Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

लुकेको शिक्षा

सोमबार, ०८ बैशाख २०७७

विश्वव्यापी माहामारीका रुपमा आएको कोरोना भाइरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न सरकारले देश पूरै लकडाउन गरेको छ । यो अवस्थाले उपलब्ध समयमा केही पुराना पुस्तकहरु केलाउने मौका मिल्यो ।  ओखलढुङ्गाको सिद्धीचरण उच्च माध्यमिक विद्यालयले २०६९ सालमा प्रकाशन गरेको स्मारिकाका केही आलेख पढेँ ।

प्रेमप्रसाद भट्टराईद्वारा लिखित ग्रामोदयको गरिमा युक्त ईतिहास र वर्तमान, देवशंकर पौडेलद्वारा लिखित उचाइ तिर गाम्नाङ्ग मनभरी शुभकामना र निलकमल भट्टराईद्वारा लेखिएको ग्रामोदय उमावि र यसको सान्दर्भिकता लेख पढेँ । तीन लेखबाट तत्कालीन गाम्नाङ्गटारको सामाजिक, राजनीतिक एवं शैक्षिक जागरणतर्फ उन्मुख अवस्थालाई चित्रण गरेको छ । गाउँको सोही विद्यालयमा स्नातक तह सम्मको अध्ययन अध्यापन हुन्छ । जिल्लाको साविकका ५७ गाविस मध्ये ओखलढुङ्गाको गाम्नाङ्टार गाविस शैक्षिक एवं सामाजिक विकासको क्षेत्रमा  अग्र स्थानमा रहेको छ ।

समाजको परिवर्तनमा कसै न कसैको भुमिका अवश्य हुन्छ । त्यसमा  त्याग र परिवर्तनमा दृढता एवं चुनौतीको सामना गर्ने क्षमता आवश्यकता पर्छ । सामाजिक हित विपरितका संस्कृति माथि धावा दिन सक्नुपर्छ । व्यक्ति स्वयंमा परिवर्तनको चेतना आउनु पर्छ । सर्वप्रथम व्यक्ति आफैं परिवर्तन हुनुपर्छ । नयाँ चेतना विना समाजले नयाँ फड्को मार्न सक्दैन । परिवर्तन भित्र दूरदृष्टि पनि चाहिन्छ ।

माथि उल्लेखित लेखकहरूमा प्रेमप्रसाद भट्टराई विद्यालयका प्राचार्य, देवशंकर पौडेल तत्कालीन एमालेका रामेछाप जिल्लाका पूर्व सांसद र कमल भट्टराई तत्कालीन नेविसंघको केन्द्रीय सदस्य हुनुहुन्छ ।
मैले यहाँ उल्लेख गर्न चाहेको कुरा समाज, शिक्षा र समाज परिवर्तनको चेतना बीच के सम्बन्ध छ ? समाज परिवर्तनको लागि औपचारिक शिक्षा नै चाहिन्छ ? समाज परिवर्तनको लागि समाज बाधक वा सहयोगी के हुन्छ ? यी प्रश्नको उत्तर यस लेखमा केलाउने जमर्को गरेको छु । यस लेखमा प्रतिनिधि प्रात्रको रूपमा समाजसेवी डिल्लीप्रसाद भट्टराई हुनुहुन्छ । प्रेमप्रसाद भट्टराईले उहाँलाई विद्यालयको स्थापना कालका गुरु, शिक्षाप्रेमी, सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षका रूपमा, देवशंकर पौडेल, डिल्लीप्रसाद भट्टराई  र लालप्रसाद भट्टराईले अन्धविश्वास सहितको कट्टरताले ग्रस्त समाजमा परिवर्तनको पुल्ठो झोसिरहेका थिए । डिल्लीप्रसादले आफ्नै घरमा लुगा सिउने कल राखे, लुगा सिलाए, फलाम अर्जाप्ने  आरन  राखे र फलाममा पाइन हाले । हलो, जुवा आफैंले बनाए, हलो जोत्न सुरू गरे । हल्लुडो समेत आफैंले बनाए ।

कमलको आलेखमा उल्लेख छ – भट्टराईमा २०२४ मा नै लुगा सिउने, आरानको काम गर्ने, हलो जुवा बनाउने, सिकर्मी, डकर्मी र सिकर्मीको काम गर्ने, डोको लगायतका बाँसका सम्पूर्ण सामाग्री बनाउने, भाँचिएका हातखुट्टामा काम्रो बाँध्ने, सामान्य विरामीलाई ईन्जेक्सन दिने, घर छाउने, पुरेत्याईं गर्ने लगायत अनेकौं सीप थिए । गाउँका बाटामा रहेका अप्ठ्यारा गौंडालाई सजिलो बनाउनु भयो । तर उहाँमा औपचारिक शिक्षा भने थिएन ।

माथि उल्लेखित घटनाहरू मैले विद्यालयको त्यही स्वर्ण स्मारिका २०६९ बाट साभार गरेको हुँ । मैले यहाँ जोड्न खोजेको कुरा एउटा व्यक्तिमा सर्वाङ्गीण विकास कसरी भयो ? आधुनिक शिक्षाले भनेको सर्वाङ्गीण विकास कुन हो ? व्यवसायिक शिक्षा भनेर रटान गरेको पाँच दशक भई सक्यो । औपचारिक शिक्षा भनेर धेरै बजेट खन्याई सक्यौं । यसको उपलब्धी खै ? यसमा हाम्रो शैक्षिक दर्शन वा शिक्षा नीति नै दोषी हो, वा सिकाइमा त्रुटि छ ? प्रश्न उठेको छ ।

हामीले ज्ञान, सीप र प्रविधिको विकास विद्यालयको चौधेरा भित्र मात्र देख्यौं । सीमित पाठ्यक्रमलाई ज्ञानको संसार ठान्यौं ।

“धेरै सिक्ने क्रम आकस्मिक रूपमा हुन्छ, अधिकांश सिकाइ पनि पूर्व निश्चित  कार्यक्रम अनुसार हँुदैन । शिक्षक, विद्यालयल र शैक्षिक विधिहरूले सही शिक्षा प्रदान नगरी केवल त्रुटिपूर्ण सूचनाहरू दिइरहेका हुन्छन् । शिक्षाले बालकहरूको प्राकृतिक प्रक्रियालाई कुण्ठित गरि उनीहरूलाई उपभोक्तावादी समाजमा ढालिरहेको छ” – इभान इलिच ।

विद्यालय बाहेक ज्ञानका स्रोतहरू धेरै छन् । आदर्शवादले  मानिसका हरेक क्रियाकलाप दर्शनबाट निर्देशित हुन्छ, भन्यो । ज्ञानको स्रोत ईश्वर देख्यो । प्रकृतिवादले मानिसले प्राकृतिक क्रियाका आधारमा अनुभव प्राप्त गर्छन् र त्यही अनुभव नै ज्ञान हो भन्यो । यथार्थवादले ज्ञानेन्द्रीयलाई ज्ञानको स्रोत ठान्यो । अवलोकन र प्रयोगलाई विधि मान्यो । प्रयोजनवादले आत्म ज्ञानलाई शिक्षा भन्यो । चार्वाकले वस्तु,इन्द्रीय र मानसबाट प्रत्यक्ष ज्ञान प्राप्त हुन्छ भन्यो । न्यायदर्शनले प्रभा अप्रभालाई ज्ञानका  स्रोत मान्यो  । महात्मा गान्धीले व्यक्तिका वर्तमान जीवनका वौद्धिक र शारीरिक क्रियाकलापहरू उसले पूर्व जन्ममा गरेका कर्ममा आधारित हुन्छन् , भने । फ्रायडले भने बालकको व्यक्तित्वको विकासमा आमाबाबुको प्रभाव पर्छ । इ.आर हिल्गार्डका अनुसार सिकाइ त्यो प्रक्रिया हो जुन नयाँ परिस्थतिबाट जन्मन्छ ।

“मस्तिष्कमा जन्मदेखिनै  ष्ललबतभ ष्मभब बाट ज्ञान   प्राप्त हुन्छ” दिकार्ते ।

जोनलकले अनुभव एक मात्र ज्ञानको साधन हो, भने ।

भट्टराईका जीवनमा माथिका कुनै दर्शन ज्ञानका स्रोत बने होलान् । “मानिसको विचार उसैको कामबाट प्रकासित हुन्छ”  जोनलक ।

तत्कालीन समाजमा  सामन्तवादका अवशेष छँदै थिए । हिङ् नभए पनि हिङ् बाँधेको टालो भन्ने गर्थे, त्यस बेलाका ठुला ठालुहरू, समाजका ठेकेदारहरू, वुद्धिजीवि भनाउँदाहरू ।

शिक्षाका औपचारिक प्रमाणपत्रधारीहरू तथा समाजको परिवर्तन नचाहनेहरू । समाज त निरन्तर परिवर्तन भईरहन्छ, संस्कृतिमा परिवर्तन हुन्छ  । समाजमा नयाँ संस्कृतिको जन्म हुन्छ ।

भट्टराईले यो बुझेको हुनुपर्छ । क्षणिकवादले भनेझैं संसारका हरेक वस्तु परिवर्तनशील र क्षणिक छन्, सार्वभौम परितर्तननै प्रकृतिको प्रमुख नियम हो । तर चेतनाको परिवर्तन भने निकै कठिन कुरा हो । चेतनामा आएको  परिवर्तनलाई व्यवहारमा उतार्नु फलामको च्युरा चपाउनु सरह छ । समाजमा शैक्षिक प्रमाणपत्र धारी केही युवा भए पनि बाबुबाजेको सोचबाटै ग्रसित थिए ।

ब्रुमले भनेझैं, संस्कृतिले मानिसको व्यक्तित्व र सामाजिक क्रियालाई निर्धारण गर्छ । बर्टले भनेझैं, बालकको मनोभावना, विचार, स्वभाव आमा र बाबुको भाव, विचार र स्वभाव बानी व्यहोरा अनुरूप निर्माण हुँदै जान्छ । अरस्तुले भने झैं शिक्षाद्वारा जन्मजात गुणलाई परिवर्तन गर्न नसके पनि शिक्षाले स्वभाविक सद्गुणलाई मात्र अगाडि ल्याउन सकिन्छ ।

समाजमा जरा गाडेर बसेको रूढीबादी संस्कृति प्रतिको विद्रोह थिए ती कार्यहरू । परिवर्तनको इच्छा  भित्रैबाट आउनु पर्छ । जीन ज्याक रूसोको सामान्य इच्छाको सिद्धान्त अन्तर्गत वास्तविक ईच्छा उहाँमा  देखिन्छ । रूसो भन्छन् “वास्तविक इच्छा स्थायी, सुसंस्कृत तथा विवेकपूर्ण हुन्छ, विशुद्ध पवित्र र कल्याणकारी हुन्छ, सर्वहितको चिन्तन गर्छ ।”

परिवर्तनको बाटो खोज्ने हो भने आफूमा दृढता चाहिन्छ । समाजले पागल भन्छ । समाजले बहिष्कार गर्छ । यी सबै कुरा उहाँले भोग्नु पर्यो । उहाँमा  अस्तित्ववाद, आदर्शवाद र प्रकृतिवादको  त्रिआयामिक  प्रभाव परेको देखिन्छ । सुधारका कार्यहरू निरन्तर गर्दै रहनु भयो । म्याकडुअल विलियमले भनेझैं प्रत्येक मानिसमा यस्तो शक्ति हुन्छ जुन शक्ति उसलाई कार्य गर्न प्रेरित गर्छ र यसबाट जीवनलाई बल मिल्दछ । “समाजले उक्त कार्यलाई प्रोत्साहन गर्न सकेन,उल्टै सामाजिक अपराध देख्यो ।”

“संस्कृति मानव विकासमा वाधक हुन्छ” कार्लमाक्सले भनेझैं भयो । शिक्षाले समाजलाई परिवर्तन गर्नुपर्छ । हाम्रा आँखाले मेकाले शिक्षालाई मात्र शिक्षा भन्यो । अब शिक्षाको लक्ष्य र शिक्षालाई हेर्न आँखामा परिवर्तन हुनु पर्छ ।

शिक्षा विकासमा राज्यले ठूलो लगानी गरेको छ । शिक्षालाई औपचारिक, अनौपचारिक र भर्चुअल प्रणाली मार्फत प्रदान गरिँदै आएको छ । शिक्षा साधारण, व्यवसायिक र प्राविधिक तीन प्रकारको छ । विद्यालय प्रत्येक टोलटोलमा पुगेका छन् । गुणस्तरीय शिक्षाका लागि विद्यालयदेखि मन्त्रालयसम्मको ठूलो संगठन लागिरहेको छ । शिक्षाका राष्ट्रिय उद्देश्य तय भएका छन् । नयाँ शिक्षा पद्धति योजना २०२८ ले नै व्यवसायिक शिक्षामा जोड दियो । तर साधारण शिक्षा तर्फ नै विद्यार्थीको आकर्षण देखिन्छ । प्राविधिक एवं व्यवसायिक शिक्षा अझै सबै विद्यार्थीको पहुँमा नहुनु नै यस तर्फको आकर्षणमा कम देखिएको छ । प्रत्येक वर्ष साधारण शिक्षाबाट करिब चार लाख जनशक्ति बजारमा रोगगारीको लागि आउँछन् । तर त्यसको  करिब १० प्रतिशत जनशक्तिले समेत रोजगारी पाउन सकेका छैनन् । यसले राज्यलाई एकपटक  शिक्षा नीतिमा पुनरावलोकन गर्नुपर्ने बाध्यता बनाएको छ ।

औपचारिक  शिक्षाले व्यक्तिको चेतना अझै परिवर्तन गर्न सकेको छैन । शिक्षाले  स्थानीय ज्ञान र सीपलाई संरक्षण एवं सम्मान गर्न सिकाएन । यसले एकातर्फ हाम्रा जातीय ज्ञान, सीप, प्रविधि लोप भए । अर्कोतर्फ हाम्रो पहिचान नै सकियो । आधुनिक नाउँको शिक्षाले गाउँमा रहेका युवाको सुधारका कार्यलाई प्रोत्साहन गर्नुको सट्टा कलिलै उमेरमा निमोठ्यो । यसले ग्रामीण क्षेत्रमा समेत बेरोजगारी बढायो  । समाजको परिवर्तनमा समेत  बाधा पुर्यायो ।

आजको शिक्षाको उपयोगिता प्रायः शून्य छ । शिक्षा केवल कागजी सर्टिफिकेटको अंकमा रहेको छ । शिक्षा व्यावहारिक छैन । विद्यार्थीमा कुनै गरिखाने  सीप छैन । विद्यालयमा समेत शिक्षण हुने गरेको छ, सिकाइ हुन सकेको छैन । जसले गर्दा विद्यालय र उच्च शिक्षाबाट प्राप्त जनशक्ति अरूप्रति आश्रित हुने गरेको छ । विद्यार्थीलाई उसको इच्छा र आवश्यकता अनुसार शिक्षा दिन सकिएको छैन । यसले शैक्षिक क्षति मात्र बढाएको छ । तसर्थ भट्टराईका सिकाइका स्रोत पहिचान गरि विद्यार्थीमा सर्वाङ्गीण विकासका लागि अरीतिक शिक्षालाई व्यवस्थित गर्नु आजको आवश्यकता हो । यसका लागि चार वटा उपाय हुनसक्छन् ।

पहिलो, औपचारिक शिक्षाका साथै अनौपचारिक शिक्षामा विशेष जोड दिने । अनौपचारिक शिक्षालाई पेशागत सीप विकाससँग प्रत्यक्ष जोड्ने । स्थानीय स्रोतसाधनको अधिकतम् प्रयोग हुने गरी सीप पकेट क्षेत्र तोकी सोही अनुसारको अनौपचारिक शिक्षाको व्यवस्था गर्ने र अनौपचारिक शिक्षालाई औपचारिक शिक्षासँग समकक्षता कायम गर्ने ।

दोस्रो, अरीतिक शिक्षालाई व्यवस्थित गर्ने । व्यक्तिले अनुभव, अनुमान, अभ्यास, भ्रमण, अवलोकन, इन्द्रीयबाट प्राप्त ज्ञान, शब्द, स्वअध्ययन, संवाद, प्रत्यक्ष  आदिबाट प्राप्त ज्ञान र सीपलाई संकलन गर्ने र स्थानीय तहमा ज्ञान बैंक बनाउने । असल ज्ञानलाई राष्ट्रिय ज्ञानको रूपमा विकास गर्ने । स्थानीय तहमा उत्पादित वस्तुको प्याटेन्ट राइट व्यक्तिलाई नै दिने । स्थानीय ज्ञान, सीपलाई प्रोत्साहन गर्ने ।

तेस्रो, भर्चुअल लर्निङ्लाई प्रभावकारी बनाउने । यसलाई  स्थानीय ज्ञान, सीप र प्रविधिको संकलन, संम्वर्द्धन, विकास र हस्तान्तरणको साधनको रूपमा प्रयोग गर्ने ।

चौथो, स्थानीय तहको पाठ्यक्रममा स्थानीय ज्ञान, सीप र अनुभवलाई समावेश  गर्ने ।

भट्टराई, माध्यमिक शिक्षक युनियन नेपाल (हिस्टुन) का केन्द्रीय अध्यक्ष हुन् ।

प्रतिक्रिया