Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

शुल्क नबुझाउने विषय र मौका परीक्षा चाँडो सुनिश्चित गर्न माग

बुधबार, १० असार २०७७

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठनले सबै विश्वविद्यालयहरु बन्द रहेको अवधि भरको कुनै पनि शुल्क बुझाउनु नपर्ने विषयको चाँडो सुनिश्चितता गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले विज्ञप्ति जारी गर्दै कोरोनाको त्रासका कारण विद्यार्थीमा मनोवैज्ञानिक तनाव भए पनि उच्च शिक्षामा भद्रगोल र बेथिती बढ्दो रहेको उल्लेख गरेका छन् । 

विभिन्न ६ बुँदे माग सहित जारी विज्ञप्तिमा ९ महिना देखि पदाधिकारी विहीन पोखरा विश्वविद्यालयमा सक्षम प्राज्ञिक नेतृत्व चयन गर्न, संस्कृत र कृषि तथा वन विज्ञान विश्वविद्यालय सहित सबै विश्वविद्यालयमा खाली भएका पदाधिकारी नियु्क्त गरी गति हिनताको अन्त्य गर्न भनिएको छ । यस्तै पूर्वाञ्चल विश्वविद्यालयमा विद्यार्थीको मौका परीक्षाको व्यवस्था गर्न माग गर्दै उक्त विज्ञप्तिमा सत्याग्रही प्रा.डा. गोविन्द केसीसँग राज्यले गरेको सहमती विपरित भएको  आईओएमको डीन नियुक्ति खारेज गर्न पनि माग गरिएको छ । 

हालै सरकारले प्रधानमन्त्री केपी ओलीकी निजी चिकित्सा डा. दिव्या सिंह शाहलाई डीन नियुक्ति गरेको थियो । उक्त नियुक्ति वरिष्ठता मिचेर सत्ताधारी दल नेकपाको रिफारिसका आधारमा गुटगत भागवण्डामा गरिएको भन्दै नेविसंघले वरिष्ठता, जेष्ठाता र सक्षमताका आधारमा प्राज्ञिक मर्यादा कायम राख्न माग गरेको छ ।  

यसैबीच उक्त विज्ञप्ति सार्वजनिक भएको केही बेरमै बुधबार दिउँसो नेविसंघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन् । विभिन्न माग सहित जाँदा विद्यार्थीलाई अपमान गर्न खोजे पछि विरोध स्वरुप कुर्सी जलाएको नेविसंघले जनाएको छ । आक्रोशित विद्यार्थीले उपकुलपतिको कुुर्सी चौरमा ल्याएर जलाएका हुन् । 

नेविसंघ त्रिवि इकाइले केही दिनअघि अनलाइन कक्षा प्रभावकारी बनाउन, ईण्टरनेटमा सहुलियत दिन र राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न ध्यानाकर्षण गराएको थियो । 

 

प्रतिक्रिया