विद्यालय बन्द छ भनेर नबसौं, दैनिक क्रियाकलापबाटै खोज्न सकिन्छ गणितका समाधान


गणित मानव जिवनको महत्त्वपूर्ण बिषय हो । सबैजसो दैनिक क्रियाकलापहरूमा यसको प्रयोग कुनै न कुनै रूपमा भई नै रहेको हुन्छ । गणितको प्रयोग नभएको कुनै पनि विषय छैन होला । गणितज्ञ ब्याकनले भनेका छन् "गणित भनेको सवै विज्ञानहरुको लागि ढोका र चावी हो ।"

वेदान्त ज्योतिषले गणितलाई यसरी व्याख्या गरेको छ :

"यथा शिखा मयूराणां नागानां मणये यथा ।
तध्दवेदाङ्ग शास्राणां गणितं मूर्धनि स्थितम्  ।।"

यसको अर्थ हुन्छः मयूरको शिख, नागको मणि जस्तै गणित बेदहरूमध्ये सवैभन्दा माथि छ भनी परिभाषित गरेका छन् । त्यसैगरि गणितज्ञ गसले गणितलाई सबै विज्ञानहरूको रानी भनेर परिभाषित गरेका छन् ।  अर्कातर्फ गणितलार्इ अहिलेको अवस्थामा गणितको लोकप्रियता कम भएको हो कि भन्ने वाताबरण देखिन थालेको छ । प्रायजसो अविभावकहरूले गणितलाई एउटा गाह्रो एवम् बिरसिलो विषयको रुपमा लिएको पाइन्छ भने विद्यार्थीहरूले पनि गणितलाई हिसाबको रूपमा मात्र लिएको पाइन्छ । प्रायः शिक्षकहरूले गणित शिक्षणको लागि बिभिन्न सिकारु केन्द्रित बिधिहरूको सट्टामा शिक्षक केन्द्रित बिधिहरूको प्रयोग गरिरहेको अवस्था रहेको छ । अभिभावकको सोचाइमा पनि शिक्षकको अनुपस्थितिमा गणित शिक्षण सिकाइ संभव छैन भन्ने नै छ ।

देश कोरोना भार्इरस (कोभिड – १९) को सङ्क्रमणको कारणले विद्यालयहरू र औपचारिक कक्षाहरू बन्दाबन्दीको कारणले बन्द रहेको अवस्था छ । यसको असर कहिलेसम्म रहने हो कहिलेसम्म विद्यालयहरू नखुल्ने हुन् अहिले नै आंकलन र अनुमान गरिहाल्ने स्थिति देखिंदैन । हाम्रा विद्यार्थीले कक्षाकोठामा गएर शिक्षकको उपस्थितिमा गणित सिक्ने अवस्था हाललाई केही समयको लागि कम संभावना नै देखिन्छ । हुन त कतिपय बिद्यालयहरूले अब अनलाइनको माध्यमबाट बिभिन्न विद्युतीय एप्सहरु र सामाजिक छलफलका माध्यमहरू प्रयोग गरेर माथिल्ला कक्षाहरू संचालन गर्ने कुराहरू सञ्चारका माध्यमहरूमा आइरहेका छन् ।

अर्कातिर सरकारी र निजी निकायहरूबाट पनि टेलिभिजनको माध्यमबाट एसइइ दिने विद्यार्थी केन्द्रित कार्यक्रमहरू संचालन भइ रहेका छन् । यस्ता कार्यहरू एकदम उपयोगी र सराहनीय नै छन् । देशको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, पारिवारिक बिबिधताको कारणले माथिका  उपायाहरू सवैका लागि पर्याप्त नहुन सक्दछन् । तसर्थ शिक्षक अभिभावक तथा विद्यार्थीहरूले अब अलिक फरक ढंगले सोच्नुपर्ने अवस्था आएको छ । रुविन हर्सले भनेजस्तै गणित विचारहरूको संकलन र गणित सामाजिक हो । तसर्थ हामीले गणित सिक्नु भनेको समाजमा नै गणित खोज्नु मूख्य कार्य हो भन्न सकिन्छ । त्यसका लागि हामीले गणित सिकाइलार्इ औपचारिक कक्षाकोठाभन्दा अलि माथि उठेर अनौपचारिक तबरबाट पनि अगाडि बढाउनु पर्छ । गणित पढ्ने भन्दा पनि गणित पहिचान गर्ने र वस्तु तथा क्रियाकलापहरूमा समाहित गणित खोज्नु आजको मूख्य आवश्यकता हो । यसर्थ गणित सिकाइ र समाजमा रहेको गणितलाई पहिचान गरी एकिकृत गराउन सकेको खण्डमा मात्र हाम्रा बालबालिकाहरूले गणितको महत्त्व बुझेको भन्न सकिन्छ । अतः हामी शिक्षक तथा अभिभावकहरूले केही कुराहरूलार्इ ध्यान दिएको खण्डमा हाम्रा बालबालिकाहरू गणित सिक्नबाट पछि परे अथवा गणितमा कमजोर हुने भन्ने नै आउदैन ।
 

पहिलो त हामीले दैनिक क्रियाकलापहरूमा गणित खोज्नु पर्ने हुन्छ । जस्तै खाना तयार गर्दा खानाको मात्रा, खाने परिवार संख्या, खाना पकाउने भाँडोको क्षमता, खाना तयार पार्दा चाहिने वस्तु तथा परिकारको मात्राको अनुपात तयार पार्दा लाग्ने समय, खाना वितरण गर्दाको भाग लगाउने तरिका, खानाको लागि आवश्यक बजेट आदि । यसबाट अंकगणितको विकास एवम् यसको व्यावहारिक प्रयोगको बारेमा जानकारी हासिल गर्न सकिन्छ । साथै खेतबारीको काम, सुचीकारको काम, सिकर्मीको काम, तथा सरसफाइको काम गर्दा कोठा, कौशी, आँगन बगैचा, भुँइ, दराज चौकोश, सजावटका सामाग्रीहरू र तिनीहरूका बनोट तथा भाँडाकुडाँहरूको आकार र क्षेत्रफल तथा आयतन, बनओट आदिका बारेमा जानकारी राख्दा ज्यामितीय तथा क्षेत्रमितिको ब्यवहारिक महत्त्वको बारेमा ब्यावहारिक धारणा दिलाउन सकिन्छ ।
 

दोस्रो कुरा अहिले बालबालिकाहरूले धेरैजसो समय टेलिभिजन र अन्य बिधुतीय सामाग्रीहरूको प्रयोगमा बिताइरहेका हुन्छन् । जसमा उनीहरूले बिभिन्न प्रकारका नाटक, चलचित्रहरू र कथाहरू हेरिरहेका हुन्छन् । त्यस अवसरमा उनीहरूसँगै झर्को नमानिकन उनीहरूकै च्यानल हेरेर तथा संलग्न भएर त्यसमा समावेश भएका र प्रयोग गरिएका गणितीय तथ्य तथा कथन र प्रयोगहरूको बारेमा अवलोकन गराएर गणितलाई कसरी प्रयोग गरिएको छ भन्ने कुराहरूको ज्ञान लिन सकिन्छ । जस्तै, एउटा बालबालिकाको कार्टुनमा एकजना पात्रको कथन निम्न थियोः  दोस्तका दोस्त मेरा भि दोस्त; दोस्तका शत्रु मेरा भि शत्रु; शत्रुका दोस्त मेरा भि शत्रु र शत्रुका शत्रु मेरा दोस्त; भनेको थियो । यसलार्इ गणितमा हेर्दा, = +  र शत्रु = - मान्दा, + ´ + = +,  + ´ - = -, - ´ + = -  र - ´ - = +  हुन्छ । यसबाट पूर्णाङ्कहरूको गुणनको धारणा सजिलै दिन सकिन्छ । यसका साथसाथै बिभिन्न गीत र संगीतमा अन्तर्निहीत गणितीय धारणाहरूको पनि खोजी गर्नु पर्दछ । जस्तै एक एक मिलेर हजार बन्छ थोपा थोपा मिलेर सागर बन्छ .........।
 

तेस्रो कुरा बालबालिकाहरूसँग रैथाने (स्थानिय) तथा आधुनीक खेलहरू खेलेर पनि बिभिन्न गणितीय धारणाहरू सिक्न सकिन्छ । खेलहरू खेल्दा खेलका नियमहरूको जानकारीका साथमा संख्याको गणना तथा पालो कुर्ने बानीका साथमा खेलमा प्रयोग हुने सामानको आकारहरू तथा त्यसमा भएका कोणहरू र तिनीहरूको अनुमानबाट प्रकार थाहा पाउने, खेल्दा आवश्यक पर्ने जमिनको क्षेत्रफल,  खेलमा चाहिने खेलाडीको संख्या र खेलको स्कोरीङ्को पद्धति आदि कुराहरूबाट गणितका विषयवस्तुहरू सिक्न सहयेग पुग्दछ ।
 

चौथो विषय भनेको स्थानीय तथा परम्परागत नापका बारेमा घरमा रहेका जेष्ठ नागरिकहरू जस्तै हजुरबुबा तथा हजुरआमाहरूका अनुभवहरू सुन्ने र तिनीहरूमा भएका गणितीय ज्ञानहरूको खोजी गर्ने । जस्तै चलन चल्तीमा भएका र प्रयोग गर्दै आएका नाप तथा अन्य गणनाका बिधि तथा पद्धतिहरूका (बिस आधार) बारेमा छलफल गर्नु पर्दछ । यसले बालबालिकाहरूमा आफ्नो समुदायको गणितको इतिहासका साथसाथै चलनचल्तीमा रहेका फरक समय र संस्कृतिका फरक नापका एकाइ तथा तरिकाहरू जस्तै माना, ढेवा, कुरुवा, पाथी, मुरी, धार्नी, तोला, चौठे  तथा तिनीहरु बिचको सम्बन्धको बारेमा समेत जानकारी लिन सकिन्छ । त्यस्तै कुरेत, अंगुल, हात, बाँहा, र तिनीहरूको  प्रामाणिक एकाइसँगको सम्बन्ध आदि ।
 

अन्तमा, गणितको सिकाइको मुख्य पाटो गणित साहित्य हो । जसरी कुनैपनि बिषयको मेमोराइज गर्न त्यसलार्इ कविता कथा तथा अन्य रचनाहरूको माध्यमबाट गर्दा प्रभावकारी भएको पाइन्छ । त्यसबाट गणित अछुतो रहला भन्न सकिदैन । तसर्थ गणित सिकाइमा साहित्यको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। त्यसकारण घरमा बिभिन्न माध्यमबाट गणित तथा विज्ञानका कथा, कविता र अन्य रचनाहरू अध्ययन गर्ने, तिनीहरूलाई आफ्नो भाषामा रुपान्तरण गर्ने र आफ्नो मौलिकतामा ढाल्ने काम गर्नाले गणित सिकाइमा महत्त्वपूर्ण भूमिका खेल्दछ । फलस्वरूप गणितीय विषयवस्तुहरू, धारणाहरू, तथ्यहरू, सुत्रहरू र ढाँचाहरूलाई सहज रूपमा मेमोराइज गर्न सकिन्छ ।
 

सारांसमा भन्नुपर्दा गणित सिकाइ निरपेक्ष नभएर यो दैनिक जीवनसँग सम्बन्धित हुन्छ । गणित सिकाइलाई कक्षा कोठामा मात्र निहित राख्न खेजेको खण्डमा न त बालबालिकाले प्रभापकारी रुपमा गणित सिक्न सक्दछन् न त तिनीहरूले गणितको प्रायोगिक र ब्यवहारिक ज्ञान नै लिन सक्छन् । तसर्थ, गणित सिकाइलाई गणितमा मात्र सीमित नराखी यस विषयको अन्य विषयहरूसँगको एकीकृत रूपलार्इ पहिल्याउन सक्नुपर्छ । साथै हाम्रा चलनचल्तीमा रहेका फरकफरक नापका एकाइहरू, परम्परागत र आधुनिक खेलहरू, घर निर्माण र सजावटमा प्रयेग भएका बस्तुहरू तथा ढाँचाहरू, र गणित साहित्य सम्बन्धि रचनाहरूको माध्यमबाट गणितको प्रयोग र उपयोगिताको खेजी गर्न सकेको खण्डमा पक्कै पनि औपचारिक प्रक्रियाबाट मात्र गणित सिक्न सकिन्छ भन्ने हाम्रो सोचालाई केही हदसम्म कम गर्न र ब्यावहारिक र एकीकृत गणित सिकाइ प्रभावकारी बनाउन सकिन्छ कि ।

आचार्य, सानोठिमी क्याम्पस, भक्तपुरमा अध्यापनरत छन् ।