Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षण संस्था बन्दको निर्णय, सबै खाले शैक्षिक गतिविधिमा रोक

बुधबार, ०५ चैत्र २०७६

काठमाडौं - कोरोना भाईरस कोभिड १९ को सक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि सरकारले चैत मसान्त सम्म सम्पूर्ण  शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । जारी कक्षा १० को अन्तिम परीक्षा सुरक्षित रुपमा सञ्चालन गर्ने र अन्य सबै खाले शैक्षिक गतिविधिमा रोक लगाउने सरकारको निर्णय छ । 

उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले उक्त निर्णय गरेको हो । बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय गरिएको छ । तर, कक्षा ११ र १२, तथा स्नातक, स्नातकोत्तर लगायतका परीक्षाका बारेमा भने निर्णयमा उल्लेख छैन ।  

यस अघिनै सरकारले कक्षा ९ सम्मको बार्षिक परीक्षा बुधबार भित्र सक्ने गरी निर्णय गरेको थियो । उक्त दिन सकिएसँगै बसेको समतिको बैठकले सबै खाले शैक्षिक गतिविधिमा रोक लगाएको हो । यो निर्णय सँगै नयाँ भर्ना लगायतका कार्य पनि रोकिने भएका छन् । 

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार सार्वजनिक गरेको अपिलमा पनि विद्यालयहरुमा नयाँ भर्ना र प्रवेश परीक्षा समेत नगर्न आग्रह गरिएको थियो ।  चीनबाट शुरु भएर विश्वव्यापी रुपमा महामारीको शैलीमा फैलिएको कोरोना संक्रमण देशमा फैलन नदिन सरकारले बुधबार विभिन्न १५ निर्णय गरेको छ । 

संक्रमण देखिएका देशहरुबाट नेपाल आउन सरकारले पूर्ण प्रतिबन्ध गरेको छ । अत्यावश्यक काम बाहेकको अवस्थामा घर बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको छ । यस्तै धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन पनि सरकारले रोक लगाएको छ । सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु नबोक्न तथा सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।

पढ्नुहोस् समतिले गरेको निर्णय : 

प्रतिक्रिया