Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

विश्वविद्यालयका परीक्षा : घर केन्द्र देखि 'भिडियो कन्फरेन्स' र मौखिक सम्मको विकल्प

मंगलबार, २३ असार २०७७
काठमाडौं - कोरोना भाईरस कोभिड १९ को जोखिमका कारण विद्यार्थीको पठनपाठन र परीक्षामा आईपरेको समस्या समाधान गर्न शिक्षा मन्त्रालयले उच्च शिक्षामा वैकल्पिक प्रणालबिाट सिकाइ सहजीकरण प्रारुप स्वीकृत गरेको छ । उक्त प्रारुपमा विश्वविद्यालयका परीक्षा सञ्चालनका लागि घर केन्द्र देखि भिडियो कन्फरेन्स र मौखिक परीक्षा सम्मको विकल्प उल्लेख गरिएको छ । उक्त प्रारुप कार्यान्वयनको लागी विश्वविद्यालय अनुदान आयोगले निर्देशिकाको रुपमा जारी गरिसकेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेललेका स्वकीय सचिव पुरन केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 
प्रारुपले परम्परागत औपचारिक पद्धति अनुसार सञ्चालन भइरहेका विश्वविद्यालय तथा उच्च शिक्षाका संस्थाहरूका पठन पाठन, अनुसन्धान, परीक्षा र मूल्यांकनका सम्बन्धमा कोभिड–१९ का कारण सिर्जित अवरोध हटाउन उपयुक्त एवम् सान्दर्भिक वैकल्पिक ब्यवस्था गरेको छ विज्ञप्तिमा भनिएको छ, त्यसैले सम्पूर्ण विश्वविद्यालय तथा उच्च शिक्षाका शिक्षण संस्थाहरुले यस प्रारुपलाई नीति निर्देशक दस्तावेजको रुपमा ग्रहण गरी वैकल्पिक पद्धतिबाट सिकाइ निरन्तरताका लागि आवश्यक र उपयुक्त तरिकाहरुको अवलम्बन गर्ने छन् ।
 
प्रारुपको बुँदा १३ मा उल्लेख परीक्षा सम्बन्धि व्यवस्थामा कोभिड १९ का कारण सृजना भएको परिस्थितिलाई सम्बोधन गर्न गरेको तयारी स्तर, परीक्षार्थीको आवासीय स्थिति र स्थानीय परिस्थितिको विश्लेषण गरेर मात्र परीक्षा सञ्चालन गर्नु पर्ने उल्लेख छ  ।  विश्वविद्यालयले सुरक्षा प्रोटोकल अनुसरण गरी सामाजिक दूरी र सामान्य सावधानी, मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, हात धुने, अनुहार छोप्ने सामानको उपयोग गरी सम्भव भए सम्म सेमेस्टर वा वार्षिक वा टर्मिनल परीक्षाहरू सञ्चालन गर्नु पर्ने प्रारुपमा भनिएको छ । 
 
'प्रचलित परम्परागत परीक्षा प्रणाली सम्भव नभए विश्वविद्यालयको सम्बन्धित निकायको स्वीकृतिमा सुरक्षा प्रोटोकल अपनाई सम्बन्धित उच्च शैक्षिक संस्थामानै परीक्षा केन्द्र तोकेर परम्परागत परीक्षा अनुसरण गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने छ' प्रारुपमा भनिएको छ 'विश्वविद्यालयले स्तर, डिग्री र सञ्चालित कोर्सको प्रकृतिका आधारमा विभिन्न विधिहरूका लागि उपयुक्त भार सहितको परीक्षा व्यवस्था गर्न सक्नेछन् । त्यसरी परीक्षाको व्यवस्था गर्दा खुला पुस्तक परीक्षा, खुल्ला विकल्प, गृहकार्य वा कक्षा कार्य, प्रस्तुतीकरणहरू, अनलाईन लिन मिल्ने परीक्षाहरू समयसीमा दिएर घरमै उत्तर लेख्ने, अनलाईन भाईभा आदिलाई विकल्पहरूको रुपमा लिन सकिने छ ।'
 
यस किसिमका मूल्याङ्कन साधन र विधिको प्रयोग गर्दा कम्तीमा तीन वटा साधन प्रत्येक विषयमा प्रयोग गर्नु पर्ने भन्दै प्रारुपमा यस्ता परीक्षा प्रणालीहरूलाई सम्बन्धित विश्वविद्यालयका आधिकारिक निकायले स्वीकृत गर्नु पर्ने व्यवस्था गरिएको छ । प्रयोगात्मक परीक्षाको लागि विषयको प्रकृति हेरेर विश्वविद्यालयको आधिकारिक समितिले स्वीकृत गरी कुनै एक अथवा अरु धेरै विकल्पहरू जस्तैः भर्चुअल प्रयोगशालाको प्रयोग, घरमा आधारित प्रयोगशालामा सम्बन्धित विद्यार्थीबाट प्रत्यक्ष प्रदर्शन (यदि उपलब्ध र सम्भव भएमा), कोभिड १९ सुरक्षा प्रोटोकल अपनाई परम्परागत प्रयोगशाला परीक्षा प्रयोग गर्न सकिनेछ । त्यस्ता परीक्षाहरू आवश्यकता अनुसार सम्बन्धित व्यवसायिक पेशागत परिषदबाट अनुमोदन गर्नु पर्नेछ । 
 
महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएमा विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले पछिल्लो वर्ष वा सेमेष्टरको पठनपाठन सुचारु गरी परिस्थिति सहज भए पछि अर्को सेमेष्टरमा अघिल्लो सेमेष्टरको परीक्षा लिन सक्ने व्यवस्था गरिएको छ ।  परीक्षा सञ्चालनका लागि अन्तिम वर्ष वा अन्तिम सेमेष्टरका विद्यार्थीहरूलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने प्रारुपमा उल्लेख छ । 
 
विश्वविद्यालयले सबै प्रकारका परीक्षाहरूका उत्तर पुस्तिकाहरूको छिटो मूल्याङ्कन गरी गराई प्रकाशनको व्यवस्था गर्नु पर्ने, परम्परागत, भर्चुअल वा घर केन्द्रमा आधारित र सैद्घान्तिक वा प्रयोगात्मक परीक्षाहरू सञ्चालन गर्नका लागि विश्वविद्यालय र उच्च शैक्षिक संस्थाले विद्यार्थीहरूको मूल्याङ्कन गर्दा, गुणस्तर र निष्पक्षता कायम गर्न सबै आवश्यक उपायहरू अवलम्बन गर्नु पर्ने प्रारुपले व्यवस्था गरेको छ ।  
 
प्रारुपमा उल्लेख परीक्षा सम्बन्धि अन्य बुँदा यस प्रकार छन् 
 
– विश्वविद्यालयले आफ्ना अध्ययन संस्थान वा संकाय वा क्याम्पस वा कार्यक्रम अन्तर्गत सञ्चालन भै रहेका सेमेस्टर तथा वार्षिक कार्यक्रम अन्तर्गतका अन्तिम परीक्षाहरू सञ्चालन हुन नसक्दा विद्यार्थीहरूलाई पछि परीक्षा लिने गरी अघिल्ला सेमेस्टर वा वर्षमा स्तरोन्नति गर्न सक्नेछन् । यस्तो अवस्थामा पछिल्ला र अघिल्ला दुवै सेमेस्टर वा वार्षिक कार्यक्रमका नियमित अन्तिम परीक्षाहरू सँगसँगै सञ्चालन गर्न सकिनेछ । तर यसरी दुई परीक्षाहरू सँगै सञ्चालन गर्दा कम्तीमा दुई हप्ताको फरकमा मात्र सञ्चालन गर्नु पर्नेछ । 
 
– विश्वविद्यालयले विद्यार्थीहरूलाई परीक्षा सुरु हुने मितिभन्दा कम्तीमा दुइ हप्ता अघि परीक्षा तालिका उपलब्ध गराउनु पर्नेछ । सेमेस्टरको सुरुमा विद्यार्थीहरूलाई कोर्स योजना, हेन्ड आउट्स, सेमेस्टर सञ्चालन हुँदा हुँदै निरन्तर रुपमा हुने मूल्याङ्कन तथा सेमेस्टरान्त मूल्याङ्कन, परीक्षा योजना तथा समय तालिका बारे जानकारी तथा संस्थागत नीति नियम उपलब्ध गराउनु पर्नेछ ।
 
– विद्यार्थी तथा अन्वेषकका लागि कोभिड(१९ को बन्दाबन्दीको अवधिलाई समावेश गरी न्यूनतम हाजिरी प्रतिशत कायम गर्नु पर्नेछ । 
 
– कोभिड(१९ को बन्दाबन्दीको विद्यमान अवस्थालाई ध्यानमा राखी विश्वविद्यालयले प्रोजेक्ट कार्य वा अनुसन्धान प्रतिवेदन कार्यमा संलग्न स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूलाई आवश्यक सहजीकरण गर्न उपयुक्त विधि तथा रणनीतिहरू तय गर्न सक्नेछ । यस्तो अवस्थामा विश्वविद्यालयले प्रयोगशालामा आधारित प्रयोग वा फिल्डमा जानुपर्ने सर्वेक्षणहरूको सट्टा समीक्षामा आधारित वा द्वितीय तथ्याङ्क श्रोतमा आधारित प्रोजेक्टहरूको उपयुक्त विकल्प अपनाउन सक्नेछ । प्राविधिक विषयको हकमा सम्बन्धित पेशागत परिषद्को स्वीकृति लिएर गर्नु पर्नेछ ।
 
– स्नातक तह तथा स्नातकोत्तर तहका पाठ्यबक्रममा तोकिएका मौखिक परीक्षाहरू अनलाइन मिटिङ एप्स मार्फत सञ्चालन गर्न सकिनेछ र त्यस्तो परीक्षाको अभिलेखीकरण गर्नु पर्नेछ ।
 
– विश्वविद्यालयले पि. एच. डि. तथा एम.फिलको मौखिक परीक्षा कुनै पनि विश्वसनीय अनलाइन भिडियो एप्सहरू प्रयोग गरी भिडियो कन्फरेन्स मार्फत लिन सक्नेछन् । मौखिक परीक्षा सम्बन्धी कार्यको पूर्ण  रुपमा अभिलेख गरी सो अभिलेख र अन्य प्रलेखहरू तोकिएको विज्ञले सहीछाप गरी प्रतिवेदन बनाई सुरक्षित राख्नु् पर्नेछ ।
 
– विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाले कोभिड–१९ महामारीको समयमा सञ्चालन हुने र भएका सबै प्रकारका परीक्षा तथा प्राज्ञिक कार्यका सन्दर्भमा आएका गुनासाहरू सम्बोधन गर्न गुनासो सुनुवाई इकाई स्थापना गर्नु पर्नेछ । 
 
– विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाले परीक्षा तथा शिक्षण सिकाइ सम्बन्धी विद्यार्थीका गुनासोहरू सम्बोधन गर्न हेल्पलाइन स्थापना गर्न सक्नेछ ।
 
– एम. फिल. तथा पि. एच. डी. जस्ता अनुसन्धान तहका विद्यार्थीहरूको शोधग्रन्थ बुझाउने म्याद गुज्रिसकेको वा गुज्रने अवस्थामा हाल अनुसन्धान कार्य गरिरहेका छन् भने त्यस्ता विद्यार्थीहरूलाई शोधग्रन्थ बुझाउन वा अनुसन्धान सम्बन्धी औपचारकिता पूरा गर्न बन्दाबन्दी समाप्त भएको मितिबाट छ महिना थप गरिदिने व्यवस्था सम्बन्धित विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले गर्न सक्नेछ । 
 
– मूल्याङ्कनको विभिन्न चरणमा रहेका एम. फिल तथा पि. एच. डी. का डिग्रीहरूलाई पूरा गराउन सम्बन्धित डीन कार्यालयले मूल्याङ्कन प्रक्रियालाई प्रभावकारी र विश्वासनीय बनाउन आवश्यक व्यवस्था गर्न सक्नेछ ।
 
उक्त प्रारुप पढ्नुहोस् : 
 

प्रतिक्रिया