Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

उत्तर पुस्तिका नष्ट गर्ने विरुद्ध उजुरी

आइतबार, ०७ भदौ २०७७

काठमाडौं - विवादास्पद परीक्षाको उत्तर पुस्तिका नष्ट गरेको भन्दै दुई प्राध्यापक विरुद्ध अख्तियारमा उजुरी गरिएको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. रामप्रसाद खतिवडा र भौतिक शास्त्र विषय स्थायी समितिका अध्यक्ष प्रा.डा. विनिल अर्याल विरुद्ध उजुरी गरिएको हो । 

घटनाका बारेमा विद्यार्थी हकहित संरक्षण समिति  गठन गरेरै संघर्ष गर्दै आएका विद्यार्थीहरुका तर्फबाट समितिका संयोजक आशिष पौडेलले उनीहरु विरुद्ध अख्तियारमा उजुरी गरेका हुन् । 

‘परिक्षाको उत्तरपुस्तिका नष्ट गरि सकिएको भनि जवाफ फिराएको म निवेदकले नक्कल सारी लिएको मिति २०७७/५/३ मा थाहा पाएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १२ अनुसार दण्डनीय कार्य रहेको हुँदा यो उजुरी गरेको छु ।’ प्रा.डा. द्वय खतिवडा र अर्यालले परीक्षाको उत्तरपुस्तिका नष्ट गरि सकिएको भनी जवाफ दिए पछि निवेदन अख्तियारमा दायर गरेको पत्रमा भनिएको छ । 

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय अन्तर्गत स्नातकोत्तर तह भौतिक शास्त्र प्रथम सेमेष्टरको एमएससी क्वान्टम मेकानिक्स पहिलो (I) फिजिक्स, ५०३ (Msc Quantum Mechanics I, Phy, 503)  को २०७५ पुस २९ गते परीक्षा सञ्चालन भएको थियो । सो परीक्षाको सम्बन्धमा विवाद उठेको थियो ।

उक्त विषयको परीक्षाको परीक्षा केन्द्र महेन्द्ररत्न क्याम्पस ताहाचलमा तोकिएको थियो । उक्त परीक्षाको दिन केही विद्यार्थीले उक्त भौतिक शास्त्र विषयको प्रश्नपत्र पाठ्यक्रम भन्दा बाहिरबाट आएको भनी परीक्षाको अवज्ञा गरेका थिए । सो दिनको परीक्षा बदर गरी पुनः परीक्षा हुनुपर्ने परीक्षार्थीले माग गरेका थिए ।

उक्त विवादास्पद परीक्षा सम्बन्धि उत्तरपुस्तिका लगायत परीक्षासँग सम्बन्धित सम्पुर्ण प्रतिवेदनहरु नधुल्याइकन सुरक्षित रुपमा राख्नका लागि राष्ट्रिय सतर्कता केन्द्रले समेत निर्देशन दिएको थियो । केन्द्रले २०७६/६/३० मा पहिलो पटक पत्र पठाएको र पुनः २०७६/७/२१ गते पत्रमार्फत ताकेता समेतका लागि निर्देशन दिएको थियो ।

यति मात्र नभएर राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षको नाउँमा आदेश समेत जारी गरेको थियो । आयोगले २०७६/६/१४ को पत्र मार्फत र आयोगको इजलाशको २०७६/१२/६ को ३४४ नं. को निर्णयले पनि विवादास्पद उत्तरपुस्तिका नधुल्याउन आदेश दिएको थियो ।

प्रा. डा. द्वय खतिवडा र अर्यालले सतर्कता केन्द्र र राष्ट्रिय सूचना आयोगको आदेश विपरीत विवादास्पद परीक्षा सम्बन्धी प्रतिवेदन, उत्तरपुस्तिका तथा अभिलेखहरु धुल्याइएको हुँदा उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिमको कसुरमा सजायको माग गरी उजुरी परेको हो । खतिवडा र अर्यालको सो काम मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ र दफा ९३ बमोजिम समेत वर्जित कार्य भित्र पर्ने उजुरीमा उल्लेख छ । 

यो घटनाक्रम बुझ्नका लागि यो खबर पनि पढ्नुहोस् : विवादित उत्तर पुस्तिका धुल्याउन रोक

प्रतिक्रिया