Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

विद्यालय खोल्न हैन, सिकाइ निरन्तरताका लागि हतार गरौं

मंगलबार, ०२ भदौ २०७७

कोराना भाइरस (कोभिड - १९) महामारीका कारण सामाजिक, आर्थिक देखि मानव जीवनका हरेक क्षेत्रमा प्रभाव परेको छ । लकडाउनको अन्त्य पछि पुन लयमा आउन थालेको सामाजिक व्यवस्थामा पुन कोरना भाइरस सामामजिक रुपमा नै फैलिन थालेको संकेतले सबै तिर डर त्रास फैलिएको छ । शिक्षा क्षेत्र तथा शैक्षिक संस्थाहरुमा देखिन थालेको चहल पहल पुन सुनसान हुने तर्फ लागेको छ । विद्यालयहरु खोलिने र सामान्य अवस्थामा आउने आशामा रहेका अभिभावकलाई पुनः निरास बनाएको छ । बालबालिकाहरु घरमा रहनु पर्ने समय अझै लम्बिदो छ । विद्यालयमा पढ्दै गरेका बालबालिका यति लामो समय घरमा नै बस्दा बिग्रिने हुन् कि भन्ने चिन्ताले अभिभावकहरुलाई सताएको छ । स्वतन्त्र रुपले घुमफिर गर्न पाउने देखेर केही रमाउन थालेका बालबालिका पुनः घरमै थुनिएर बस्नु पर्ने बाध्यता भएको छ । एकातर्फ बालबालिकालाई कोरना भाइरस संक्रमण हुनबाट बचाउन र घरका अन्य सदस्यलाई सार्ने माध्यम हुन नदिन सचेत हुनु पर्ने त छँदै छ, भने घरमै रहेको अवस्थामा पनि समयको सदुपयोग गर्न ध्यान दिनु पर्ने आवश्यकता परेको छ । 

कोरना भाइरसको असर के कति पर्ने हो ? यसको प्रभाव कहिले सम्म रहने हो ? पूर्वानुमान गर्न सकिने खालको छैन । यसको अर्थ हाम्रा विद्यालय कहिलेसम्म बन्द हुने हुन् ? र कहिले देखि हाम्रा बालबालिका नियमित सिकाइको लागि विद्यालय जान पाउने हुन् भन्न सकिने अवस्था छैन । 

कालो बादलमा चाँदीको घेरा जस्तै हरेक विपत्तिले एक न एक सम्भावना पनि बोकेर ल्याएको हुन्छ । २०७२ सालमा आएको भुकम्पले पनि केही सकारात्मक पक्ष छाडेर गएको थियो । नयाँ संरचना बनाउँदा ख्याल गर्नु पर्ने कुरा मात्र होइन, विपत्तिमा सबै मान्छे समान छन्, धन र सम्पन्नताले कोरेको पर्खाल सधै कामयावी हुन सक्दैन भन्ने मानवीयताका पक्षहरु पनि समाजलाई सिकाएको थियो । 

विज्ञानले एक न एक दिन यो भाइरसलाई परास्त गर्न सफल हने छ । यो माहामारीले पनि केही सकारात्मक पक्षहरु पक्कै छाड्ने छ । विगतमा नियमित एकै गतिमा चलिरहेको अवस्थामा शिक्षाको लागि हामीले गर्दै आएका कार्यहरुको वास्तविक समिक्षा हुन पाएको थिएन । यस बन्दाबन्दीले हाम्रा शैक्षिक अभ्यासहरुमा समिक्षा गर्ने मौका दिलाएको छ । विद्यालय बन्द भएर बालबालिका परिवारसँगै बस्नु पर्ने अवस्थामा अभिभावकमा विद्यालयको सिकाइमा मात्र भर परेर हुँदो रहेनछ, विभिन्न पुरक सिकाइका प्रक्रियाहरु तौर तरिकाहरु पनि चाहिँदा रहेछन्, अभिभावक आँफै पनि बालबालिकालाको सिकाइमा सहयोग गर्न लाग्नु पर्दो रहेछ भन्ने महशुस गराएको छ । यस अवसरमा केही मात्रमा भए पनि बालबालिकाले घरमै भए पनि चाहेका कार्यहरु गर्ने, उपलब्ध भएमा चाहेको पुस्तक पढ्ने, सकारात्मक, सिर्जनात्मक कार्यमा लाग्ने, आँपैm उत्प्रेरित भएर सिक्ने, डिजिटल सामग्रीको प्रयोगबाट सिक्ने, दैनिक व्यवहारिक कुरा सिक्ने मौका पनि प्राप्त भएको छ । 

सिक्ने भन्ने कुरा विद्यालयमा गएर, तोकिएका बर्षको ७⁄८ वटा किताब पढेर मात्र हुने कुरा पनि होइन । हिजोको जस्तो ज्ञान किताबमा मात्र सिमित पनि छैन । हिजोको भन्दा समाज बदलिएको छ, किताब, शिक्षक तथा अग्रजले भनेको सुनेर मात्र सिक्न सकिने बाध्यता पनि अहिले छैन । ज्ञान सीप किताव र शिक्षकको प्रवचनमा मात्र सिमित पनि छैन । ज्ञान सीपको दृष्टिले विश्व च्याप्टो भएको छ । सेण्डिकेटका पर्खालहरु भत्केका छन् । शहर बजार र कुलीन परिवारमा बस्नेले मात्र पाउन सक्ने ज्ञान अव साधारण परिवारको बालबालिकाको पहुँचमा समेत पुगेको छ । भर्चुअल विश्व खडा भएको छ । पुस्तक पढेर भन्दा सजिलै डकुमेण्ट्री र विद्युतीय सामग्री, ईण्टरनेट, सामाजिक सञ्जाल, ई–पुस्तकालयबाट पनि सिक्न र जान्न सकिने अवस्था आएको छ । किताब नपढेर मोवाइलमा मग्न भएको बाबालिकालाई पनि खराब लतमा फस्यो कि ? नराम्रा बानी मात्र निर्माण ग¥यो कि ? सिकाइमा ध्यान दिएन कि ? भनेर शंका गर्न नमिल्ने भएको छ । भविष्यको बारेमा सचेत भएन कि ? भनेर डराइहाल्नु पर्ने अवस्था पनि छैन । एण्ड्रोइड मोवाइलमा झुम्मिएको छ भने, कुनै भाषा सिकिरहेको, डिजिटल नक्साबाट विश्वको कुना काप्चाको भौगोलिक अवस्थाको बारेमा जानकारी लिइरहेको, कुनै अपरिचत समुदायका विविध पक्षको जानकारी लिइरहेको, गणितीय सीप बढ्ने खेल खेलिरहेको, पाठ्यपुस्तकमा भएको शीर्षकमा प्रष्ट हुन सजिलो तरिकाले सिकिरहेको, थप ज्ञान लिइरहेको पनि हुन सक्ने  भएको छ । अभिभावकहरु आप्mनो बालबालिका निश्चित समय मोवाइलमा लाग्दैमा डराउनु भन्दा के कार्यको लागि मोवाइल तथा अन्य स्क्रिनको प्रयोग गरेको छ ? भन्ने जिज्ञासा राख्नुपर्ने र यदि अनावश्यक कुरामा समय खर्चेको जानकारी भएमा उपयोगी कुराको लागि उत्प्रेरित गर्नु पर्ने आवश्यकता सिर्जना भएको छ । 

हाम्रा बालबालिका बिद्यालयको लागि बोकाइने पुस्तकका भारी, पढाइने र घोकाइने बिषयबस्तुले थिचिएका छन् । घर देखि  विद्यालय, विद्यालय देखि घरको यात्रा गर्दा गर्दै, गृहकार्य र परीक्षा भन्दा भन्दै जीवनयापनको लागि सिक्न पुर्ने आधारभूत ज्ञान, सीप व्यवहार सिक्नबाट नै बञ्चित भएका थिए । खाना पकाउन, भाँडा माभ्mन, घर, शौचालय सफागर्न, कपडा धुन पनि हरेक व्यक्तिले जान्नै पर्दछ । घरपरिवारले गर्दै आएका व्यवसाय, इलम तथा कार्यसँग सम्वन्धित ज्ञान सीपसंग पनि बालबालिका परिचित हुनु पर्दछ । औपचारिक शिक्षाको थालनी हुनु भन्दा पहिला तथा विद्यालयले शिक्षाको जिम्मा लिनु भन्दा पहिला पनि पहिलो पुस्ताले दोस्रो पुस्तामा आप्mनो पुस्ताले आर्जन गरेका अनुभवहरु हस्तान्तरण हुँदै आएका थिए । पाँच छ महिना तथा एकै बर्ष विद्यालयले ज्ञान बढ्ने र बालबालिकाले लिने कार्य रोकिँदैमा जहाजै डुब्ने पनि होइन । कतिपय पश्चिमा तथा पुर्वीय शिक्षाविद्हरुले विद्यालयका पर्खालहरु भत्काउ, बालबालिकालाई प्राकृतिक रुपमा तथा स्वतन्त्ररुपमा सिक्ने मौका देउ भनेकै थिए । त्यति मात्र होइन खोटाङमा व्यवहारिक शिक्षा दिदै आएका कृषि बैज्ञानिक मदन राइले समेत हाम्रा ८० लाख विद्यार्थीको भविष्य विद्यालय शिक्षाको नाममा वरवाद भैरहेको छ भनेकै छन् ।  

धेरै व्यक्तिहरु विद्यालय खोल्न हतारिएको पनि देखिन्छ । सामुदायिक भन्दा संस्थागत विद्यालयहरु त झनै तत्काल बालबालिकाहरु विद्यालयमा भर्ना गर्न पाउनु पर्छ भनेर लागिरहेका छन् । हतारिनु पर्ने विद्यालय खोल्न हैन कि हाम्रा नयाँ पुस्तालाई ज्ञान सीप सिकाउन हो । अहिले र जहिले पनि हामी विद्यालयमा बालबालिका जम्मा गर्न भन्दा पनि बालबालिकालाई जीवन जिउने सीप सिकाउन, उ भित्र रहेको क्षमतालाई उजागर गर्न, म संग क्षमता छ, मैले केही गर्न सक्छु भन्ने आवत्मविश्वास जगाउन, समालोचनात्मक चिन्तन विकास गराउन ढिला गर्नु हुदैन । यस्ता सीप र क्षमताहरु विद्यालयमा मात्र होइन घरमा पनि विकास गराउन सकिन्छ । 

अझै पनि हाम्रो परिवारमा छोरा र छोरी बीचमा समान व्यवहार गरिदैन । जानेर वा नजानेर दैनिक व्यवहारका काममा छोरा र छोरीको लागि अलग्गै सिमारेखा निर्माण गरिएको छ । छोराले खाना पकाउन, भाँडा माभ्mन, कपडा धुन नहुने । छोरीले शारीरिक व्यायाम हुने खालका कार्यहरु गर्न, खेल खेल्न नहुने भन्ने मान्यता अझै छन् । छोराले शारीरिक कसरत हुने खेलहरु खेलेको देख्दा, गफ चुटेको देख्दा बाबुआमा खुसी हुने, छोरी भने ठीक त्यसको विपरित पुतली जस्तै खाना पकाउने, कपडाधुने भाडा सफा गर्ने जस्ता कार्यमा चुपचाप लागिरहदा लक्षिनकी छोरी भन्ने जस्ता व्यवहार हाम्रा परिवारमा भैरहेका छन् । घरमा सवै सँगै रहने अवस्थामा यस्ता विभेदहरु हटाउने र छोरा छोरी वास्तवमै समान छन् भन्ने व्यवहारिक ज्ञान दिन सकिने अवस्था अहिले छ । 

धेरै बालबालिका शहरबाट गाउँ, बाबुआमा जन्मेको ठाउँ जाने मौका पाएका छन् । यस मौकामा अभिभावकलाई त्यस ठाउँमा आफुले बाल्यकालमा संगालेका अनुभवहरु सप्रमाण प्रस्तुत गर्न पाउने, त्यस ठाउँका विभिन्न पक्षको जानकारी दिन सकिने अवसर पनि प्राप्त भएको छ । आफुले खाएका खानका परिकारहरु खुवाउने, कसरी बन्यो ? कहाँ उत्पादन भयो ? त्यसका फाइदा बेफाइदाको बारेमा जानकारी दिने मौका पनि अहिले मिलेको छ ।  

जातिको आधारमा उच र निच, छुवाछुत, अन्धविश्वास जस्ता कुरामा पहिलो पुस्ता भन्दा हाम्रा नयाँ पुस्ता उदार, तथस्ट र निरपेक्ष छन् । यति हुँदा हुदै पनि कतिपय परिवारमा शारीरिक श्रम गरेर खाने कुनै जाति समुदाय, वा आर्थिक रुपमा पछाडि परेका व्यक्तिलाई हेयको दृष्टिले हेर्ने, त्यस्ता परिवार तथा व्यक्ति भन्दा हामी स्वतः माथि भएको भ्रम सिर्जना गर्ने खालका मिथक, भाष्यहरु परिवारले सिकाइरहेका छन् । बालबालिकामा श्रमप्रति सम्मान गर्ने, वैज्ञानिक सोच, समालोचनात्मक चिन्तन विकास गराउने, पूर्व धारणा विना स्वतन्त्र र तठस्थ तरिकाले कुनै कुरालाई हेर्न, सोच्न, विश्लेषण गर्न र केलाउन सक्ने बनाउन सक्ने हो भने त्यो निकै ठूलो उपलब्धि हुने छ ।  

कतिपय अभिभावकले आफुले गर्न नसकेका र प्राप्त गर्न नसेका उपलब्धीहरु बाबालिकामा प्राप्त हुन भनेर थोपर्ने, दवाव दिने गरेको पनि देखिन्छ । आफु गफ चुटेर बस्ने, तास खेलेर समय विताउने तर बालबालिका भने सँधै पुस्तकमा लिन होस भन्ने चाहना राख्ने । बालबालिकालाई सिकाउनको लागि अभिभावकले पनि सिक्ने, स्वतन्त्र ढंगले सोच्ने, नयाँ कुरामा उत्सुकता देखाउने, कुनै विषयमा नयाँ ज्ञान प्राप्त गर्न प्रयास गर्ने कार्य गर्नुपर्ने हुन्छ । बालबालिकालाई बेवास्ता गर्ने, यिनीहरु केही जान्दैनन् भन्ने सोच राख्ने, बालबालिकाका नकारात्मक पक्षहरुमात्र देख्ने, बालबालिकालाई  कमजोर छन् भन्ने भावना व्यक्त गर्ने, अन्य बालबालिकासँग तुलना गर्ने जस्ता व्यवहारबाट बालबालिकालाई सिकाउन र असल मार्गमा लगाउन सम्भव छैन । बाबालिकामा केही न केही क्षमता छ, केही पक्षमा आफु भन्दा अगाडि छन् भन्ने सोच राख्ने र उनीहरुबाट पनि सिक्ने प्रयास गरियो भने पक्कै पनि पहिलो पुस्ता तथा आमाबाबुबाट पनि बालबालिकाले सिक्ने प्रयास गर्दछन् । अभिभावकले पनि आफुले आर्जन गरेका ज्ञान सीप, आदर्श बाबालिकालाई सिकाउन, सिर्जनात्मक सीप विकास गराउन सम्भव छ । अभिभावकले व्यवस्थित प्रयास गर्ने हो भने नयाँ पुस्ता अनुशासन विहिन उग्र, भनेको नटेर्ने, विद्रोही पक्कै बन्दैनन् । बालबालिका बाबुआमा भन्दा एक पाइला अगाडि छन् र हुन्छन् पनि । 

अनलाईन शिक्षा सम्वन्धमा विभिन्न भ्रमहरु पनि फैलिए । आफुले प्रयास नगर्ने अरुले गरेको प्रयास पनि देख्न नचाहने हरुले यस्ता भ्रमहरु फैलाइरहेका छन् । कोभिड १९ बाट बढी प्रभावित युरोपियन, अमेरिकी देशहरुले बालबालिकको शिक्षालाई निरन्तरता दिन, सिकाइमा हुने क्षति कम गर्न अनलाईन कक्षाहरु सञ्चालन गरिरहेका छन् । हामी उही कक्षा कोठा, कालोपाटी, चक डष्टरको माध्यमबाट सुगा रटाइमा अभ्यस्तहरुलाई टेलिफोन, टेलिभिजन, रेडियो, एफएम, छलफल, अन्तरक्रिया र अनलाईन मार्फत बालबालिकालाई कक्षाहरु सञ्चालन गर्नु पर्दा केहि समस्या आउनु, प्रभावकारी नभए जस्तो लाग्नु पनि स्वभाविकै हो । 

अनलाईन तथा डिजिटल सिकाइ गर्न हाम्रा सबै बालबालिकाको डिजिटल संसारमा तथा अनलाईन सिकाइमा पहुँच नभएको पनि यथार्थ हो । केही शिक्षकका पेशागत संस्था र केहि आफुलाई बालबालिकको सिकाइको लागि जिम्मेवार ठान्ने शिक्षकहरुले सिकाइलाई निरन्तरता दिन हर किसिमले प्रयास पनि गरिरहेका छन् । स्थानीय सरककार, प्रदेश सरकार र केन्द्रीय सरकारले सयुक्त पहल गर्ने, विद्यालयहरु, शिक्षकहरु, शिक्षा क्षेत्रका जनशक्ति जिम्मेवार भएर, खट्ने हो भने अहिलेको अवस्थामा पनि बाबालिकाको सिकाइलाई निरन्तरता दिन सकिन्छ । 

अहिले विद्यालय खोल्न हतार गर्नु भन्दा पनि सबै मिलेर बालबालिकाको सिकाइलाई निरन्तरता दिन हतार गर्नु पर्ने आवश्यकता छ ।  

शिक्षा मन्त्रालयका उपसचिव शर्मा शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख हुन् । 

[email protected]

प्रतिक्रिया