Edukhabar
बुधबार, १२ बैशाख २०८१
विदेशमा शिक्षा

कोरोना प्रकोपबाट जोगिन डेनमार्कमा शैक्षिक संस्था सञ्चालनमा रोक

विहीबार, २९ फागुन २०७६

काठमाडौं - चीनबाट शुरु भएर विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) को प्रकोपबाट जोगिनका लागि भन्दै डेनमार्कले दुई साताका लागि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । डेनमार्कका प्रधानमन्त्री मेट्टे फेडेरिक्सनले सबै विश्वविद्यालय, कलेज, स्कुल र शिशु स्याहार केन्द्रहरु दुई साताका लागि बन्द गर्ने निर्णय गरिएको सार्वजनिक गरेकी अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । शैक्षिक संस्था बन्दको निर्णय गर्ने डेनमार्क दोस्रो युरोपेली देश हो । यसअघि इटलीले उक्त निर्णय गरेको थियो । 

डेनमार्कले मानिसहरुलाई अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन भनिएको छ । सार्वजनिक सभा, सम्मेलन गर्न रोक लगाइएको छ । घरभित्रै एक सय जनाभन्दा बढी मानिसहरु सहभागी हुने कार्यक्रम गर्न पनि प्रतिबन्ध लगाइएको छ । डेनमार्कमा बुधबारमात्रै चार सय ४२ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका थिए ।

युरोपमा कोरोना भाइरस संक्रमितको संख्या २२ हजार भन्दा बढी पुगिसकेको छ । हालसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी प्रभावित युरोपेली मुलुक इटली हो । इटलीमा मात्रै ८ सय २७ जनाको मृत्यु भएको छ भने १२ हजार १ सय ४९ जना संक्रमित छन् । युरोपभर संक्रमणबाट ९ सय ५१ जनाको मृत्यु भइसकेको छ भने २३ हजार ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम गर्ने उपायस्वरुप अमेरिकाले बेलायतबाहेकका सबै युरोपेली मुलुकबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
विश्वव्यापी रुपमा फैलिँदै गएको उक्त भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी महामारी घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन मार्फत् यस्तो घोषणा गर्दै यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको हो ।

संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले भाइरस नियन्त्रणको लागि आक्रामक निर्णय लिन सबै देशका सरकारलाई आग्रह समेत गरेका छन् ।

अहिलेसम्म कोरोनाको संक्रमण विश्वभरका १०० भन्दा धेरै देशहरुमा फैलिइसकेको छ । चार हजारभन्दा धेरै मानिसको यो भाइरसका कारण नै ज्यान गइसकेको छ ।

प्रतिक्रिया