ज्यान, सिकाइ, सत्र के जोगाउने ?


“शिक्षाले रुप र सार छासमिस पारिदिन्छ.. .अनि विद्यार्थी पढाइ र सिकाइ, शिक्षा र कक्षोन्नति, ल्याकत र प्रमाण–पत्र घोकाइ र केही नयाँ गर्ने क्षमता बीचको भेद थाहा नपाउने हुन्छन् । त्यसलाई सफलता मानिन्छ ।”

अहिले शैक्षिक सत्र खेर जान नदिने भन्ने मूतको पहिरोले इभान इलिचको यो भनाइको सम्झना गराउँछ । इलिच शिक्षाले ल्याएका नकारात्मक पक्षहरुको शायद सबै भन्दा गहीरो र बृहत् परिदृश्यमा आलोचना गर्ने अमेरिकी विद्वान् हुन् । उनले व्यक्त गरेका धारणाको वैशाखीमा टेकेर शिक्षाको अहिलेको अलमल सारमा भन्दा रुपमा जोड दिने जडसूत्रका कारण भएको हो । प्रणाली नै यस्तै भएकाले मन्त्रालय र विभाग केही नयाँ गर्ने क्षमता नभएकाहरुले भरिएको छ भनेर एक्ल्याएर दोष्याउन पनि मिल्दैन । समाज र सरकार एक अर्काका प्रतिबिम्ब हुन् । 

अहिले शैक्षिक सत्र होइन ज्यान जोगाउने कुरो छ । ज्यान जोगाउने भन्दा ठूलो शिक्षा के हुन सक्छ ? अहिलेको मुख्य समस्या भनेको कति सम्म काम नगरी हामी सबैले तलब खाइ रहने भन्ने नै हो । यस मामलामा शिक्षक र अरु कर्मचारीमा खास फरक छैन किनभने सबैले घर बसेर कोरोना–बिदा मनाएकै हुन् । त्यति बेला पनि कार्यालय जानु पर्नेहरुले (काम कति गरियो त आफै जानुन्) अतिरिक्त काम गरे सरह भत्ता पाएकै हुन् । नियुक्ति पाइसके पछि बर्खास्तमा नपरी वा राजीनामा नदिइ वा उमेर नपुगे सम्म काम गरे पनि नगरे पनि तलब खाने हक नै हो भन्ने लाग्दा पनि शैक्षिक सत्र भनेर दिइने अनुदान आदि के गर्ने भन्ने अलमल भने बाँकी रहन्छ । सिकाइ र त्यसको कर्मकाण्डलाई छुट्याएर हेर्ने हो भने निकै सहज हुन्छ । 

कक्षा ५ सम्म परीक्षाको कुरा गर्नै पर्दैन । ३ कक्षा भन्दा माथि गएर २ वर्ष उमेर गुजारेका केटाकेटीलाई ६ कक्षामा भर्ना लिन केही डराउनु पर्दैन । ६ कक्षाको पहिलो त्रैमासिक यस वर्षका लागि अघिल्लो वर्षका पाठ जानेर मात्र गर्न सकिने विषय अद्यावधिक गर्न बिताउनु पर्छ । कक्षा ६ देखि ८ सम्म जाँच लिनु अघि अघिल्लो छुटेको वर्षको ३ महिना क्य्रास कोर्स गरी जाँच लिन सकिन्छ । कानूनी प्रयोजन हटाउनै पनि सकिन्छ, नभए पनि पछि स्थिति सामान्य भए पछि आठ कक्षाको छुट्टै जाँच लिन सकिन्छ । ९– १२ मा पनि यसो गर्न सकिन्छ । कक्षोन्नति गर्ने कुरामा त्यति मक्खीचूस भइ रहनु पर्ने जरूरी छैन । 

प्रायशः न कामका लागि न थप अध्ययनका लागि प्रमाण–पत्र मान्य हुन्छ । कक्षा ०–३  मा भर्ना गर्ने, पुस्तक दिने, शिक्षकले वैकल्पिक भनिएको विधिबाट नै पढाउने । अभिभावकलाई पनि बताउने र बेलाबेला अभिभावक कहाँ नै पुग्ने । यो एक वर्ष औपचारिक रुपमा विद्यालय चलाउन नसकिएको स्थितिलाई ध्यानमा राखेर गरिएको हो भन्ने हेक्का राख्नु पर्यो । यसका लागि कानूनी अड्चन छन् भने फुकाउनु चाहिँ पर्यो । कक्षा जाँच आदि कति कुरा रुपलाई नै सार मानेर गरिएका हुन् । यिनलाई फेर्दा शिक्षामा तात्विक फरक पर्दैन । सके सत्र जोगाउने, नसके सिकाइ जोगाउने, त्यो पनि नसके ज्यान जोगाउने शिक्षा दिने । 

सरकारले शिक्षक विद्यालय पुग्न सक्ने जति सुरक्षा प्रबन्ध गरिदिनु पर्यो । खासगरी कोरोना बीमा, शङ्का लागे पीसीआर गराउन पाउने व्यवस्था र क्वारेण्टाईनमा बस्नै परे चाहिँ त्यसलाई विद्यालयमा हाजिर सरह  मान्ने व्यवस्था । पक्कै पनि यति गरे पछि शिक्षक शिक्षणमा रहने कि नरहने सम्बन्धित व्यक्तिको छनौट हो । यसो गर्दा पनि आउन नचाहनेलाई बेतलबी विदा वा अवकाश दिन सकिन्छ । यी सबै कामको शासकीय व्यवस्था भने स्थानीय तहबाट नै गरिनु पर्छ । कति अवस्थामा विद्यालय अनुसार पनि नियम बनाउनु पर्ने हुन्छ । अनलाइन कक्षा सहितका योजना पालिका तहमा नै गरिनु पर्छ । कुन विद्यालय  किन र कति खोल्ने वा  शिक्षकले के गर्ने पालिका र शिक्षकको सहमतिमा गर्न सकिने वातावरण बनाई दिनु पर्छ । अहिले अरु काम पर्याप्त नभएको अवस्थाका सरकारले गर्न चाहने हो भने मन्त्रालय÷विभागले अलि वरिष्ठ कर्मचारी पालिका पठाउन सक्छ ।

अर्को, माथिल्ला कक्षामा विषय कसरी पढाउने निहुँ पनि निस्कन्छ । यो गुम्न लाग्यो भनिएको सत्रमा उपलब्ध शिक्षकको दक्षताका विषयमा मात्र सघन पढाइ गर्न सकिन्छ । हालै सरकारले जीवनोपयोगी सिप पाठ्यक्रम लागू गर्न खोजेको छ । यसलाई विद्यार्थीले वा अभिभावकले जान्न चाहेका कुनै सिप पनि सिकाएर त्यसलाई मान्यता दिन सकिन्छ । इलिचले जस्तो साँच्चै विद्यालय निर्माण गर्न नसकिए पनि उनले भन्ने ‘सिकाइ सञ्जाल’ मा ध्यान दिनु पर्ने बेला आएको छ । आखिर त्यो प्रमाण–पत्र÷डिग्रीको गौरव कायम गर्ने कुरा गरिन्छ तर त्यो प्रमाण–पत्र वा भनौ अझै पढेकै विषय पढिसक्दा काम लागेन भने त्यसको जिम्मेवारी कसले लिन्छ ? विचार गर्ने अवसर होइन र ?

सिकाइ सञ्जाल

कोभिडको प्रकोप बढ्दै जाँदा अब हिजो अस्तिसम्म जे लाई अतिरिक्त वा वैकल्पिक भन्दै थियौँ त्यही नै अब मूल प्रवाह हुनु पर्ने देखिन्छ । अन्यथा पनि अनलाइनमा बानी पर्न थालेका र त्यसलाई किफायती देखि सकेकाहरु पहिलाको ‘नर्मल’मा फर्किने छैनन् । शिक्षालाई फरक दृष्टिले हेरिनु अत्यावश्यक छ । उति बेलै परम्परागत स्कूल भङ्ग गर्ने वा अझ समुदायको नै अस्कूलीकरण गर्ने ईण्टरनेट प्रचलन नहुँदै इलिचले राखेका विचार यस प्रसङ्गमा सान्दर्भिक छन् । उनको सिकाइको सञ्जालमा वस्तुहरु सिकाइ सञ्जालको एक तत्व हो । सिकाइ वस्तुहरुसँग सिकारुका अन्तरक्रियाबाट हुन्छ । 

उदाहरणका लागि पानी नभई मानिसले पौडी खेल्न वा साइकल नभइ साईकल चढ्न सिक्न सक्दैन । र सिकाइका लागि ती वस्तु सिकारुका पहुँचमा हुनु पर्छ । यसका लागि उनी विभिन्न वस्तुहरु फुकाल्ने र फेरि जोड्ने व्यवस्था आवश्यक हुने बताउँछन् । 

यसका लागि समाजका संरचनाहरु सिकाइ अभिमुख हुनुपर्छ । उदाहरणका लागि एउटा कुखुरा पालन गर्नेले यहाँ केटाकेटी आउँछन् भनेर तयार पार्नु पर्छ । त्यसै गरी पालिकाले सिकाइका लागि एक दिन शिक्षाको प्रयोजनका लागि मात्र पालिका खुला राखेर विद्यार्थीलाई पालिकाबारे बताउन सक्छन् । नजिक रहेका मस्जिद, मन्दिर, गुम्बा आदि जान सकिन्छ । धनी देशहरुले पहिले देखि नै औपचारिकताका कट्टरता घटाउँदै यसलाई अघि बढाएका हुन् । लेखक ३० वर्ष अघि नै अध्ययनमा रहँदा स्कटल्याण्डमा बिजुलीको पावर हाउस र हिृस्की फ्याक्ट्रिहरुमा त्यस किसिमको बन्दोबस्त गरेको याद छ  ( फ्याक्ट्रि भित्रै रहँदा ट्याक्स नलाग्ने भएकाले उदारता पूर्वक चाख्न पाइएको पनि, त्यतिबेला एक लिटरको १० पाउण्ड जति हुँदा उत्पादन लागत २ पाउण्ड भन्दा कम थियो) । यसमा अहिले सम्बन्धित विषयलाई मात्र सम्बन्धित ठाउँमा लगिने पद्धति भन्दा सबैलाई त्यसमा पहँच रहनु पर्छ भन्ने राय छ । सम्भवतः हाम्रा संसद् र न्यायालयमा विद्यार्थीले पाइला टेकेका छैनन् सम्बन्धित विषयकै ले पनि ! 

सिप आदान प्रदानका लागि अनुकरणीय व्यक्तिहरु उनका सिकाइको अर्को तत्व आदर्शमा पर्छन् । उनले यो कठिनाई राम्ररी बुझ्दै भनेका छन् हरेक अलेक्जाण्डरलाई अरस्तू त पाइन्न तर सिप र उत्प्रेरण सँगै भएका व्यक्ति आदर्श हुन् जसले सिप र दर्शनसँगै बताउन सकुन् । उनको यो दृष्टिकोण झण्डै गुरुकुल परम्परा जस्तै छ, जहाँ सिकारु र गुरु बीच सेवा शर्तहरुको आदान प्रदान हुन्छ । यहाँ उनको विचार भने झण्डै भौचर प्रणालीको जस्तै छ जहाँ सरकारले यस्ता भौचरहरु हरेक परिवारलाई दिनु पर्छ । यो विचार संरचना र सुविधाहरु कम भएका ग्रामीण भेगमा भने त्यति सजिलो छैन तर अहिले अनलाइनको पहुँच विस्तारसँगै यसलाई निकै अगाडि लैजान सकिन्छ । 

मुख्य कुरा के हो भने सिकारुले आपूmले अनुकरण गर्नु पर्ने आदर्शहरु भेटेर सिक्न पाओस् ।  अहिले उदाहरणका लागि मास्क लगाउँदै काम गरेको त्यस्तो व्यक्ति भेटियोस् जसले कोरोनाबाट बच्न पर्याप्त कोसिस गर्दै आफ्नो काम गरि रहेको होस् ।

सिकाइ साथी अर्को सिकाइ सञ्जालको पक्ष हो । यस हिसाबले वर्तमान उमेरका आधारमा गरिने कक्षा वर्गीकरण भन्दा सिकाइको चाख र तहका आधारमा गरिने सम्बन्ध महत्वपूर्ण छ । शुरुवाती चेस खेलाडीलाई दक्ष खेलाडी पाएर दुवैलाई खुशी हुन्न । यो एक अर्काले खोजेर एकै तहको भेट्टाउनु पर्यो ।  यसका लागि सूचना र समय दिनु पर्ने हुन्छ । विद्यालयको काम यस्ता साथी भेट्टाउन मद्दत गर्ने हो । कलिला केटाकेटी यस्तो जोडी बन्न सजिला हुन्छन् उनीहरुको आग्रह बनि सकेको हुन्न । आफ्ना सिकाइ जोडी फेर्दै जान्छन् । दुई जना नै हुनुपर्छ भन्ने केही छैन अहिलेका अवस्थामा साथीको जोडी वा समूह बनेर आऊ भनियो भने त्यसले नै सिकाइ अगाडि बढाउँछ । सकेसम्म केमिस्ट्री मिल्ने नै जम्मा हुन्छन् । यसबाट उनीहरुमा आनन्दको अनुभूति पनि हुन्छ नै । 

अब आयो शिक्षकको कुरा जसको काम शिक्षा प्रशासन चलाउने भन्दा शिक्षाको यो सञ्जाल चलाउनु हुन्छ ।  हरेक विद्यार्थी वा तिनको समूहको सिकाइको गति आफ्नै हुने हुनाले त्यसको व्यवस्थापन गर्नु हुन्छ । कोरोना कालमा भन्ने हो भने त्यो एक किसिमले स्वास्थ्यकर्मी, शिक्षक र अभिभावकको संयुक्त रुप हो । 

आज भन्दा ५० वर्ष अघि लेखिएको त्यो पुस्तकमा शैक्षिक वस्तुहरु र शिक्षकहरुको सूची र तिनको उपलब्धतामा उनले निकै जोड दिएका छन् जुन कुरा प्रविधिले अकल्पनीय रुपमा आज सजिलो बनाइ दिएको छ । आज हामी विद्यालयहरुलाई प्रक्रिया र संरचना भन्दा पर सिकाइमा केन्द्रित रहेर हेर्न सक्छौं । पक्कै पनि तुरुन्त हामी कक्षालाई भत्काउन सक्दैनौ ती सिकाइका प्राण होइनन् भनेर बुझ्यौं  भने सत्र गुम्ने कुरामा पीर गरिहाल्नु पर्दैन ।

अहिले त कुरा ज्यान जोगाउने छ । सिकाइलाई नियन्त्रण भन्दा निर्देशित गर्ने गरी मात्र सोच्यौ भने पनि उत्तर पाइन्छ ।  जाँच चाहियो नै भने र तीन वर्ष पछि जाँच लिने भन्यौ भने पनि सिकाइमा माथिको सिकाइ सञ्जाल चलायौ भने केही फरक पर्दैन । सिकाइ बढ्छ नै । यतिबेला हामीसँग शिक्षक पर्याप्त छैनन् भने इच्छुक जो कोहीलाई शिक्षक बनाऔः विद्यार्थी, सरकारी, असरकारी कर्मचारी आदि । कोरोना कालमा उनीहरु धेरै फुर्सद छन् । परिणाम नराम्रो आउँदैन । 

भट्टराई, शिक्षा नीति तथा अभ्यास केन्द्रसँग सम्बन्धित छन् ।

(सम्पादकीय नोट : कोरोना भाईरस (कोभिड - १९)  का कारण आएको असहजतामा बालबालिकाको सिकाइ कसरी प्रभावकारी बनाउने ? कसरी शिक्षक र सम्बन्धित निकायलाई यस प्रति जिम्मेवार बनाउने ? यस सन्दर्भमा संसारमा के कसरी काम भईरहेका होलान् ? यहाँ के गर्न सकिएला ? सिकाइ सहजता र बालबालिकालाई केन्द्रमा राख्दा उब्जिएका यस्तै यस्तै प्रश्नको उत्तर खोज्ने क्रममा हामीले यसपटक टीका भट्टराईको आलेख प्रस्तुत गरेका हौं ।)