Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

गणित विवादबारे अध्ययन गर्न समिति गठन, ४ बुँदे कार्यादेश

विहीबार, २९ फागुन २०७६

भक्तपुर - गणितलाई ऐच्छिक बनाईएको भन्दै विरोध भईरहेका बेला पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा गणित तथा कम्प्युटर विषयका बारेमा अध्ययन गर्न समिति गठन गरेको छ । पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक सुवर्ण शाक्यको संयोजकत्वमा गठित ५ सदस्यीय समितिलाई प्रतिवेदन पेश गर्न सात दिनको अवधि दिईएको छ । 

४ बुँदे कार्यादेश पाएको उक्त समितिले गणित तथा कम्प्युटर विज्ञान विषयसँग सम्बन्धित विश्वविद्यालय र उच्च शिक्षा सम्बद्ध सरोकारलालाहरुसँग छलफल गरेर सुझाव सहितको प्रतिवेदन दिनु पर्ने छ । 

'विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ र यसमा भएको विषयगत संरचनाका बारेमा अध्ययन गर्ने' कार्यादेशमा भनिएको छ, 'साधारण धार तर्फ कक्षा ११ र १२ दुवैमा भौतिक विज्ञान, प्राणी विज्ञान र रसायन विज्ञान विषयका अतिरिक्त कम्प्युटर विज्ञान तथा गणित विषय अध्ययन गर्ने प्रावधान मिलाउने बारेमा उपयुक्त सम्भावनाको खोजी गर्ने ।'  

कक्षा ११ र १२ मा गणित विषयलाई ऐच्छिक बनाइएको पाठ्यक्रम प्रारुपको व्यवस्था प्रति विरोध गर्दै गणित र कम्प्युटर विषयलाई अनिवार्य बनाउनु पर्ने माग जारी छ । उक्त प्रारूपमा कक्षा ११ र १२ मा नेपाली र अंग्रेजी विषयहरूलाई अनिवार्य र कक्षा ११ मा सामाजिक अध्ययन तथा १२ मा जीवनोपयोगी शिक्षालाई अनिवार्य गरिएको छ । विभिन्न चारवटा समूहहरू मध्येबाट कुनै ३ ऐच्छिक विषयहरू रोज्नु पर्ने तथा विद्यार्थीले चाहेमा अर्को समूहबाट एक विषय थप ऐच्छिक विषयको रूपमा पढ्न सक्ने व्यवस्था छ । 

यस्तै माध्यामिक तहको परिमार्जित पाठ्यक्रम अनुसार कक्षा ९ र १० बाट ऐच्छिक गणित विषय हटाइएको छ । तर, उक्त समितिलाई भने को मात्रै कार्यदेश दिईएको केन्द्रले जनाएको छ । 

समितिमा संयोजक शाक्य सहित सानोठिमी क्याम्पसका रमाकान्त पाण्डे, पाठ्यक्रम विकास केन्द्रका गणित तथा विज्ञान शाखाका निर्देशक प्रमिला वखती र प्रकाश खतिवडा सदस्य छन् । सदस्य सचिवमा भने केन्द्रका अधिकृत खिलानाथ धमलालाई तोकिएको छ । 

प्रतिक्रिया