपालिका, धनगढी उपमहानगरपालिकालगायत ठूला स्थानीय तहमा १५ जनासम्म स्वयंसेवक शिक्षक परिचालित हुनेछन्। कैलालीको गोदावरी, लम्किचुवा, डडेल्धुराको परशुराम, कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि १० जनाभन्दा बढी शिक्षक परिचालन हुनेछन्।

समितिका संयोजक न्यौपानेले सबै पालिकामा आवेदन परेको जानकारी दिनुभयो। उहाँले पहिलो चरणमा आवेदन छनोट गर्ने, स्थानीय तहअनुसार शिक्षकको मिलान गर्ने र स्थानीय तहकै समन्वयमा शिक्षक खटाउने तयारी भएको बताउनुभयो।

स्वयंसेवक शिक्षकले सम्बन्धित विद्यालयका प्रधानाध्यापकसँग सम्झौता गरेर मात्र पढाउन जाने व्यवस्था गरिएको छ। ती शिक्षकलाई केही दिन ओरेन्टेसन गराउने कार्यक्रम रहेको छ।

सरकारले ‘चिनौं आफ्नो माटो, बनाऔँ आफ्नै देश’ अभियानअन्तर्गत शिक्षण स्वयंसेवकका लागि आवेदन आ≈वान गरेको थियो। ती शिक्षकले आगामी चैत महिनासम्मका लागि स्वयंसेवक शिक्षकका रूपमा काम गर्नेछन्।

कार्यविधिमा स्नातक वा स्नातकोत्तर उत्तीर्ण भएका र १८ देखि ४० वर्ष उमेर समूहकाले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। स्वयंसेवाका लागि क, ख र ग वर्ग कायम गरिएको छ।

स्नातक तह उत्तीर्णलाई सुगममा खटिए निर्वाह भत्ताका रूपमा मासिक २४ हजार र दुर्गममा जानेलाई मासिक ३० हजार रुपियाँ उपलब्ध गराइनेछ। स्नातकोत्तर तह पुरा गरेकाले सुगममा मासिक २६ हजार रुपियाँ र दुर्गममा ३२ हजार रुपियाँ पाउन कार्यविधिमा उल्लेख छ।

प्रतिक्रिया