Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

पठनपाठन शुरु गर्न निर्देशिका जारी, आफ्नो विद्यालय बाहिरका विद्यार्थीलाई पनि शिक्षकले सहजीकरण गर्नु पर्ने

सोमबार, १९ जेठ २०७७

काठमाडौं - कोरोना भाईरस कोभिड १९ को जोखिमका कारण आईपरेको अवस्थामा पनि सिकाइ निरन्तर गर्न आवश्यक व्यवस्था सहित सरकारले निर्देशिका जारी गरेको छ । विद्यार्थीको ५ वर्ग निर्धारण गरेर जारी वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ मा समुदायमा रहेका आफूले पढाउने विद्यालय बाहेकका विद्यार्थीको सूची बनाई सहजीकरण गर्ने जिम्मेवारी शिक्षकलाई तोकिएको छ ।

स्थानीय तह तथा विद्यालयले स्रोत साधनमा पहुँचको अवस्थाका आधारमा विद्यार्थीको पहिचान गरी वर्गीकरण गर्नु पर्ने निर्देशिकामा व्यवस्था छ । विद्यार्थी पहिचान तथा वर्गीकरण गर्ने प्रयोजनका लागि विद्यालयले चालु शैक्षिक सत्रको आधारमा आफ्नो विद्यालयको अभिलेख अनुसार विद्यार्थीको नाम नामेसी, आमा, बाबुको नाम, ठेगाना, सम्पर्क नं., विद्यार्थीको समूहकृत वर्ग र स्रोत साधनको पहुँचको अवस्था समेतको विवरण खुलाई सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउनु पर्नेछ । यस्तै विद्यार्थीको विवरण उपलब्ध गराउन नसकिने अवस्था भएमा अघिल्लो शैक्षिक सत्रको विद्यालयको अभिलेखको आधारमा चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकीन गरी विवरण उपलब्ध गराउनु पर्ने निर्देशिकामा व्यवस्था छ । यसरी विद्यार्थीको वर्गीकरण गरेपछि गर्नु पर्ने समूहगत सिकाइ कार्यक्रम सम्बन्धी व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

बैशाखबाट शुरु हुने शैक्षिक सत्र कहिले देखि शुरु गर्ने र विद्यालयको रोकिएको पठनपाठन कसरी अघि बढाउने भन्ने बारेमा यतिका समय सम्म पनि अलमलमै रहेको भन्दै शिक्षा मन्त्रालयको चर्को आलोचना भईरहेको थियो । यही बेला मन्त्री गिरिराजमणि पोखरेलद्वारा जारी उक्त निर्देशिकामा साविककै जस्तो गरी विद्यालयमा गएर पठनपाठन हुन नसक्ने अवस्थालाई सम्बोधन गर्दै प्रविधिको पहुँचका आधारमा ५ भागमा विद्यार्थीको वर्गीकरण गरिएको छ ।

सबै किसिमको प्रविधिको पहुँच भन्दा बाहिर रहेका विद्यार्थी समूह, रेडियो, एफएम रेडियोमा पहुँच भएका विद्यार्थी समूह, टेलिभिजनमा पहुँच भएका विद्यार्थी समूह, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटि नभएका विद्यार्थी समूह र ईण्टरनेट तथा सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीको समूह निर्धारण गरी सोही आधारमा पठनपाठन अघि बढाउन सकिने निर्देशिकामा व्यवस्था गरिएको छ ।  

वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्दा आवश्यक सामग्रीको निर्माण तथा वितरण अनी संघ, प्रदेश, स्थानीय सरकार तथा शिक्षा मन्त्रालय अन्र्तगतका निकायहरुको भूमिका पनि उल्लेख गरिएको छ । विद्यालय, अभिभावक तथा शिक्षकको भूमिकाको पनि सविस्तार व्याख्या गरिएको उक्त निर्देशिकामा विद्यार्थीको पहिचान तथा वर्गीकरणका लागि स्थानीय तह र विद्यालयलाई विवरण उपलब्ध गराउने कार्य शिक्षकको हुने उल्लेख छ । समुदायमा स्रोत शिक्षक वा सहजकर्ताको रूपमा काम गर्न नजिकैको विद्यालयमा सम्पर्क राख्ने तथा नयाँ तथा पुराना पाठ्यपुस्तकको प्रयोग गरेर पढ्ने वा सिक्ने, सिकाउने कुरामा सहजीकरण गर्ने जिम्मा शिक्षकलाई तोकिएको छ । समुदायमा रहेका आफूले पढाउने विद्यालय बाहेकका विद्यार्थीहरूको सूची बनाई सहजीकरण गर्ने र बसोबास नजिक रहेको विद्यालयलाई आवश्यकता अनुसार शिक्षकले सहयोग गर्नु पर्ने छ ।

विद्यार्थीलाई सर्वव्यापी रुपमा प्रयोग भएका अनलाइन पद्धति तथा अन्य शिक्षण सिकाइका साधनहरूलाई प्रयोग गर्न प्रोत्साहन गर्ने तथा खुला स्रोतमा आधारित निस्शुल्क उपलब्ध हुने अनलाइन र अफलाइन सिकाइ व्यवस्थापन प्रणालीहरू उपयोग गर्ने, गराउने काम शिक्षकलाई तोकिएको छ ।

उक्त निर्देशिका पढ्न तथा डाउनलोड गर्न सक्नुहुन्छ :

प्रतिक्रिया