शिक्षकका गुण र सामुदायिक विद्यालयको सिकाइ सुधार हुन नसक्नुको कारण


शिक्षक - ना. (सं.) शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति, अध्यापक, गुरु, मास्टर - नेपाली बृहत शब्दकोष

शिक्षकको अर्थ कति सम्म गहन छ भन्ने कुरा शब्द बाट नै थाहा हुन्छ । शिक्षकका बारेमा बताउन पर्यो भने एउटा मिथकको प्रयोग गरिन्छ – मैन बत्ति जसरी आफू जलेर अरुलाइ उज्यालो दिने !

विना विभेद बालबालिकालाई शिक्षा दिने, सुशील, कर्मठ, उर्जावान रूपमा समेत चिनिन्छन् शिक्षक ।

अन्य मानिसका आनी वानी, व्यवहार र आचरण असुहाँउदो वा फरक हुँदा त्यति ठूलो प्रभाव पर्दैन जति शिक्षकको आनी वानीले पार्छ । तसर्थ शिक्षकको स्वभाव, शैली र आचरण अनुसार  विभिन्न प्रकारमा राखेर विश्लेषण गर्न सकिन्छ :

क) सकारात्मक शिक्षक

विद्यार्थीको मनोभावना बुझेर शिक्षण गर्ने, विद्यार्थीलाई हरेक पल सहयोग गर्न तत्परता देखाउने, अध्यापन मुख्य पेशा हो भन्ने शिक्षक यस भित्र पर्दछन् ।

ख) नकारात्मक शिक्षक

विद्यार्थीले केही भन्नासाथ रिसाउने, झर्किने, पिट्ने शिक्षक यस वर्गमा पर्दछन् ।

ग) स्थिर शिक्षक

विद्यार्थीले जे सुकै भने पनि केही नभन्ने, कक्षामा हल्ला गर्दा नि वास्ता नगर्ने शिक्षक यसमा पर्दछन् ।

असल शिक्षकमा हुनुपर्ने गुणहरु

अ)    व्यक्तिगत गुण

आकर्षक व्यक्तित्व,स्वस्थ, हँसिलो, इमान्दार, चरित्रवान, सहनशिल

आ)    सामाजिक गुणहरु

नेतृत्व सीप, मानवीय व्यबहार, सेवाको भावना, समाज सापेक्ष व्यबहार

इ)    पेशागत गुणहरु

सिकाइ प्रक्रियाको ज्ञान. शिक्षण विधिको ज्ञान, विषयबस्तुको ज्ञान, नवीन प्रविधिको प्रयोग

यी बाहेक शिक्षकका अन्य गुणहरु पनि रहेका छन् । भनिन्छ शिक्षक एक कुमाले जस्तै हो, जसरी कुमालेले एउटा काँचो माटोको डल्लोलाई उसले चाहे जसरी विभिन्न रुप, आकारमा बदल्न सक्छ त्यसै गरी शिक्षकले विद्यार्थीलाई उसको क्षमता र रुची अनुसारको आकारमा बदल्न सक्छ ।

तर, विद्यार्थी सिकाइ उपलब्धिको विश्लेषण गर्ने हो भने त्यस्तो देखिदैंन । अर्थात् सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि क्रमशः घट्दै गएको सरकारी अध्ययनले नै देखाईरहेका छन् । एकातिर शिक्षकको भूमिका ठूलो हुने, अर्कातिर विद्यार्थीको सिकाइ घट्नेका बिचको तथ्य पहिचान विना न त शिक्षक प्रतिको धारणा सकारात्मक बन्ने छ, न त सामुदायिक विद्यालयहरु प्रतिको विश्वास जाग्ने नै छ ।

त्यसो हो भने शिक्षकले आफ्नो भूमिका अनुसारको नतिजा दिन के कुराले अवरोध भईरहेको छ ? किन सामुदायिक विद्यालयको सिकाइ उपलब्धि माथि उठ्न सकेको छैन ?  
केही कारण यस्ता छन्

- अत्याधिक मात्रामा दलगत राजनीति रहनु

- शिक्षकहरु समय अनुसार अपडेट हुन नचाहनु

- स्थायी भएको कारण सेवाको पुर्ण सुनिश्चितता हुनु

- शिक्षकमा कक्षाकोठा र विद्यार्थीको ध्यान भन्दा शक्ति केन्द्रको चाप्लुसी प्रवृत्ति हावी हुनु

- असल शिक्षक बन्न खोज्नेहरुलाई अवसर नहुनु

- परिवर्तन गर्न चाहनेलाई एक्लो बनाउने प्रवृत्ति हावी हुनु

- परिवर्तन स्विकार गर्न नसक्नु, नचाहनु

- शिक्षक तालिम कक्षा कोठा सम्म नपुग्नु

- प्रधानाध्यापकलाई विद्यालयको विकास भन्दा आफ्नो पद सुरक्षाको ध्यान मात्रै रहनु

- विद्यालयमा आवश्यक शैक्षिक सामाग्री नहुनु

- शिक्षकको अभाव रहनु

- नवीन दृष्टिकोण निर्माण गर्ने व्यक्तिको पहिचान गरेर सुधारको जिम्मेवारी दिन नचाहने प्रवृत्ति

विद्यालयको अवस्था, नेतृत्वको क्षमता र चाहना अनी शिक्षक स्वयंको जागरुकताले स्थान अनुसार यी बुँदाहरुमा परिवर्तन हुन सक्छ । तर समग्रमा भन्ने हो भने सामुदायिक विद्यालयको सुधार नहुनु अथवा खस्कदैं जाने कुरा अरुबाट भन्दा धेरै विद्यालय भित्रबाटै भईरहेको तथ्य स्विकार्न कसैले हिचकिचाउनु पर्दैन । अझै पनि यस्ता विषयमा छलफल र समिक्षा गर्न नचाहने भनेको हामी सुधारका लागि प्रतिवद्ध छैनौं भन्न्े नै प्रमाणित हुन्छ । तसर्थ कुरा चपाएर हैन छिनालेर बोलौं, समस्या पहिचान गरौं र सुधारमा जुट्टौं । सुधारका सवालमा अहिले नै प्रतिवद्ध हुने र तदनुरुप अघि बढ्ने योजना निर्माण गर्नु भनेको ढिलो हुनु हैन । तसर्थ निम्न विषयमा केन्द्रि हुन जरुरी छ :

- दलगत राजनीतिबाट अलग रहने,

- नियमित रूपमा अपडेट रहने

- नविनतम् दृष्टिकोण निर्माण गर्ने समूह वा संयन्त्रको व्यवस्थ ागर्ने

- प्रविधि अनुसारको शिक्षा दिन तयार रहने,

- योग्यताको कदर गर्ने,

- हाम्रोलाइ हैन राम्रो लाई सम्मान गर्ने,

- समयानुकूल नीतिगत व्यवस्था गरि शिक्षकलाई प्रोत्साहन दिने,

- शिक्षक तालिम कक्षा कोठामा प्रयोग गर्ने,

- प्रधानाध्यापकलाई कार्यसम्पादन करार गराउने ,

- पर्याप्त शैक्षिक सामाग्रीको ब्यबस्थापन गर्ने,

- आवश्यकता अनुसार शिक्षकको व्यवस्था गर्ने,

- कार्यसम्पादन सहितको  स्थायी शिक्षक राख्ने

झट्ट हेर्दा यी बुँदा सामान्य लाग्न सक्छन् । किन भने यस्ता कुराहरु भनिदैं, देखिदैं र भोगिदैं आएकै विषय हुन् । यति हुँदा हुँदै पनि किन सामुदायिक विद्यालयमा सिकाइ सुधार भएन त ? गम्भिर प्रश्न यो हो ।

हरेक नयाँ पुस्तालाई ज्ञान दिने स्थान विद्यालय र त्यसका मुख्य कर्ता  शिक्षकका बारेमा व्यक्त आदर र भावना व्यक्तिगत वा सामाजिक पक्षका कुरा हुन् । भावनाले मात्रै त हुँदैन, तसर्थ राज्यले, व्यवस्थाले र संयन्त्रले शिक्षकलाई चिन्न र तदनुरुप व्यवहार गर्न पनि उत्तिकै जरुरी छ । सोही आधारमा विभिन्न ऐन, नियम, नियमावलीको व्यवस्था पनि गरिएकै छन् । तै पनि कुल विद्यार्थी मध्ये ८० प्रतिशत हाराहारीका विद्यार्थी पढ्ने सामुदायिक विद्यालयको स्तर किन उकासिन सकिरहेको छैन ?  सबैले आफैंलाई प्रश्न गर्ने हो भने उत्तर आउँछ की !

उपाध्याय काठमाडौंको बूढानीलकण्ठ नगरपालिका स्थित महाँकाल जनजागृत माध्यमिक विद्यालयका विज्ञान शिक्षक हुन् ।