वैकल्पिक सिकाइ : समस्या कि समाधान खोज्ने ?


(सम्पादकीय नोट : कोरोना भाईरस (कोभिड - १९)  का कारण आएको असहजतामा बालबालिकाको सिकाइ कसरी प्रभावकारी बनाउने ? कसरी शिक्षक र सम्बन्धित निकायलाई यस प्रति जिम्मेवार बनाउने ? यस सन्दर्भमा संसारमा के कसरी काम भईरहेका होलान् ? यहाँ के गर्न सकिएला ? सिकाइ सहजता र बालबालिकालाई केन्द्रमा राख्दा उब्जिएका यस्तै यस्तै प्रश्नको उत्तर दिन कोही सफल हुन्छ भने कि त्यो शिक्षक हो कि स्थानीय सरकार ! असल अभ्यास गरेकालाई समर्थन, कोशिस गरेकालाई हौसला र नगर्नेहरुलाई सजग बनाउँदै झकझक्याउने क्रममा यसपटक देवीराम आचार्यको आलेख ।)

...

रुम टु रिडका संस्थापक जोन उडको एउटा भनाई निकै सान्दर्भिक छ । उनी भन्छन् – कुनै पनि बैठक तथा छलफलमा समस्या खोजे समस्या भेटिन्छ, समाधान खोजे समाधान भेटिन्छ !

कुनै पनि काम गर्नु अघि विधि र ढाँचाका बारेमा छलफल गरी बाटो तय गर्न भनेर बसेको बैठकका कतिपय सहभागीले समस्याका फेहरिस्तबाट कुरा  शुरु गर्छन !

शुरुमै समस्याको चर्चा भए पछि ती पछि बोल्ने अन्य सहभागीले पनि अब के समस्या थप्ने होला ? भनेर सोच्न थाल्छन् ।

यदि कुनै काम गर्ने भनेर त्यसका बारेमा छलफल गरिदैँछ भने समस्या सुनाउने सहभागीलाई बोल्नै नदिने र समाधानबाट छलफल शुरु गराउँदा पहिला समस्या खोजिरहेकाहरुले पनि अब मैले के समाधान भन्ने होला ? भनेर सोच्न थाल्छ । त्यस पछि साच्चिकै थुप्रै समाधानहरु आउँछन् ।

तर, यसो भनेर समस्या र सम्भावित जोखिमका बारेमा आँखा चिम्लने भनिएको होइन । समस्याको चर्चामा समय विताउनु अघि, तय भएको काम सम्पन्न गर्ने गरी समाधान खोज्नु पर्छ भन्ने तर्फ सजग बनाउन मात्रै खोजिएको हो । काम शुरु गर्नु अघि नै, कुनै अमुक समस्या आउँछ भनेर आँफै परिकल्पना गर्नु भनेको निर्धारित काम असफल हुने पहिलो पाईला हो । समस्या बोकेर छलफलमा बस्नु भन्दा त्यो समस्या आयो भने यसरी समाधान गर्न सकिन्छ भन्ने उपायलाई स्मरणमा राख्दै मुख्य लक्ष्य केन्द्रित हुन सकियो भने समाधान सहज हुन्छ ।

कोभिडले सिँगो मानवजातीको अस्तित्व माथि नै आक्रमण गरेको अहिलेको अवस्थामा संसार भरी लगभग ५ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । खोप निर्माणका लागि संसारका विकसित देश  जुटिरहेका खबर त आईरहेको छ तर खुसीको संकेत आईसकेको छैन ।

कोभिड कहिले रोकिन्छ ?

यसको विरुद्धको प्रभावकारी खोप वा उपचार विधि कहिले पत्ता लाग्छ ?

आगामी दिनमा यसको प्रभाव कस्तो रहन्छ ?

यस्ता प्रश्नको वस्तुनिष्ठ आधार सहितका उत्तर फेला पर्न सकेका छैनन् । चमत्कारिक रुपमा भएको विज्ञान र प्रविधिले पनि यसको सवालमा केही प्रभावकारी काम गर्न सकेको छैन । यो यथार्थमा यससँग बच्ने एउटै विकल्प संघर्ष गर्ने मात्र बाँकी छ पनि भन्न थालिएको छ ।

त्यसो हो भने के डार्विनको survival of the fittest सिद्धान्तका आधारमा मात्र जीवन रहने भयो ?

कति पटक सम्म त्यसको आक्रमण सहन गर्दा जीवन रहन्छ ?

यस्ता थुप्रै प्रश्न अनुत्तरीत नै छन् ।

कोभिडबाट बच्ने उपायको रुपमा संसारमा सबै भन्दा बढी अपनाइएको बन्दाबन्दीले पनि यसलाई रोक्न सकेन । हामीले गरेका अनेकौ अडकलबाजी, तथ्य र आधारहीन तर्कहरु सबै असफल भए । दिन प्रतिदिन यसको संक्रमण बढिरहेको छ ।

मानव जीवनका सबै पक्षहरुमा यसको प्रभाव परिरहेको यो जटिल परिस्थितिमा पनि अब जनजीवन सामान्य बनाउँदै पठनपाठनका क्रियाकलाप अगाडी बढाउने काममा जुट्नै पर्ने भएको छ ।

विगतमा के के गल्ती भए वा के के काम गर्न सकिएन भन्ने समिक्षा गर्ने समय र औचित्य पनि रहेन । अब के गर्न सकिएला भन्ने तर्फ मात्र केन्द्रीत भएर हरेक पालिकामा, विद्यालयमा र टोल समुदायमा गर्न सकिने काम तर्फ हामी सबैको ध्यान जानु आवश्यक छ ।

अनलाइनबाट पढाउने भनिरहेका छौँ । शुरु नगर्दासम्म त हामीले यसको निकै चर्चा गरेका थियौँ तर जब शुरु भयो यसका जटिलतला, पहुँचका समस्या, प्रभावकारीताका समस्याहरु देखिए ।

टेलिभिजनबाट पढाउने भनेका छौँ, त्यसको पनि पहुँचमा, प्रयोगमा र सामग्रीमा समस्या आइरहेको छ । हाम्रो पढाइ लेखाइको सामाजिक साँस्कृतिक पक्ष (पढ् भनेर भन्नै पर्ने, पढ्नलाई स्कुल र शिक्षक नै चाहिने, गृहकार्य हुनै पर्ने, परीक्षा नभए पढाइ नहुने) ले पनि यसको प्रभावकारीतामा समस्या भएको छ ।

डिजिटल सामग्रीको पनि अभाव छ । भएका केही डिजिटल सामग्री पनि अन्तरक्रियात्मक भएका छैनन् ।

रेडियोका पढाइ भर्खर शुरु हुदैँछन् । एकतर्फि रुपमा सुन्ने मात्र भएका दृष्टिले रेडियोका पाठले पनि कति सिकाइमा योगदान गर्ला ? भन्ने प्रश्न शुरु भएको छ ।

मोवाइल एप्लिकेसनहरु बन्दै छन् र बनिरहेका छन् । तर ती ईण्टरनेटको पहुँच हुँदा र स्मार्ट मोबाइल (तुलनात्मक रुपमा महँगो पर्ने) मात्र प्रयोग गर्न मिल्छ । घरमा दुई जना बालबालिका छन् भने दुईवटा डिजिटल सामग्री चाहिने जटिलता भएको यो परिस्थितिमा अब सिकाइलाई निरन्तरता दिन पालिकाहरुमा, विद्यालयहरुमा र टोल समुदायमा के गर्ने सकिएला ? शिक्षकले के गर्न सक्लान् ?  

१)    बन्दाबन्दीको शुरुका दिनहरुमा हाम्रो शैक्षिक सत्र भर्खर शुरु हुदैँछ भन्दै चुपचाप बस्यौँ । अब त्यसो गर्ने समय सकियो । औपचारिक रुपमै सरकारले वैकल्पिक सिकाइलाई प्रारम्भ गरेको सन्दर्भमा अब पालिकाहरुले समन्वय गरेर सुरक्षित तरिकाले विद्यालयहरु खोल्ने तर्फ (विद्यालय खोल्नुको अर्थ नियमित पढाइ होइन, बालबालिका र शिक्षक, विद्यालय बिचको सम्बन्ध जोड्न) लाग्नु पर्छ । स्थानीय स्तरमै भएका शिक्षकहरु आफ्नो सुरक्षालाई ध्यानमा राखी विद्यालयमा उपस्थित हुनु उपयुक्त हुन्छ । असारलाई खेतीपाती र सामान्य अवस्थामा पनि वर्षे विदा हुन्थ्यो भन्ने तर्क गर्ने हो भने पनि अब धेरै ढिला नगरी जे जति शिक्षक उपस्थित हुन सकिन्छ त्यति उपस्थित भएर विद्यालयका गतिविधि सञ्चालन गर्ने तर्फ अगाडि बढ्नु उपयुक्त हुन्छ ।

२)    पालिकाहरुले प्रअको वैठक (भौतिक दुरी कायम गरी सुरक्षालाई प्राथमिकतामा राखेर अनलाइन वा प्रत्यक्ष) गरी विद्यार्थीका यथार्थ विवरण सङ्कलन गर्न लगाउनु आवश्यक छ । कक्षा ४, कक्षा ६ र कक्षा ९ मा विद्यालय परिवर्तन गर्नुपर्ने विद्यार्थीका लागि दुवै विद्यालयका प्रअहरुले समन्वय गरी बालबालिकाहरुलाई अर्को विद्यालयको विद्यार्थीको रुपमा पहिचान दिलाउनु पर्छ । यसका लागि आवश्यक परे अभिभावक र विद्यार्थीसँग पनि परामर्श गर्नु पर्छ ।  

३)    संभव भएसम्म विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने । यदि सो कार्य सम्भव नभए नयाँ पाठ्यपुस्तकका विद्युतीय प्रति डाउनलोड गरी शुरुका ४।५ वटा पाठहरु प्रिण्ट वा फोटोकपी गरी लुज वाइन्डिङ गरेर उपलब्ध गराउन सकिन्छ । हरेक विद्यार्थीले यस्तो सामग्री पाए नपाएको सुनिश्चित गर्नु पर्छ ।  

४)    विद्यार्थीको यथार्थ विवरणहरु सङ्कलन गर्नु जरुरी छ । अभिभावकको पेशा, रोजगारी, घरमा रेडियो, टीभि र स्मार्ट फोन भए वा नभएको लगायतका विवरण सङ्कलन गरी सो अनुसार समूहकृत गर्न जरुरी छ ।  

५)    पालिकाहरुले स्थानीय स्तरमा विषयगत शिक्षकहरुका सञ्जाल बनाइ अडियो, भिडियो जस्ता पाठ्यसामग्री विकास गर्न सक्छन् । यस्ता सामग्री तयार पार्न महँगा क्यामेरा चाहिन्छ नै भन्ने छैन, आँफैले प्रयोग गर्दै आएका सामान्य गुणस्तरका मोबाइलमै पनि तयार गर्न सकिन्छ ।

६)    केही स्थानमा नियमित विद्यालय खोल्न प्रयास गरेको पनि पाइएको छ । लहड वा आवेगमा नियमित स्कुल खोलेर पठनपाठनमा लाग्नु भन्दा त्यति नै समय व्यतित गरेर वैकल्पिक विधिहरुको प्रयोगले शिक्षक, विद्यार्थी, अभिभावक र अन्य सरोकारवालाहरु सबैलाई सुरक्षित महशुस गराउँछ । मानसिक रुपमा पनि सुरक्षित महशुस नगरी भौतिक सुरक्षाले मात्र सिकाइ प्रभावकारी हुन सक्दैन ।

केही नहुँदा त राम्रै भयो, केही गरी नसोचेको अवस्था आइपर्दा जवाफदेही को हुने ? भन्नेमा ध्यान दिनु आवश्यक छ । पालिका, विद्यालय र शिक्षकहरु तयार हुने हो भने सिकाइलाई निरन्तरता दिन विद्यालयमा नियमित विद्यार्थी हाजिर गराउनै पर्छ भन्ने छैन । कठिनाइ र समस्या छन् तर समाधान हुनै नसक्ने होइनन् ।

७)    पालिकाहरुले टोल टोलमा अस्थायी सिकाइ केन्द्रहरु तोक्न सक्छन् । शिक्षकहरुले मेरो विद्यालय र मेरो कक्षाका मेरो विषय मात्र पढाउँछु नभनेर विद्यार्थी (जुन विद्यालय र जुन कक्षाका) जसलाई पनि सिकाउने जिम्मेवारी लिन सक्दा व्यवहारिक समस्या समाधान हुन सक्छ ।

८)    मोवाईल सेवा प्रदायक कम्पनीहरुसँग साझेदारी गरेर पालिकाहरुले एकैपटक धेरै सिमकार्ड खरिद गरी शिक्षकहरुलाई उपलब्ध गराउने र ती सिमकार्डबाट फोन गर्दा लाग्ने शुल्क सस्तो दरको हुने व्यवस्था गर्न सकिन्छ । यसबट शिक्षकले प्रत्येक ३ दिनमा हरेक विद्यार्थीलाई एकपटक फोन गरेर सघाउन वा उनीहरुको अवस्था बुझ्न सकिन्छ । अथवा हरेक दिनको प्याकेज खरिद गर्नका लागि पालिकाहरुले नगद अनुदान दिने वा खातामा जम्मा गरिदिन सक्छन् ।

९)    पालिकाहरुले संभव भएसम्म सबै विद्यालयमा टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) फोन उपलब्ध गराउने र कक्षा अनुसार र विषय अनुसार विद्यार्थीलाई फोन गर्ने समय उपलब्ध गराई त्यसमा शिक्षकले सहजीकरण गर्न सकिन्छ ।

१०)    हालको जटिल परिस्थितिमा शिक्षकहरुले घरमा, बाटोमा, मेलामा, समुदायमा जुनसुकै स्थान र समयमा पनि विद्यार्थीको सिकाइलाई सहजीकरण गर्नेगरी तयार हुने र विद्यार्थीलाई पनि यसको जानकारी दिन सकिन्छ । कतिपय विद्यालयहरुले शिक्षकलाई घर घरमा पठाउने अभियान शुरु गरेका छन् । कतिपयले खुला स्थानमा पढाउन थालेका छन्  । परिवेश अनुकूलका क्रियाकलाप अगाडी बढाउनु आवश्यक छ ।

११)    स्थानीय परिवेश, स्थानीय आवश्यकता, संभावनाका आधारमा रेडियोबाट कक्षा सञ्चालन गर्ने विकल्प धेरै पालिकामा रहेको छ । यसका लागि अन्तरपालिका समन्वय पनि गर्न सकिन्छ । एउटै क्षेत्रमा २,३ वटा रेडियो सुनिन्छ भने कक्षा अनुसार २,३ वटा रेडियोमा कार्यक्रम सञ्चालन गर्न सकिन्छ । रेडियोमा पनि टोल फ्रि फोनको व्यवस्था गरी पाठ प्रसारण भइरहेको बेला विद्यार्थीले फोन गरेर प्रश्न सोध्न सक्ने र सोही समयमा शिक्षकले थप प्रष्ट पार्ने तर्फ पनि ध्यान दिनुपर्छ । यसो नभए पनि कम्तीमा विद्यार्थीले पाठ प्रशारण भइरहँदा नबुझेका विषयहरु रेडियोमा फोन गरेर प्रश्न सोध्न मिल्ने बनाउन सकिन्छ ।

१२)    कक्षागत रुपमा विद्यार्थीलाई विभिन्न प्रकारका काम दिन सकिन्छ । दैनिक अनुच्छेद लेख्न मात्र दिन सके पनि १०।१५ दिनमा राम्रा र शुद्ध अक्षर लेख्न सक्ने बन्छन् ।

त्यसैले विषयवस्तु सिकाउनेमा मात्र जोड दिनु पर्दैन । तर विद्यार्थी कुनै न कुनै रुपमा शिक्षकको सम्पर्कमा रहने र शिक्षकले विद्यार्थीले के गरिरहेका छन् भनेर खोज्ने कार्यको थालनी गर्न ढिला भएको छ । केही पालिका तथा शिक्षकहरुले गरेका राम्रा अभ्यासबाट सिक्दै केही आफ्नै परिवेशका अभ्यासको थालनी गर्दै अगाडी बढ्नुको विकल्प छैन ।

१३)    स्थानीय पालिकाहरुले नेतृत्व लिएर प्रधानाध्यापक र शिक्षकसँग निरन्तर समन्वय गरी स्थानीय परिवेश, कोभिड जोखिमको अवस्था, उपलब्ध प्रविधि र साधनको अवस्था तथा संभावनाहरुलाई मूल्याङ्कन गरी समस्या होइन समाधान खोज्ने गरी काम गरौँ ।
कोभिड रोकिएला वा अवस्था सामान्य होला र गरौँला भनेर कुर्ने समय सकियो ।

आचार्य, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनमा विद्यावारिधिको शोध गर्दै छन् ।