Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

प्रवेश परीक्षा जारी, शिक्षा इकाई भने परीक्षाफल रोक्ने ध्याउन्नमा

शुक्रबार, ०७ चैत्र २०७६

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९) को सक्रमणको जोखिमलाई ध्यान दिदैं  सरकारले विद्यालयमा हुने प्रवेश परीक्षा, भर्ना लगायतका भिडभाड हुने कार्यक्रम रोक्न दिएको निर्देशन काठमाडौं उपत्यकाका ठूला भनिएका विद्यालयहरुले अटेरी गरिरहेका छन् । उक्त अटेरी रोक्नुको साटो शिक्षा विकास तथा समन्वय इकाई ललितपुर भने जारी प्रवेश परीक्षाका बारेमा कुनै वास्ता नगरी परीक्षाफल रोक्ने ध्याउन्नमा मात्रै लागेको छ ।

शुक्रबार मात्रै उसले सेण्टजेभियर्स स्कुल जावलाखेललाई पत्र काटेर ५ गते लिएको प्रवेश परीक्षाको नतिजा रोक्न निर्देशन दिएको छ । जबकी शुक्रबार पनि थुर्पै विद्यालयले प्रवेश परीक्षाका नाममा विद्यालयहरुमा अभिभावक र विद्यार्थीको भिडभाड सहित प्रवेश परीक्षा सञ्चालन जारी राखेका छन् । कतिपय विद्यालयले शनिबार पनि उक्त कार्य यथावत राखेका छन् ।

यस तर्फ इकाईको कुनै चासो छैन । तर, सेण्टजेभियर्सका विषयमा उजुरी परेकाले पत्र काटेको इकाई प्रमुख योगेन्द्र प्रसाद बराल बताउँछन् । सत्ताधारी दल निकट विद्यार्थी सँगठन अनेरास्ववियुले दिएको उजुरी पछि इकाईले परीक्षाफल रोक्न निर्देशन दिएको हो ।

'अन्त के भएको छ भन्ने बारेमा हामीलाई थाह भएन, जसका बारेमा उजुरी आयो त्यसकै बारेमा चासो लिईएको हो' उनले भने 'अरु विद्यालयका बारेमा उजुरी आयो भने आईतबार गरौंला आज भने विद्यार्थी सँगठनले आपत्ति जनाए पछि सेण्टजेभियर्सलाई हामीले पत्र काटेका हौं ।'

संविधानले विद्यालय शिक्षा सम्मको अधिकार स्थानीय सरकार मातहत हुने व्यवस्था गरेसँगै यस्ता कार्य गर्ने मुख्य जिम्मेवार निकाय पालिका अन्र्तगतका शिक्षा शाखा हुन्छन् ।  तर विद्यालयलाई पत्र काटेर ललितपुर इकाईले भने आफूलाई साविकको जिल्ला शिक्षा कार्यालयकै स्वरुपमै प्रस्तुत गरेको छ ।

अन्य विद्यालयका बारेमा जानकारी प्राप्त भएको र तत्कालै रोक्न आफूहरु कृयाशील हुने संगठनका अध्यक्ष ऐन महर बताउँछन् ।

'जोखिम कम गर्न भन्दै सरकारले भर्ना र प्रवेश परीक्षामा रोक लगाएको हो, तर केही विद्यालयले अटेर गरेको सुनेका छौं' उनले भने 'हामी त्यस्ता विद्यालयलाई पनि कारवाही गर्न उजुरी दिने तयारीमा छौं ।'

कोरोना भाईरस कोभिड १९ को सक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि गत चैत ५ गते बुधबार बेलुका सरकारले चैत मसान्त सम्म सम्पूर्ण  शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको सोही दिन दोश्रो पटक बसेको बैठकले बिहीबार देखि शुरु हुने एसईई परीक्षा रोक्ने सहितको उक्त निर्णय गरेको थियो । बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय गरिएको छ ।

यस अघिनै सरकारले कक्षा ९ सम्मको बार्षिक परीक्षा चैत ५ गते बुधबार भित्रै सक्ने गरी निर्णय गरेको थियो । सोही दिन बेलुका बसेको समितिको पहिलो  बैठकले सबै खाले शैक्षिक गतिविधिमा रोक लगाएको थियो ।  

त्यसको एक दिन अघि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरेको अपिलमा पनि चैत ५ अर्थात् बुधबार भित्र वार्षिक परीक्षा लगायतका शैक्षिक कृयाकलाप सक्न यस अघिनै सरकारले गरेको आग्रह स्मरण गराउँदै त्यस पछि नयाँ भर्ना र प्रवेश परीक्षा समेत नगर्न आग्रह गरेका थिए ।

शुक्रबार बरालले पत्र काटेको सेण्ट जेभियर्सले भने ५ गते अर्थात् बुधबार नै प्रवेश परीक्षा लिएको थियो । शुक्रबारका लागि तोकिएको बार्षिक नतिजा प्रकाशनका बेला अभिभावक विद्यार्थीलाई विद्यालय नआउन आग्रह गर्दै विद्यालयले मोवाईल एप मार्फत् नतिजा सम्प्रेषण गरेको छ । सोही विद्यालयको भगिनी संस्था सेण्ट मेरिजले भने सरकारको उक्त आग्रहलाई ध्यान दिदैं शुक्रबारका लागि तोकिएको प्रवेश परीक्षा बिहीबार नै स्थगित गरिसकेको छ ।

चीनबाट शुरु भएर विश्वव्यापी रुपमा महामारीको शैलीमा फैलिएको कोरोना संक्रमण देशमा फैलन नदिन सरकारले विभिन्न निर्णय गरेको छ । शुक्रबार देशवासिका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्ने बाहेक सबै सेवाहरू बन्द गर्ने  जनाएका छन् । चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने अन्तर्राष्ट्रिय हवाई उडान स्थगित  गरिएको छ भने १० गतेदेखि लामो दुरीका यात्रुबाहक सवारी चलाउन रोक  लगाईएको छ ।

यो पनि पढ्नुहोस् : सरकारको निर्णय लत्याउँदै निजी विद्यालय, नयाँ भर्ना प्रकृया जारी !

प्रतिक्रिया