Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

सरकारको निर्णय लत्याउँदै निजी विद्यालय, नयाँ भर्ना प्रकृया जारी !

विहीबार, ०६ चैत्र २०७६

काठमाडौं - कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिमलाई ध्यान दिदैं सरकारले सम्पूर्ण शैक्षिक गतिविधिमा रोक लगाउने निर्णय गरे पनि काठमाडौंका ठूला भनिएका निजी विद्यालयले उक्त निर्णय लत्याएका छन् । नयाँ भर्ना, प्रवेश परीक्षा लगायतका शैक्षिक कृयाकलाप नगर्न सरकारले रोक लगाए पनि उनीहरुले ती गतिविधि यथावत राखेका हुन् । 

कोरोना भाईरस कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिदैं उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको सक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार सबै खाले शैक्षिक गतिविधिमा रोक लगाउने निर्णय गरेको छ । सरकारले बुधबार अबेर कक्षा १० को अन्तिममा लिईने एसईई परीक्षा लगायत सम्पूर्ण परीक्षाका कार्यक्रम समेत स्थगित गरिसकेको छ । तर अधिकांश निजी विद्यालयले पहिल्यै तय गरेको समयमा प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । 

नयाँ भर्ना, प्रवेश परीक्षा लगायतका शैक्षिक कृयाकलाप नगर्न भन्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार सार्वजनिक अपिल समेत गरेका थिए । तर निजी विद्यालयहरुले पहिल्यै निर्धारण गरेको नयाँ भर्नाको प्रकृया जारी राखेका छन् । 

सरकारको निर्णयसँगै परीक्षा नहुने बुझेर काठमाडौं छाडेको बताउँदै एक अभिभावकले एडुखबर सम्वाददातालाई जानकारी गराए अनुसार ललितपुरको नाम चलेको एक विद्यालयले परीक्षा यथावत हुने खबर गरेको छ । यसले आफूलाई थप  अन्यौल बढाएको उनको गुनासो छ । 

'शैक्षिक गतिविधि नहुने सरकारको निर्णय पछि हामी आजै काठमाडौं बाहिर आयौं तर नयाँ भर्नाको लागि छोरीको फारम भरेको विद्यालयले प्रवेश परीक्षा छ भन्दै खबर गरे पछि हामीलाई समस्या भयो' टेलिफोनमा उनले भने 'प्रवेश परीक्षा र नयाँ भर्ना नगर्न सरकारले गरेको आग्रह समेत कार्यान्वयन नहुने पो भए छ ।'

सरकारले २५ जना सम्म भेला हुन सकिने बताएको आधारमा परीक्षा गर्न लागेको भन्दै अर्को एक निजी विद्यालयले  अभिभावकलाई खबर गरेको छ । कतिपय विद्यालयले 'वान टु वान' भन्दै अभिभावकलाई बालबालिका सहित उपस्थित हुन खबर गरेको गुनासो पनि आएको छ । सावधानी अपनाउन जरुरी रहेको भन्दै सरकार निर्णय गर्ने तर निजी विद्यालय सञ्चालकहरु वास्ता नगर्ने गर्दा आफूहरुलाई मनोवैज्ञानिक असर परेको एक अभिभावकले नाम नबताउने सर्तमा गुनासो गरे । 

'जोखिमका कारण भन्दै सरकारले त्यस्ता गतिविधिमा रोक लगाउने तर निजी विद्यालयहरु प्रवेश परीक्षा र भर्ना जारी राख्ने ?' ती अभिभावकले गुनासो गर्दै भने '५ लाख विद्यार्थी सहभागी हुने एसईई त स्थगित भयो भने नयाँ भर्नाका लागि लिईने प्रवेश परीक्षा केही दिन सार्दा के विग्रन्छ ?'

निजी विद्यालय सञ्चालकहरुको संस्था प्याव्सनका उपाध्यक्ष राजेन्द्र वानियाँ सरकारको निर्णय सबै खाले शैक्षिक गतिविधिमा रोक लगाउने भएकोले त्यस्ता गतिविधि गर्न नहुने बताउँछन् । 

'केही विद्यालयहरुले प्रवेश परीक्षा रोकेका छन्, तर कतिपयले परीक्षा गर्दै छन् रे भन्ने सुनिएको छ, यसबारेमा हामी छिट्टै आधिकारिक धारणा सार्वजनिक गरेर त्यस्ता गतिविधि स्थगित गर्छौ' उनले भने 'विद्यार्थी तथा अभिभावकको स्वास्थ्यको ख्याल गर्ने दायित्व विद्यालयहरुको पनि हो, त्यस माथि सरकारले नै निर्णय गरेको विषयमा कुनै पनि तर्क गरेर यस्ता कार्य गर्न हुँदैन ।'

कक्षा १ मा नयाँ भर्नाका लागि विद्यार्थीको अत्यधिक चाप हुने ललितपुर जावलाखेल स्थित सेण्ट मेरिज स्कुलले भने शुक्रबारका लागि तय गरेको प्रवेश परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको छ । सरकारको निर्णयलाई ध्यान दिदैं परीक्षा स्थगित गरिएको विद्यालयले सूचना जारी गरेको छ । विद्यार्थीको अत्यधिक चाप हुने सेण्ट जेभियर्स स्कुलले भने बुधबार नै प्रवेश परीक्षा लिईसकेको छ । सरकारले कक्षा ९ सम्मका वार्षिक परीक्षा बुधबार भित्रै सक्न आग्रह गरेको थियो । 

प्रतिक्रिया