Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

गरिखाने शिक्षाका लागि 'स्याटलाईट' प्राविधिक शिक्षालय

बुधबार, १४ जेठ २०७७

नेपालमा वार्षिक पाँच लाख भन्दा बढी युवा जनशक्ति श्रम बजारमा प्रवेश गर्दछन् । उनीहरू मध्ये करिब २३  प्रतिशत मात्रै कुनै न कुनै सीप लिएर प्रवेश गर्ने अवसर पाएको देखिन्छ । अर्थात् श्रम बजारमा प्रवेश गरेका एक सय मध्ये झण्डै ७७ जना मान्छे अझ पनि “गरिखाने शिक्षा” अर्थात प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको पहुँचबाट बञ्चित हुन वाध्य छन् ।

यो तथ्याङ्कले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको सन्तुलित र दिगो विस्तार अपरिहार्य रहेको देखाउँछ । यद्यपी,  विगत केहि वर्ष यता सञ्चालनमा रहेका नर्सिङ्ग, फार्मेसी सञ्चालन गर्ने शिक्षालय बाहेक अधिकांश प्राविधिक शिक्षालयहरूमा भर्ना क्षमता भन्दा निकै कम प्रशिक्षार्थी रहेको देखिन्छ । त्यसै गरि प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको क्षेत्रमा उपलब्ध जनशक्ति, व्यवस्थापन तथा नियमनकारी निकायमा दरबन्दी र बार्षिक बजेट लगायतका श्रोत साधनहरू पनि विस्तारलाई धान्नै नसक्ने खाले छ । तसर्थ यो लेखमा उपलब्ध श्रोत साधनको अधिकतम सदुपयोग हुने र विस्तारको सन्तुलन पनि नखल्बलिने गरी भर्ना क्षमता भन्दा निकै कम प्रशिक्षार्थी रहेका शिक्षालयहरूको प्रभावकारी व्यवस्थापनार्थ प्रस्ताव पेश गरिएको छ ।    

स्याटलाईट प्राविधिक शिक्षालयको अवधारणा

प्रभावकारी रुपमा सञ्चालनमा रहेको मातृ प्राविधिक शिक्षालयको संरक्षणमा रहेर सञ्चालन हुने शिक्षालयहरूलाई स्याटलाईट प्राविधिक शिक्षालय भनिन्छ । यस प्रकारको शिक्षालयमा मातृ प्राविधिक शिक्षालयले प्रशासनिक, व्यवस्थापन, आर्थिक लगायत प्रशिक्षण कार्यमा समेत उपलब्ध स्रोत साधनहरूको अधिकतम   सदुपयोग गरी  मद्दत पुर्याउने कार्य गर्दछ । सामान्यतया स्याटलाईट प्राविधिक शिक्षालयहरू भौतिक रुपमा मातृ शिक्षालय भन्दा सानो क्षमताका र मातृ शिक्षालय भएको स्थानमा भन्दा अन्यत्र हुन्छन् ।  यद्यपी यो एउटा शिक्षालय अर्को शिक्षालयमा विलय हुने भने होइन । विलय हुँदा पहुँच असन्तुलित हुनसक्छ । तर आवश्यक परे बैङ्कहरू मर्जरमा गएको जस्तो विकल्प पनि अपनाउन पर्ने हुनसक्छ ।

स्याटलाईट प्राविधिक शिक्षालयको उपादेयता

विभिन्न स्थानमा छरिएर रहेका प्राविधिक शिक्षालयहरूलाई शिक्षालयको क्षमता, भौगोलिक अवस्थिति, बजार वा उद्योगमा पहुँच आदि  विश्लेषण गरेर कुनैलाई मातृ प्राविधिक शिक्षालय र अन्य केहि शिक्षालयहरूलाई स्याटलाईट प्राविधिक शिक्षालयको रुपमा परिणत गरी उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गर्न सकिन्छ ।

वर्तमान अवस्थामा नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत ५७ आङ्गिक शिक्षालय, १७ साझेदारी, ४२९ वटा निजी शिक्षालय र ५३४ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । कुनै शिक्षालयहरूमा आवश्यकता भन्दा बढि स्रोत साधनहरू रहेको भेटिन्छ भने केहि शिक्षालयहरूमा दक्ष व्यवस्थापक तथा प्रशिक्षण कर्मचारीहरूको अभाव रहेको देखिन्छ । यस्तो अवस्थामा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम कार्यक्रमहरूको लागत घटाई प्राविधिक शिक्षालाई सर्वसाधारणको आर्थिक, सामाजिक तथा भौगोलिक पहूँच भित्र ल्याउन सञ्चालनमा रहेका शिक्षालयहरूमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी एउटै व्यवस्थापन अन्तर्गत कार्यक्रमहरु सञ्चालन गर्ने गरी स्याटलाईट प्राविधिक शिक्षालयको अवधारणा लागू गर्नु उपयुक्त हुन्छ ।

तसर्थ, प्रथम चरणमा आंगिक शिक्षालयहरू मध्ये केहिलाई मातृ प्राविधिक शिक्षालय र केहिलाई स्याटलाईट प्राविधिक शिक्षालयको रुपमा परिणत गरी संयुक्त रुपमा प्रभावकारी र मितव्ययि तवरले कार्यक्रमहरू सञ्चालन गर्न उपयुक्त हुन्छ । यसरी मातृ शिक्षालय र स्याटलाइट प्राविधिक शिक्षालय बनाउँदा निम्न उपलब्धि हुन्छ ।

- एउटै व्यवस्थापनले भौतिक दुरीमा रहेका शिक्षालयहरू सञ्चालन गर्न सकिन्छ ।

- सबै शिक्षालयहरूका उपलब्ध स्रोतसाधनहरू अधिकतम उपयोग गर्न सकिन्छ ।

- प्रशिक्षार्थी भर्ना संख्या कम रहेको शिक्षालयबाट मातृ शिक्षालयमा वा मातृ शिक्षालयबाट स्याटलाईट शिक्षालयमा प्रशिक्षार्थीहरू स्थानान्तरण गरी सन्तुलन कायम गर्न सकिन्छ ।

- एउटा शिक्षालयमा अध्यापन वा काम गर्ने प्रशिक्षक तथा कर्मचारीहरुलाई आवश्यकता अनुसार अन्य शिक्षालयहरूमा समेत परिचालन गरी उनीहरूको क्षमताको अधिकतम उपयोग गरी  काममा लगाउन सकिन्छ ।

- सूचना प्रविधिका माध्यमहरू प्रयोग गरी एकै स्थानबाट अन्य शिक्षालयहरू व्यवस्थापन तथा प्रशिक्षणकार्य समेत गर्न गराउन सकिन्छ ।  

त्यसैले, स्याटलाईट प्राविधिक शिक्षालयको नीति नेपालको लागि उपलब्ध स्रोत साधनहरूको अधिकतम सदुपयोग गर्ने र प्रत्येक नेपालीको पहुँचमा सन्तुलित र दिगो प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम पुर्याउने अवसर हुन सक्छ ।

भट्टराई, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिईभिटिका निर्देशक हुन् ।

प्रतिक्रिया