Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

कक्षा १० को अन्तिम परीक्षा, त्रसित नहुन शिक्षा मन्त्रीको अपिल

मंगलबार, ०४ चैत्र २०७६

काठमाडौं - कक्षा १० को अन्तिम परीक्षा (एसईई) सञ्चालनका लागि पर्याप्त सावधानीको प्रवन्ध गरिएकोले त्रसित र भयभित नभै सहभागि हुन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी तथा अभिभावकमा सार्वजनिक अपिल गरेका छन् । चीनबाट शुरु भएर विश्वव्यापी रुपमा महामारीको शैलीमा फैलिएको कोरोना (कोभिड-१९) संक्रमणको त्रासले परीक्षा हुने नहुने भन्ने अन्यौल जारी रहँदा मन्त्री पोखरेलले एक अपिल सार्वजनिक गर्दै पर्याप्त सावधानीको प्रवन्ध गरिएको दावी गरेका छन् ।

'पूर्व निर्धारित समय तालिका अनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्चालन एवं व्यवस्थापन गर्ने गराउने प्रवन्ध गरिएको छ' अपिलमा उनले भनेका छन्,'विद्यार्थीलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेक्स राख्ने प्रवन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ ।' 

सक्रमणको रोकथाम गर्नु पर्ने र परीक्षालाई मनोबैज्ञानिक एवं त्रासमुक्त वातावरणमा सम्पन्न गर्नु पर्ने भन्दै मन्त्री पोखरेलले विद्यार्थीलाई व्यक्तिगत सफाईमा ध्यान दिन, माक्सको प्रयोग गर्न, अरुसँग हात नमिलाउन, सकभर भिडभाडमा नजान यस अघि नै मन्त्रालयले गरेको अनुरोध पनि स्मरण गराएका छन् । 

विद्यार्थीको पढ्न पाउने हक अधिकार सुरक्षित हुनु पर्दछ भन्ने विषयमा नेपाल सरकार गम्भिर रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले अपिलमा विद्यार्थीको स्वास्थ्य सुरक्षा र वचावट पहिलो प्राथमिकता भन्दै परिस्थितीको नियमित विश्लेषण गरिरहेको पनि उल्लेख गरेका छन् । आईपर्ने कुनै पनि विषम परिस्थितीमा मन्त्रालयले उच्चस्तरीय समितिसँग संयोजन गरी यथोचित निर्णय लिने हुँदा अनावश्यक हल्ला र अफवाहको पछि नलाग्न पनि उनको आग्रह छ । 

परीक्षा केन्द्र आसपास अनावश्यक भिडभाड नगर्न पनि मन्त्रीको आग्रह छ । बिहीबार देखि शुरु हुने २०७६ सालको कक्षा १० को अन्तिम परीक्षामा ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागि हुँदै छन् । 
परीक्षा सञ्चालनको सबै तयारी पुरा भईसकेको पनि मन्त्रीको अपिलमा उल्लेख छ । 

उनले अपिलमा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई आवश्यक नो अब्जेक्सन लेटर (एनओसी) मा सरकारले लगाएको रोक दुई अवस्थाका लागि खुला गरिएको पनि उल्लेख गरेका छन् । सोमबार बसेको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले एनओसीका बारेमा गरेको निर्णय पढ्नुहोस् : २ भिन्न अवस्थामा विद्यार्थीले एनओसी पाउने

प्रतिक्रिया