Edukhabar
शनिबार, १५ बैशाख २०८१
विचार / विमर्श

फिल्मले ल्याउने शैक्षिक सुधारका तरङ्ग

केही समय पहिले नेपालमा शैक्षिक विषयमा फिल्म बनेनन् भन्ने एउटा बहस आएको थियो । बनेका केही फिल्मको त्यति चर्चा भएन । दीपकराज गिरीको छक्का पञ्जा ३ मा भएको शैक्षिक विषयले पनि राम्रै चर्चा पायो । फिल्मले पैसा त खै कति कमायो, सामाजिक सञ्जालमा प्रशस्त स्यावासी कमायो । 

शिक्षाका एक जानकारले सामाजिक सञ्जालमा व्यक्त विचारमा एक जनाले व्यङ्ग्यात्मक प्रतिकृया सहित सोधेका थिए – भने पछि शिक्षा सुधारका लागि गर्नु पर्ने काम त हजुरलाई भन्दा दीपकराज गिरीलाई थाहा रहेछ हो ?  

यसले के इङ्गित गर्छ भने शिक्षाका समस्या थाहा पाउन फिल्म हेर्नु पर्न हो त ? शिक्षा सुधारका लागि आवश्यक क्रियाकलाप र ज्ञानहरु कुनै ठूला शिक्षाविद्, प्रशासक, विद्धान, शिक्षाविज्ञले भन्दा फिल्मका कथा लेखन गर्नेले जानेका हुन त ? यो बहस शिक्षा सुधारका लागि यो फिल्म हेर्नुस् भनेर सिफारिस गर्नेहरुकै जिम्मा लगायौँ हामीले । 

प्रत्येक वर्ष नेपालका दुई, चार विज्ञलाई नेपाल सरकारले एउटा काम दिन्छ । करिब दुई वर्ष अगाडि त झण्डै ७०।७५ जनालाई नै दिइएको थियो । सामुदायिक शिक्षा सुधारका लागि प्रतिवेदन बुझाउने !  एसईईको  नतिजा प्रकाशनको केहि दिन जोन डेवेका आदर्श देखी मारिया मन्टेसरीको बालबालिकालाई सिकाउने तरिकाको छलफल हुन्छ । व्यवहारिक शिक्षाको बहस हुन्छ । शिक्षाको प्रयोगात्मक विधिको सिद्धान्तको व्याख्या हुन्छ । सरकारी विद्यालयको गुणस्तर कमजोर भयो भनेर रटान लगाइन्छ । फेरी अर्को वर्ष नतिजा उस्तै आउँछ । शिक्षा प्रणालीमा रेडिमेट बहस निरन्तर हुन्छ !

हामी जस्ता अल्पज्ञानीहरु ठूला विज्ञका पछि लाग्छौँ र हो मा हो मिलाउछौँ । रेडिमेड बहस  गरे पछि हामी सबैको वर्ष भरीको काम सकिन्छ । विद्यालय शिक्षा आफ्नै गतिमा चल्छ । समग्र नेपाल आफ्नै गतिमा चल्छ । पठनपाठनको गति आफ्नै हुन्छ । शिक्षक र प्रधानाधयापकको गति आफ्नै हुन्छ । दौडिनेहरु दौडि रहन्छन् बस्नेहरु बसिरहन्छन् ।  विज्ञ लगायत हामी सबै आआफ्नै दुलोमा पस्छौँ । फेरि अर्को वर्ष एउटा समयमा फुत्त निस्कन्छौ । पुनः उहीँ कुरा दोहर्याउछौँ । निष्कर्ष हुन्छ, सामुदायिक कमजोर भयो, ‘निजी क्षेत्रले विगार्यो’ शिक्षकले पढाएनन् । विद्यार्थीले पढेनन्, अभिभावकले ध्यान दिएनन् । 

कोभिडको महामारीकै बीचमा हालसालै युट्युबमा सार्वजनिक भएको दक्षिण भारतीय फिल्म ‘म्याडम गिता रानी’ ले तरङ्ग ल्याएको छ । सामाजिक सञ्जाल हेर्दा लाग्छ यो फिल्म हेरिएन भने त शिक्षा क्षेत्रसँग आवद्ध छु भन्न पनि नमिल्ने हो कि ! शिक्षासँग सरोकार राख्ने धेरै व्यक्तिले शैक्षिक सुधारको उत्कृष्ट नमुना भन्दै सामाजिक सञ्जालमा शेयर गरेको देखे पछि एउटा शिक्षाकर्मीको हैसियतले उक्त फिल्म त हेर्नै पर्यो हेरियो । 

हाम्रो शैक्षिक प्रणालीमा  यसरी नै सुधारिएको विद्यालय भेटाउन कठिन भए पनि फिल्ममा शुरुमा देखाए जस्तै बिग्रिएका र यस्तै यस्तै अवस्थाका थुप्रै सामुदायिक विद्यालय छन् ।  

फिल्म हेर्नु अगाडी यो समीक्षा लेखौँला भनेर हेरिएको थिएन । यसभन्दा अगाडी पनि थुप्रै फिल्म हेरियो समीक्षा लेखिएन । सञ्जालमा आए अनुसार यो फिल्म हेरेपछि सामुदायिक विद्यालय सुधार गर्न सकिन्छ भन्ने आकाशे फलका कुरा देखे पढे पछि हामीले यसको समीक्षा लेख्ने प्रयास गरेका छौँ ।

फिल्म हेर्दै गर्दा र हेरिसके पछि नेपालको शैक्षिक जगतको बारेमा धेरै जिज्ञासा उत्पन्न भए । उक्त  फिल्ममा कुनै एक सानो शहरको बिचमा रहेको सरकारी विद्यालय शिक्षकको चरम लापर्बाहीको करण अत्यन्तै नाजुक अवस्थामा पुगेको हुन्छ । विद्यालयको कमजोर अवस्थाको कारण नजिकैको निजी विद्यालयले ठुलो फाइदा लिएको देखाइन्छ । लापर्बाहीले संकटपुर्ण अवस्थामा रहेको विद्यालयमा एक्कासि म्याडम गिता रानी प्रिन्सिपलको भूमिकामा विद्यालयमा प्रवेश गर्छिन् । 

उनको प्रवेश पछि विद्यालयले केहि व्यवस्थापकीय पाटो केहि नैतिक पाटो र केहि प्राविधिक पाटोमा (शिक्षण सिकाइ क्रियाकलाप) सुधार गर्छिन् । उनले गरेको प्रयासबाट विद्यालयमा अमुल परिवर्तन भएको देखाइएको छ । 

हाम्रो शैक्षिक प्रणालीमा  यसरी नै सुधारिएको विद्यालय भेटाउन कठिन भए पनि फिल्ममा शुरुमा देखाए जस्तै बिग्रिएका र यस्तै यस्तै अवस्थाका थुप्रै सामुदायिक विद्यालय छन् ।  

प्रधानाध्यापक अधिकार सम्पन्न हुनुपर्छ भन्नलाई फिल्म चाहिने हो ? राम्रो पढाइ भए पछि अभिभावकले सहयोग गर्छन् भन्ने बुझ्न म्याडम गिता रानीको कथा नभइ नभएको हो त ? 

साहित्य, सृजना, कलामा पनि वास्तविकता मिसाउनु सकियो भने धेरैलाई राम्रो लाग्छ । या भनौं मन पर्छ । दक्षिण भारतीइय फिल्महरुको एउटा घोषित विशेषता हो तडकभडक, ड्याङ्ग डुङ्ग । केहि हदसम्म घोषित विशेषता भन्दा अलि फरक गर्न खोजिएको फिल्म म्याडम गिता रानीमा एउटा विद्यालयको समस्या देखाएर समग्र राज्य प्रणालीमा हुने लूटतन्त्र देखाउन खोजिएको छ । सरकारी विद्यालय प्रतिको सबैको उदासिनता र निजी प्रतिको आकर्षणलाई जोड दिइएको छ । 

हाम्रो आफ्नो बुझाइमा यो फिल्ममा जे कुरा देखाउन खोजेको छ त्यो भन्दा धेरै चर्चा गरिएको छ सामाजिक सञ्जालमा । बलिउडमा शिक्षा र शिक्षणसँग जोडिएका एक से एक फिल्म छ्न । जस्तैः  ब्ल्याक, पा, थ्री इडियट, तारे जमिन पर, हिन्दि मिडियम, इङलिस मिडियम, इङलिस भिङ्ग्लिस, रफ बुक, चक एण्ड डष्टर, आरक्षण, आदि इत्यादि । 

हलिउडमा झनै त्यो भन्दा अझै उत्कृष्ट फिल्म त होलान् । भाषागत समस्याको कारण होला शायद, हलिउड फिल्मको नेपालमा त्यति चर्चा नभएको हुन सक्छ । चिल्ड्रेन अफ हेभनको केही चर्चा भने सुनिन्छ । नेपाली फिल्ममा  पनि तुलसी घिमेरेको दक्षिणा र दीपक राज गिरिको छक्का पन्जाको चर्चा नभएको हैन । पाठशाला नामको नेपाली फिल्म शिक्षाकै विषयमा केन्द्रित देखिए पनि शैक्षिक समस्या केन्द्र विन्दुमा छैनन् र कथामा पढाइमा मेहनत नगरी उत्कृष्ट नतिजा हासिल भएको देखाइन्छ । विषय राम्रो भए पनि प्रस्तुतिकरण फितलो छ । 

के दुई देखि तिन घण्टाको फिल्ममा देखाउन सकिने जति पनि हामीले हाम्रो शिक्षा प्रणाली नबुझेकै हो त ? हामी त्यति पनि जानकार छैनौ त ? म्याडम गिता रानी लगायत अन्य शिक्षासँग सम्बन्धित फिल्म हेरी सके पछि के हामीले बुझेका शिक्षाका समस्या र शैक्षिक व्यवस्थापन भन्दा हामीले अहिलेसम्म सिकेको कुरा भन्दा यो फिल्म ज्यादै माथि छ त ? यस्तै प्रश्नहरुले हामीलाई गिजोलेका छन् ।  

शिक्षामा कसरी सुधार गर्न सकिन्छ ? सिकाइका सिद्धान्त कति बनेका छन् ?  भन्ने सन्दर्भमा के हाम्रो शैक्षिक प्रणाली पुरै बेखबर नै हो त ? हाम्रो शैक्षिक नीति निर्माता तथा  शिक्षा प्रशासकले के एउटा फिल्ममा देखाएको कुरा जति पनि जानेका छैनन् त ? प्रधानाध्यापक अधिकार सम्पन्न हुनुपर्छ भन्नलाई फिल्म चाहिने हो ? राम्रो पढाइ भए पछि अभिभावकले सहयोग गर्छन् भन्ने बुझ्न म्याडम गिता रानीको कथा नभइ नभएको हो त ? 

राम्रोलाई राम्रो भन्नु त केही भएन तर के कुनै एउटा कथाको धरातलमा बनेको फिल्मलाई शैक्षिक सुधारको मुलमन्त्र भन्दै हेर्न सिफारिस गर्नु पर्ने भएकै हो ? अझ रमाइलो त के छ भने जो सँग विद्यालय र कक्षा कोठा सुधार गर्ने तागत छ (इच्छा शक्ति हुनेलाई) उसैले लु हेरौँ भन्नु पर्ने भएकै हो त ?  एउटा शिक्षकले विद्यालयमा विद्यार्थीलाई कसरी सिकाउने भन्ने कुरा एउटा फिल्मको स्क्रिप्टबाट हेर्नु पर्ने हो भने शिक्षा शास्त्र संकाय किन चाहियो ? 

हो, फिल्मले हाम्रो यथार्थलाई देखाउन खोजेको होला । त्यो यथार्थ हेर्न फिल्म नै त हेर्नै पर्दैन । दिनका दिन त्यो कार्यमा हामी कुनै न कुनै मानेमा संलग्न छौं ।   फिल्म हेर्ने, कथा पढ्ने अनि गज्जब लाग्यो भन्ने । तर हामी आफैं भने केहि नगर्ने प्रवृत्तिले फिल्म हेर्दा वा कथा पढ्दा मज्जा त देला हुनेवाला केहि छैन । गर्नेको लागि फिल्म वा कथा चाहिँदैन । प्रअ शक्तिशाली नभए पनि राम्रा गर्नेले गरेकै त छन् । 

म्याडम गिता रानीमा जे कुरा देखाउन खोजिएको छ त्यो हामीलाई थाहा नभएर काम नभएको त होइन होला । हामीले हाम्रो आफ्नो जिम्मेवारी पूरा नगरेको पो होला ?  माध्यमिक तहसम्म चलेको विद्यालयमा विषयगत आवश्यक दरबन्दी त दिन सकेका छैनौँ हामीले र हाम्रो राज्य शैक्षिक प्रणालीले । अनि म्याडम गिता रानी जस्तो हेड टिचर त धेरै परको कुरा भयो । ठूलो कुरा हैन, प्रणाली हो । जब राज्यको समग्र प्रणाली ठिक हुन्छ तब राज्यका सबै निकाय चुस्तदुरुस्त हुन्छन् । हामी प्रणाली बनाउनेमा लाग्दैनौँ अनि कसरी हुन्छ सुधार ? 

पालिकामा ठूला ठूला बहस हुन्छन्, महत्वाकांक्षाका पोका शैक्षिक योजना बनाउँछौ, तर न्यूनतम शिक्षक, भौतिक पूर्वाधार, शैक्षिक सामग्री र उपयुक्त कार्य वातावरण तयार गर्न सक्दैनौँ । वरिष्ठतम शिक्षकलाई प्रअ बनाउने नीति कार्यान्वयन हुन नदिने त हामी कनिष्ठ शिक्षक नै होइन र ?

व्यवस्थापन समितिमा दलीय आधारमा चुनाव गराउने हामी सबै त हो नि, हैन र ?

शिक्षक आन्दोलनको मुद्धामा शिक्षक दरबन्दी चाहियो भन्ने कहिले छ ?

तालिम चाहियो ? प्रयोगशाला अनि पुस्तकालय चाहियो भन्ने कहिले भयो र ? सधैँ अस्थायी नहटाउ, राहत नहटाउ, स्थायी गर, तलब बढाउ दरबन्दी मिलान नगर यस्तै यस्तै होइन र ?

हो, समस्या धेरै छन् । के हामीले प्रअ गिता रानीकै शैलीको प्रअ चाहेका हौँ त ?

के हामीले भोलि पाठ पढाउन फिल्ममा देखाए जस्तै तयारी गर्ने इच्छा शक्ति छ ? 

यसलाई अल्पज्ञान पनि मान्न सक्नुहुन्छ पाठकहरुले तर जति बेला देशभरका २९ हजार सामुदायिक विद्यालयका सबै शिक्षकले फिल्ममा देखाए जस्तै बेलुका पाठ तयारी गरेर विद्यालय जाने हो भने कति प्रतिशत समस्या समाधान होला ? अभिभावकले त पत्याउलान् । के शिक्षकको पेशागत आन्दोलनमा प्रअलाई अधिकार देऊ भनेर माग गर्ने हो त अब ? हामी तयारी गरेर पढाउँछौ त्यसका लागि मासिक यति भत्ता थपिदेउ पो भन्ने हो कि ? हामी के भए सुधार गर्छौ भनेर कहिले भनेनौ, सुधार भएन भनिरह्यौँ र शैक्षिक सुधारका वार्षिक योजना र कार्यक्रमका पुलिन्दामा भुलिरहेका छौँ ।

फिल्ममा रोचक बनाइएको विषय निजी विद्यालयसँग मिलेर विद्यालयकै शिक्षकले गिता रानीलाई हिरासतमा पुर्याउँछन् । जब विद्यालयको नतिजा आउँछ, अदालतले त्यही नतिजाका आधारमा गिता रानीलाई रिहा गर्न आदेश दिन्छ । यसको अर्थ विद्यालयले विद्यार्थीको सिकाइलाई सुनिश्चत गर्छ भने त्यसले गरेका अन्य सामान्य प्रशासनिक त्रुटी क्षमायोग्य हुन्छन् भन्ने हैन र ? 

त्यसैले विद्यार्थीको सिकाइ प्राथमिक कुरा हो । गत वर्षको सरकारी अध्ययनले कक्षा ४ मा गएका ९१ प्रतिशत विद्यार्थीले नेपालीमा शुद्ध वाक्य पढ्न सक्दैनन् भन्ने निकालेको थियो, यही तथ्य सुधार भयो भने म्याडम गिता रानीको प्रशंसा सार्थक हुनेछ । 

समीक्षकहरु शिक्षा क्षेत्रमा संलग्न छन् । 

यो पनि पढ्नुहोस् - सिनेमामा शिक्षा : विद्यालयको बर्वादीमा शिक्षकको अकर्मण्यता र राजनीतिक हस्तक्षेपको कथा

प्रतिक्रिया