शिक्षा के का लागि ? विद्वान हुन कि बुद्धिजीवी


विद्वान र बुद्धिजीवीका बारेमा व्यक्ति, परिवार र समाजमा अनेकानेक बहस, विवेचना तथा संवाद प्रशस्तै हुने गरेका छन् । यिनीहरुको बारेमा जान्नु भन्दा पहिले आँकडा, सूचना, तथ्य, ज्ञान र सत्यका बारेमा जान्नु उत्तिकै जरुरी पनि छ । यी शब्दहरुको अर्थ के हो ? यिनीहरुको उद्देश्य के हो ? यिनीहरुको बारेमा जानकारी दिने निकाय कुन हो ? यिनै जिज्ञासाहरुको परिमितिमा रहेर यस आलेखमा चर्चा गरिने छ ।

भौतिक शास्त्रले तिन वटा आयामको वारेमा उल्लेख गरेको छ । ती हुन् पिण्ड, लम्वाई र समय । अझ व्यापक रुपमा भन्ने हो भने उर्र्जा, अन्तरिक्ष तथा समयका रुपमा पनि यिनीहरुलाई परिभाषित गर्न सकिन्छ । यिनीहरुलाई परिमाणात्मक आयाम पनि भनिन्छ । त्यसै गरी परिमाणमा उल्लेख गर्न नसकिने तर अनुभूत गर्न सकिने विषयहरु पनि हुन्छन्, तिनलाई मापन गर्न नसकिए पनि व्याख्या गर्न भने सकिन्छ त्यसैले गुणात्मक विषय भन्ने गरिन्छ । समग्रमा कुनै पनि पदार्थको समय र स्थानका सन्दर्भमा उल्लेख गरिएको परिमाणात्मक आयामलाई आँकडा भनिन्छ । यो आँकडाको स्वतन्त्र अस्तित्व हुदैन तर यसले अन्य आश्रयको सहारामा मात्र आफ्नो परिचय बनाउन सक्छ । यसरी अन्य छुट्टै अस्तित्व भएको आश्रयसंग मिलेर बनाएको परिचयलाई सूचना भनिन्छ । एउटा खास स्थानमा कुनै खास समयमा मात्र सार्थक हुन सक्ने सूचनालाई तथ्य भनिन्छ । एउटा खास समयमा हरेक स्थानमा सार्थक हुने तथ्यलाई ज्ञान भनिन्छ । हरेक स्थानमा हरेक समयमा सार्थक ठहरिने सूचनालाई सत्य भनिन्छ ।

एउटा उदाहरण हेरौं ।

१६ बर्षकी जवान युवती बलवान थिइन् । यहाँ १६ र बर्ष दुबै आँकडा हुन् र यिनको आँफैमा के कति अस्तित्व हुन्छ आँफै विचार गरौं । त्यसै गरी जवान, युवती तथा बलवान यी शव्दको स्वतन्त्र अस्तित्व के कति हुन्छ ? र यिनले के भन्न खोजेका हुन् ? १६ वर्षकी युवती भन्ने हो भने यसले कुनै युवतीको उमेर उल्लेख गर्न खोजेको देखिन्छ । युवतीको उमेर उल्लेख भएको परिचय चाहिँ सूचना भयो । त्यसै गरी १६ वर्षकी जवान युवती भन्ने हो भने यसले महिलाको एउटा चरित्र देखाउँछ । उमेर निश्चित भएको अवस्थामा तथा त्यो समयमा अवलोकन कर्ताले प्रत्यक्ष देखेको अवस्थामा यो सूचना तथ्य हुने भयो ।  ती युवती जवान नै रहने भईन् । तर समयलाई मात्र एकै ठाउँमा राखेर हेर्ने हो भने यही तथ्य ज्ञान हुने भो । त्यो कालखण्डमा उमेर निश्चित भएका महिलाहरु मध्ये १६ वर्षकालाई जवान ठानिने भो ।

सत्य यी सबै भन्दा पर हुन्छ ।

मानव जाति जंगली युग, ढुंगे युग, कृषि युग र बैज्ञानिक युग पार गर्दै अहिलेको अवस्थामा आईपुगेको छ । स्वभावतः मानवको औषतन आयु पनि परिवर्तित भएको छ । अब सवै कालखण्डमा त १६ वर्षे उमेर जवान पनि नहुन सक्छ । त्यसैले यो सत्य हो त ? त्यसैले हरेक स्थान र समयमा एउटै रहने ज्ञानलाई सत्य भनिएको हो । साश्वत सत्य भनेको पनि त्यहि हो ।

अब लागौं विद्वान र बुद्धिजीवीका तर्फ ।

आँकडादेखि सत्य सम्मको बारेमा जानकार रहेको र लाभ हानीको पर्वाह नगरी कुनै चिजका बारेमा साश्वत कुरा गर्न सक्ने मान्छे विद्वान हो । मनबाट निर्देशित कुरा गर्ने मान्छे नै विद्वान हो । विज्ञान र मानवताका बारेमा बहस चलिरहँदा र निष्कर्शमा नपुगेको अवस्थामा पेट पनि त भर्नु पर्छ । त्यसैले पेटका लागि माथिको श्रृङ्खलालाई उपभोग गर्ने व्यक्ति बुद्धिजीवी हो । मस्तिष्कवाट निर्देशित कुरा गर्ने मान्छे नै बुद्धिजीवी हो । मानव र जगतको क्रमवद्ध अध्ययनलाई बिज्ञान भनिन्छ । बिज्ञानको प्रयोग मानव जातिको कल्याणका लागि गरिएमा यो प्रगति हुने भयो र विनासमा प्रयोग भएमा यो ध्वंश हुने भो ।

यस सन्दर्भमा मुख्य प्रश्न भनेको शिक्षाले के माथिका क्रममा रहेका  सबै अवयवहरुका बारेमा दीक्षित गर्न सक्छ ? के मानिसलाई यी सबै कुराको आवश्यकता छ ?
क्रमवद्ध रुपमा संपूर्ण अवयवहरुको अध्ययन पूरा गरी समय र स्थानसंग निरपेक्ष रही वोध गर्न तथा गराउन सक्ने मान्छे विद्वान हो । अर्कोतिर यसको विवेकपूर्ण अर्थात लाभहानी समेत विचार गरी समय र स्थानसंग सापेक्ष रही वोध गर्न गराउन सक्ने मान्छे बुद्धिजीवी हो ।

अब शिक्षा के का लागि विद्वान हुनका लागि कि बुद्धिजीवी हुनका लागि ?

शिक्षालाई विज्ञान र प्रजातन्त्रसंग जोडेर हेर्नु पर्छ भन्ने एक थरी मानिसहरुको मत छ भने यसलाई धर्म र राष्ट्रवादसंग जोडेर हेर्नुपर्छ भन्ने अर्कोथरी मत पनि नभएको होइन । यी कुन चाँहि विचारले विद्वान तथा कुनले बुद्धिजीवीको पक्षमा पैरवी गर्छ त्यता पट्टि अहिले नलागौं । यो मत राजनीतिक दर्शनसंग पनि जोडिएको हँुदा यसका बारेमा अहिलेलाई यत्ति मात्रै ।

शिक्षाको मूलभूत लक्ष ज्ञान तथा सत्य प्राप्ति मात्र नभई त्यसका माध्यमवाट जिविकोपार्जन तथा पुस्तान्तरणलाई सहज वनाउनु पनि हो । शिक्षालाई औपचारिक (फर्मल), अनौपचारिक (इन्फर्मल) र नन्फर्मल जे भने पनि यी सवै शिक्षा सिकाउने विधिका लागि प्रयोग गरिने पदावली हुन् । शिक्षा प्रदान गर्ने व्यक्ति तथा शिक्षा प्रदान गर्ने संस्था अथवा शिक्षालय दुवै स्तरिकृत तथा प्रमाणित भएको हुनुपर्ने व्यवस्था अनिवार्य भएकाले शिक्षा औपचारिक नै हुन्छ । यसमा शिक्षा प्रदान कसरी भयो भन्ने कार्य कारण तथा नतिजा उपलव्धिको सिद्धान्त वेअसर भई उपलव्धि मात्र गणनामा आउँछ । त्यसैले शिक्षक तथा शिक्षालय कस्तो हुनुपर्छ ? भन्ने कुरा महत्वपूर्ण हुन आउँछ ।
शिक्षण प्रशिक्षण यान्त्रिक कार्य होइन । यसलाई मनोवैज्ञानिक तथा प्राज्ञिक पक्षवाट लेखाजोखा गरौंं ।

पहिला मनोवैज्ञानिक

बालशिक्षा (पेडागोजी) र प्रौढ शिक्षा (अण्ड्रागोजी) ।

बालशिक्षामा शिक्षकको भूमिका वालकको कौतुहलतालाई सकारात्मक दिशातिर उन्मुख गराउनु, कौतुहलता सृजना गर्न सहयोग पुर्याउनु तथा समाधान खोज्न प्रोत्साहित गराउनु नै हो । बाल मनोविज्ञानसंग हिमचिम भई विद्यार्थीलाई नयाँ कुरा सिक्न पे्ररित गर्नुपर्ने हँुदा यो यान्त्रिक काम हुँदै होइन ।  अब अर्कोतिर उपलव्ध विकल्पहरु मध्ये उत्तम विकल्प छनौट गर्न सक्ने तथा जिवनका अगाडि आएका परिस्थितिहरुका बारेमा आफै निर्णय लिन सक्ने क्षमता विकास पनि शिक्षाको भएको हुँदा प्रौढ शिक्षामा शिक्षकको उद्धेश्य समस्या समाधानका लागि माध्यम तथा उपाय देखाइदिने अथवा श्रोतको पहिचान गराइदिने हुन जान्छ ।

अर्को तर्फ हाम्रो पूर्वीय तथा पश्चिमी समाजमा शिक्षकको स्थान उच्च राखिएको भनेको शिक्षकको योग्यता निर्धारण गरेको पनि हो । राम्रो नतिजा ल्याई उत्तीर्ण भएको व्यक्ति राम्रो शिक्षक नहुन पनि सक्छ भन्ने प्रचलित भनाई शिक्षकको पेशागत योग्यता प्रति परिलक्षित छ । विशेष योग्यता भएको र समाजमा उच्च मर्यादाले हेरिने मान्छे औपचारिक नै हो । र यिनै औपचारिक मान्छेहरुले काम गर्ने स्थान शिक्षालय औपचारिक नहुने कुरै भएन । त्यसैले सबै शिक्षा औपचारिक भनिएको छ । हालै प्रचलनमा ल्याउन लागिएको राष्ट्रिय योग्यता प्रणाली र राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको मूख्य सन्देश पनि सबै प्रकारका शिक्षाहरु औपचारिक हुन् भन्ने नै हो ।

माथिका विवेचनाहरुवाट शिक्षक पात्रको रुपमा नभई माध्यमको रुपमा विद्यार्थीलाई ज्ञानसंग जोडिदिने कारक मानिएको कुरा झल्कन्छ । शिक्षकले विगतको अनुभवका आधारमा भविष्यको बाटो समेत कोरिने गरी वर्तमानमा सहज जिविकोपार्जनका लागि आधार तय गरिदिने भएकाले उसमा केही पेशागत दक्षता हुनु आवश्यक छ । शिक्षकले आफूले पठनपाठन गर्ने गराउने ज्ञान तथा सीप आफै सम्पादन गर्न सक्नुपर्छ । समाज तथा व्यावसायका दैनन्दिनीहरुमा उसले भौतिक रुपमा समेत उत्प्रेरक सेतुको रुपमा काम गर्नुपर्छ ।

सुनेर, हेरेर, लेखेर तथ पढेर जानिने परम्परामा आश्रितहरुको कार्य सम्पादन तथा प्रत्यक्ष काममा संलग्न भई आएकाहरुको कार्य सम्पादनलाई हेर्ने हो भने कुन चाँहि प्रभावकारी हुन सक्छ सहजै भन्न सकिन्छ । त्यसैले पठनपाठनमा अघिल्लो वाक्यमा भनिएका विधिको अलावा अवलोकन (गरेको हेर्ने), जानकारको अधिनमा रही काम गर्ने (गाइडेड प्राक्टिस) र स्वतन्त्र पूर्वक काम गर्ने (इन्डिपेण्डण्ट प्राक्टिस) थप विधिहरु पनि थपिएका छन् । यसैलाई नै कार्यस्थलको सिकाइ विधि भनिन्छ ।

माथि शिक्षाको आधारभूत दर्शनमा प्रजातन्त्र जोडिनुको अर्थ पनि शिक्षालाई समाजसंग जोड्नु नै हो । शास्त्रीय विषय मात्र जानेको मान्छेलाई जिविकोपार्जनका लागि आवश्यक सेवाहरु थोरै नै हुन्छन् । तर व्यावहारिक सीपका लागि भने यो अवसर प्रशस्तै हुन्छ । सबैले इच्छाइएका सबै काम गर्न सक्ने र गर्न पाउने भएकैले र सबैको समान अवसरको पनि अवस्था आँकलन गरिएकाले शिक्षाको दर्शनलाई प्रजातन्त्रको दर्शनसंग जोडिएको हो ।

विज्ञानको अहिले सम्मको विकास र उपलव्ध श्रोत तथा बढ्दो जनसंख्याको चापलाई हेर्दा परम्परागत ज्ञान र प्रविधिमा परिवर्तन गनुपर्ने देखिन्छ । आम मानिसको प्रवृत्ति परिवर्तनका लागि वौद्धिक बिलास चाँहि गर्ने तर यसलाई सहजै नस्विकार्ने रहेको पाइन्छ । विगतमा भएको सिमित ज्ञान तथा अनुभववाट मात्र अघि बढ्न नसकिने भएकाले नै यो सिमिततालाई अज्ञानता भनिएको हो र यही नै हालसम्मको प्रगतिका लागि मूख्य कारक रहेको छ । फरक यत्ति हो कि विगतका मानिसहरुले उनीहरुमा सिमितता छ भन्ने कुरालाई स्विकारेर ज्ञानको खोजीका लागि कति प्रयोगहरु गरे र कति अनुभवहरुका माध्यमवाट हामीलाई विरासतका रुपमा अहिलेको अवस्था दिएका हुन् ।

अब अहिलेको अवस्थामा मात्र भर परेर के भविष्य सुरक्षित गर्न सकिन्छ ? त्यसैले परिवर्तन स्विकार्नका लागि विगतमा गरिएका अनुभव तथा प्रयोगवाट अभ्यस्त भएका हामीले वर्तमानको आवश्यकतालाई समाधान गर्न सक्ने अवस्थाका लागि विगतको प्रक्रिया बिर्सन सक्ने शाहस राख्न सक्नु पर्छ । यही वर्तमानमा समाधान दिन सक्ने विधि तथा प्रक्रिया सिक्न तथा सिकाउन सक्नु पर्छ । साना उमेर समूहलाई त यो प्रक्रिया सहज हुने भो तर वयश्कहरुका लागि भने उनीहरुले जानेको विधि तथा प्रक्रिया अपर्याप्त भएको अवस्थामा पूरानो अनुभवलाई बिर्सेर नयाँ विधि तथा प्रक्रिया फेरी सिक्नुपर्ने हुन्छ ।

यसलाई एउटा सुत्रमा भन्ने हो भने यसलाई सिक्ने (लर्न), बिर्सने (अनलर्न) र फेरि सिक्ने (रिलर्न) चक्र भनिन्छ ।

त्यसैले शिक्षालाई शुरुको शिक्षा (इनिसियल एजुकेशन) र अनवरत शिक्षामा (कन्टिनियस एजुकेशन) मा विभक्त गरिएको हो । व्यक्तिको क्रय क्षमता तथा उपलव्ध प्रविधिको समुचित उपयोगका माध्यमवाट कार्यस्थलमा आधारित पठनपाठन गर्ने दिशातिर अघि वढेमा शासनले (प्रजातन्त्रको अर्थमा) खोजेको जस्तो गुणस्तरीय तथा प्रभावकारी शिक्षा प्रदान गर्न सकिन्छ भन्ने धारणालाई अवलम्वन गर्न अत्यन्तै जरुरी छ ।

अभिजात्य वर्गलाई मात्र सम्वोधन गर्ने भन्दा पनि मध्यम वर्गको कामकाजी समूहलाई समेत शिक्षाको मुलधारमा ल्याउनु पर्छ । त्यसैले वुद्धि विलास भन्दा पर कामकाजी समूह, प्रारम्भिकका अतिरिक्त अनवरत शिक्षा, कक्षा केन्द्रित भन्दा कार्यस्थलमा आधारित, उपलव्ध ज्ञान तथा प्रविधिको उच्चतम विकास भएको सिमित मान्यता भन्दा तिनीहरु पनि विकास क्रममा नै रहेको मान्यता र परिवर्तनको चाहनाका अतिरिक्त परिवर्तनको स्विकारोक्तिका लागि हामीहरु तयार रहनै पर्छ ।

यसका लागि के हाम्रा सबै सरोकारवालाहरु सहमत छन् ? यसका लागि के हाम्रो विवेक नयाँ आयाममा प्रवेशका लागि स्वतन्त्र छ ? हामीहरु हाम्रो दिमागमा घर गरेर रहेका अहिलेका सन्दर्भमा कम प्रभावकारी देखिएका विचारलाई विर्सन तयार छौैं त ? के यो अघि बढ्न प्रोत्साहन नगर्ने साङ्लोबाट हामी मुक्त हुन सक्छौं ? यहि परिवर्तनलाई स्विकार्न आँट नगर्ने असमञ्जस अवस्थाले नै वौद्धिक विकास तथा प्रगतिलाई अवरुद्ध मात्र पारेको नभई हाम्रो मानसपटलमा वौद्धिक दासताको विषाणु बलवान रुपमा रहेको छ । र यसको यस्तो उपस्थिति समृद्धिका लागि वाधक समेत बनेको छ । 

भट्टराई, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिईभिटिका निर्देशक हुन् ।