Edukhabar
शनिबार, १५ बैशाख २०८१
विदेशमा शिक्षा

२ भिन्न अवस्थामा विद्यार्थीले एनओसी पाउने

मंगलबार, ०४ चैत्र २०७६

काठमाडौं - विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई आवश्यक नो अब्जेक्सन लेटर (एनओसी) मा सरकारले लगाएको रोक दुई अवस्थाका लागि खुला गरिएको छ ।

सोमबार बसेको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले भारतमा एमविविएस र एम डी को प्रवेश परीक्षा दिन फारम भर्ने प्रयोजनका लागि विद्यार्थीले एनओसी पाउने निर्णय गरेको हो । यसैगरी विदेशमा पढिरहेका नेपाली विद्यार्थीले विषय परिवर्तन वा कलेज परिवर्तन गर्न चाहेको अवस्थामा नेपालमा रहेका उनीहरुका अभिभावकले आवेदन गरेमा एनओसी जारी गर्ने सरकारले निर्णय गरेको हो । 

कोरोना (कोभिड–१९) भाईरसका कारण उत्पन्न परिस्थितीलाई मध्य नजर गर्दै सरकारले एनओसीमा रोक लगाएको थियो । विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरे पछि गत फागुन २९ गते बसेको समितिको बैठकले एनओसी जारी गर्ने सम्पूर्ण कार्य डेढ महिनाका लागि रोक्ने निर्णय गरेको थियो । 

अहिले प्रवेश परीक्षाको तयारीमा रहेका र विदेशमा बलेज परिवर्तनको सबै प्रकृया पुरा गरिसकेका विद्यार्थीलाई एनओसी नहुँदा पर्ने अप्ठ्यारो फुकाउन उक्त निर्णय गरिएको जनाईएको छ । 

विश्वव्यापी रुपमा फैलिएको भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक एनओसी दिने बारेमा शिक्षा मन्त्रालयले संगठनले अद्यावधिक गर्ने पछिल्लो प्रतिवेदनका आधारमा निर्णयमा फेरबदल गर्दै जाने जनाएको छ । 

समितिले कोरोनालाई पनि कडा रोकेको सूचीमा राख्ने निर्णय गरेको छ । यो निर्णयसँगै कोरोना संक्रमणका कारण कुनै व्यक्तिको निधन भएमा उनी सञ्चय कोषका बचतकर्ता रहेछन् भने परिवारले १० लाख रुपैयाँ सहयोग पाउनेछन् ।

काठमाडौं उपत्यकामा १२० र बाहिर १०० आईसीयू बेड तयार पार्ने निर्णय पनि गरेको छ । यस्तै कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ७५ प्रतिशत भत्ता दिने, २० हजार थान सेफ्टी किट, १० हजार डाइग्नोस्टिक किट र एक हजार थान थर्मल गन खरिद गर्ने निर्णय पनि गरिएको छ । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलका साथै आन्तरिक उडान भर्ने विमानस्थलमा प्रस्थान गर्ने यात्रुहरुको पनि स्क्यान गरिने छ । भारतसँगको सीमानामा कडाई गर्ने पनि समितिको निर्णय छ । 

प्रतिक्रिया