गणितको सन्दर्भ : अमुक विषय थप्नुको नियतमा शंका


- शैक्षिक सत्र २०७७ देखि कक्षा ११ र १२ मा प्रयोगात्मक र बाह्य परीक्षा दुवैै मिलाएर ३० अङ्क आएमा पास हुने निर्णयले गर्दा प्रयोगात्मक परीक्षाको २५ मा २५ र सैद्धान्तिकमा ७५ मा ५ आए पनि उत्तीर्ण हुने देखिएको छ । यस्तो प्रावधानले विद्यार्थी अध्ययन प्रति झनै मेहनती नहुने निश्चित छ । 

- विगत सय वर्ष देखि एसएलसी (हाल एसईई) पछि विज्ञान समूहमा अध्ययन गर्ने विद्यार्थीले भाषा बाहेक भौतिक विज्ञान, रसायन विज्ञान, गणित र जीव विज्ञानको अध्ययन गर्दै आएका हुन् । जीव विज्ञान समूहका विद्यार्थीलाई अतिरिक्त गणित पढ्ने सुविधा पनि छ । 

- अर्थात् कक्षा ११ मा अनिवार्य गणित र कक्षा १२ मा जीव विज्ञान समूहलाई थप ऐच्छिक गणित पढ्न पाउने व्यवस्था छ । विगतमा आईएस्सी अध्ययन गर्ने विद्यार्थीका लागि पनि यस्तै व्यवस्था थियो । यस्तो खालको व्यवस्था भारतका साथै अन्य मुलुकहरुमा पनि रहेको पाइन्छ । 

- नेपालमा सञ्चालित ब्रिटिशको ए लेभल यूरोपको आईवी, भारतको सीवीएसईले पनि भौतिक शास्त्र, रसायन शास्त्र, गणित, जीव विज्ञान र कम्प्युटर जस्ता विज्ञानसँग सम्वद्ध विषयहरू अध्ययन अध्यापन गराउँदै आएका छन् । उच्च मावि तह (+२) मा विज्ञान समूहमा रही अध्ययन गर्ने विद्यार्थीका लागि यी पाँच विषय भन्दा बढीको पढाइ अपाच्य हुनु स्वाभाविक देखिन्छ ।  

- एसईई उत्तीर्ण गरे पछि करिब १० प्रतिशत विद्यार्थी मात्र विज्ञान समूहमा भर्ना हुने गरेका छन् । नेपालमा विज्ञान तथा प्रविधिसँग सम्बन्धित विषयहरूको पढाइमा सहभागी हुने कूल विद्यार्थी सङ्ख्या २० प्रतिशत देखिन्छ । द्रुत गतिले विकसित भइरहेका चिन, अष्ट्रेलिया, कोरिया आदिमा यो ३५ देखि ४० प्रतिशत सम्म रहेको देखिन्छ । त्यसर्थ यो २० प्रतिशत आफैमा निक्कै कम हो ।

नयाँ पाठ्यक्रमले कक्षा ११ र कक्षा १२ मा तिन तिन अनिवार्य विषयहरू पढ्नु पर्ने देखाएको छ । कक्षा ११ मा अङ्ग्रेजी, नेपाली र सामाजिक अध्ययन पर्दछन् भने कक्षा १२ मा अङ्ग्रेजी, नेपालीका अतिरिक्त तेस्रो विषयका रूपमा जीवनोपयोगी शिक्षा थपेको छ । त्यस्तै तिन ऐच्छिक विषयहरू बाहेक थप एक अतिरिक्त विषय पनि पढ्नु पर्ने देखाएको छ । यो व्यवस्थाले छ देखि सात वटा विषयको अध्ययन गर्नु पर्ने देखिन्छ । यो अति नै बोझिलो पाठ्य विषय हो । 

विषयहरू धेरै भए भनेर पाठ्यवस्तु (Content) कम गर्ने हो भने अर्कातिर विश्वविद्यालयको अध्ययनमा आधारभूत ज्ञानको कमी हुने देखिन्छ । यस्तो कार्यले विश्व विद्यालयहरूको पाठ्यक्रम माथि नै आघात पुर्याउन सक्छ । यस प्रकृतिको उत्पादनलाई बाहिरी विश्वविद्यालयहरूले भर्ना गर्न सङ्कोच मान्ने छन् । 

विज्ञानमा प्रमुख दुई धार हुन्छन् । पहिलो धार आधारभूत मानिन्छ भने दोस्रोलाई व्यवहारिक वा व्यवसायिक धारका रूपमा लिइन्छ । भौतिक शास्त्र, गणित, रसायन शास्त्र र जीव विज्ञान आधारभूत मानिन्छन् । तर परिवर्तित नयाँ प्रावधानले गणितलाई अत्यन्त कमजोर बनाउन खोजेको छ । किनभने कक्षा ११ मा जीव समूहका विद्यार्थीले गणित नपढे पनि हुन्छ । पढ्दा थप ऐच्छिक (Non-Credit) का रूपमा पढे पुग्छ । यसरी विज्ञान शिक्षा कसरी माथि उठ्न सक्ला ?

गणितको ज्ञान विना भौतिक र रसायन शास्त्र पनि पढ्न सकिँदैन । मेहनत गर्न नचाहने विद्यार्थी गणित नपढ्न पनि सक्दछन् । यसरी गणितको जग नै कमजोर भए पछि इञ्जिनियरिङको शिक्षामा त्यसको प्रत्यक्ष प्रभाव पर्दछ । अर्कातिर थपिएको सामाजिक अध्ययनको औचित्य स्पष्ट छैन । 

कतै यस भित्र पूँजीवाद र समाजवाद पढाउने नियत त लुकेको छैन ? 

यस्ता कुराले विज्ञान पढेर वैज्ञानिक जगतमा रमाउन खोज्ने विद्यार्थीका लागि के काम दिन्छ ? 

विज्ञानका विद्यार्थीको लागि गणित र कम्प्युटर जस्ता विषय जीवनोपयोगी हुन्छन् । कक्षा १२ मा पढाउने भनेको जीवन उपयोगी शिक्षामा के कस्ता विषय अध्ययन गराउने ? 

अनि ती अमुक विषयहरू कस्ता योग्यता भएका व्यक्तिले पढाउने ? 

जनशक्ति कुन हो र कति छ ?

शैक्षिक प्रमाणपत्रधारी पार्टीका कार्यकर्तालाई जागिर खुवाउने नियत त लुकेको छैन ? यसको उत्तर आउने ठाउँ देखिँदैन ।

सामाजिक र जीवनोपयोगी शिक्षा पढ्न चाहनेहरूका लागि उनीहरूको सुविधाको विद्यालय नभई जहाँ यी विषयहरूको अध्ययन गर्न पाउने सुविधा मिलाइएको छ, तिनै विद्यालयमा जाने व्यवस्था हुनु पर्छ । विज्ञानका विद्यार्थीले कक्षा ११ मा गणित नपढेका कारणले जीव विज्ञान समूहमा (Medical Sciences -MBBS, BDS, Etc) र साधारण BSc को Bio-group बाहेकका विषयको अध्ययन गर्न पाउने छैनन् । पाउने विषयहरूमा पनि गणितको ज्ञानको कमीले तिनको अध्ययनको स्तर राम्रो हुने छैन । त्यस्तै ११ मा १०० पूर्णाङ्कको गणित पढेका कारणले तिनले BSC-CSIT-TU कृषि तथा वन विज्ञानमा अध्ययन गरेका छन् । कक्षा ११ मा जीव विज्ञान पढ्नेले गणित नपढ्दा यी सुविधा पाउने छैनन् । नेपाल लगायत विश्वका जुनसुकै विश्व विद्यालयमा स्नातक तहको प्राविधिक र व्यवस्थापन विषयको पाठ्यक्रममा गणित र तथ्याङ्कको पढाइ अनिवार्य रूपमा रहेको हुन्छ । गणितको जग नै कमजोर भए पछि विद्यार्थीले यस्ता विषय कसरी पढलान् ? 

यो नयाँ प्रावधानले विद्यालय शिक्षाको गुणस्तरमा कमी आउने देखिएकाले क्षमता भएका अभिभावक र विद्यार्थी विदेशी शैक्षिक संस्थाहरूमा भर्ना हुने अथवा नेपाल बाहिर जाने हुँदा ठुलो मात्रामा नेपाली मुद्रा विदेशिने निश्चित छ । त्यसै पनि गत वर्ष (२०७५÷७६) मा करिब ६३ हजार विद्यार्थी गुणस्तरीय शिक्षाका लागि भारत बाहेकका अस्टे«लिया, अमेरिका, यूरोप आदि मूलूकमा गएको तथ्याङ्क छ । यसरी गुणस्तरीय शिक्षाकै लागि खरबांै रकम विदेशिएको तथ्य सबैलाई अवगतै छ । अझ यो नयाँ प्रारूपले मुद्राको वहिर्गमनमा झनै वृद्धि हुने देखिन्छ । 

विश्व बजारमा ख्याति प्राप्त विश्व विद्यालयहरू र मित्र राष्ट्रहरूबाट प्राप्त छात्रवृत्तिमा जाने र नेपालको इज्जत राख्ने अध्ययन र अनुसन्धान गरी वैयक्तिक रूपमा नाम कमाउनका साथै देशको इज्जत राख्न सक्ने जनशक्ति यो सुविधाबाट लाभान्वित हुने छैनन् । यस्ता विश्व विद्यालयले गणित विषय नपढेका र विज्ञान विषयको कम अध्ययन गरेकालाई ग्राह्यता दिने छैनन् । 

गणित विषय विद्यालय तहको अभिन्न अङ्ग हो । सरकारले कक्षा ११ र १२ लाई विद्यालय तहमा ल्याए पछि भाषा, गणित, विज्ञान अनिवार्य हुनु पर्ने थियो । व्यवस्थापन सङ्कायमा पढ्ने विद्यार्थीले कि अर्थशास्त्र कि वाणिज्य रोज्नु पर्ने व्यवस्थाले गणितलाई नजर अन्दाज गरेको देखिन्छ । 

प्रविधिको विस्तार सँगै आज STEM (Science, Technology, Engineering and Mathematics) को विकास तीव्र गतिले भइरहेको छ । नेपालमा भने नीतिमा STEM को कुरा गर्ने तर यसका विपरीत व्यवहारमा गणितलाई स्थान नदिने कार्य आपैmँमा विरोधभास पूर्ण छ । गणित विना विज्ञान र प्रविधि सम्भव छैन, विज्ञान र प्रविधि विना समृद्धि कसरी प्राप्त होला ?

दुर्गम स्थानमा साधन र स्रोतको उपलब्धताको आधारमा विषयहरुको छनोट गरिने प्रावधानले गणितको पढाइ नहुन पनि सक्दछ । गरिब र जेहन्दार विद्यार्थीका लागि गणितको पढाइ नहुन पनि सक्दछ । जसले गर्दा गरिब र जेहन्दार विद्यार्थीले समेत गणितबाट विमुख हुनु पर्ने अवस्था छ । तिन तिन वटा अनिवार्य विषयको बोझ बोकाउनु पनि सान्दर्भिक छैन । बरु जुनसुकै समूह अन्तर्गत अध्ययन गरे पनि विद्यार्थीलाई तिनको अध्ययन क्षेत्रका लागि उपयोगी वा सहयोगी बन्ने विषयहरू पो अनिवार्य गरिनु पर्छ । दातृ संस्थाको दबावमा गणितमा फेल भए भनेर गणितलाई नै हटाउनु भनेको विश्व बजारमा मजदूर उत्पादन गर्ने बाहेक अरू के  हुन सक्छ ? 

अर्का तर्फ कक्षा १२ को समाप्ति पछि विद्यार्थी विश्वविद्यालयका विभिन्न सङ्काय र Institute हरूमा जाने भएकाले त्यसलाई दृष्टिगत गरी सम्बन्धित विभागका विज्ञसँग सुझाव लिनु पर्नेमा सो नगरी केही स्वनाम धन्य स्वघोषित विज्ञसँगको परामर्शले मात्र तयार पारिएको प्रारूपले शिक्षाको गुणस्तर खस्किएर अपाङ्ग होला भन्ने डर पनि त्यत्तिकै छ, किनभने आजको युगमा गणितको सर्व व्यापकता स्वतः सिद्ध छ । हुन पनि GRE, SAT, Competitive examination हरूमा गणितको त्यतिकै आवश्यकता छ । त्यसैले ११ र १२ कक्षाको शिक्षालाई आधारभूत स्कुल भन्ने वा विश्वविद्यालयीय प्रवेशकोे आधार मान्ने भन्नेबारे उत्पन्न प्रश्नको जवाफ कसले दिने ?

अन्तमा पढ्ने विषय जानाजान सजिलो खोज्ने होइन । ज्ञान प्राप्तिका निम्ति मेहनत गर्ने बानी बसाउनु पर्छ । फेल भएँ भनेर गणित हटाउने होइन बरु शिक्षकलाई आवश्यक तालिमको व्यवस्था मिलाएर गणितको स्तर उकास्नु पर्दछ ।

गेसपेपर र पुराना प्रश्नहरूको उत्तर मात्र पढेर स्तर बढ्दैन । त्यसका निम्ति स्तरीय पाठ्यक्रम र पाठ्य पुस्तक पनि हुनु पर्दछ । भाषालाई अनिवार्य गरेर बाँकी सबै विषयहरुलाई चार वटा ऐच्छिक समूहमा राखि दिने हो भने सामाजिक, गणित, जीवनपयोगी शिक्षा आदि विषयहरू प्रत्येकले आआफ्नो रुचि अनुसार पढ्न पाउँछन् । विज्ञान विषय पढ्न रुचि हुनेले विज्ञानकै विषयहरू छान्छन् । धेरै विषय पढाएर गुणस्तर बढ्दैन । पाठ्यक्रम निर्धारण गर्दा बर्सौ देखि चलि आएको परिपाटीलाई समाप्त पार्ने होइन, त्यसलाई युगानुकुल  सुधार गर्दै अगाडि बढ्नु पर्छ । यसका साथ साथै छिमेकी मुलुकको पाठ्यक्रम पनि अवलोकन गर्नु पर्दछ । 

विद्यार्थीले पढ्न चाहेका विषयहरू पढ्न पाउनु पर्यो भने नचाहने विषयहरू पनि छाड्न पाउनु पर्यो । वलात् तोकिएका विषय परिधि भित्र रहेर मात्र पढ्न पाइन्छ भन्ने हठ त्याग्नुमा नै कल्याण हुने देखिन्छ । यसर्थ अनिवार्य विषयहरू घटाउनु नितान्त जरुरी देखिन्छ । 

हालै प्रकाशित कक्षा ११ र १२ को गणितको पाठ्यक्रम पहिलेको तुलनामा केही थपिएर आएको छ । तर ती कक्षाहरूमा पाठ्य विषयको सजिलो र अप्ठेरोको  क्रम नमिलेकाले विद्यार्थी गणित शिक्षा प्रति निरुत्साहित हुने छन् । पाठ्यक्रम परिवर्तनका नाममा पटक पटक ११ को पाठलाई १२ र १२ को लाई ११ मा लैजाने क्रम यथावत् छ ।  समय सापेक्ष नयाँ कुरा थप्ने र असान्दर्भिकलाई हटाउनुु पर्नेमा त्यसो गरेकोे देखिँदैन । 

घिमिरे, नेशनल ईन्ष्टिच्युट अफ साईन्स (निष्ट) मा कार्यरत छन् ।