Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षा मन्त्रालयमा केही जिम्मेवारी हेरफेर, महानिर्देशकमा अर्याल

शुक्रबार, ०९ असोज २०७७

काठमाडौं - सहसचिव विहीन भएको शिक्षा मन्त्रालयमा तीन जना सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा मानव श्रोत विकास केन्द्रको महानिर्देशकमा सहसचिव बैकुण्ठप्रसाद आर्यालको सरुवा गरेका छन् । यस अघि गएको बर्ष असोज ७ गते मन्त्रालयको योजना महाशाखाबाट हटाएर उनलाई शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख बनाईएको थियो । 

योजना महाशाखा मन्त्रालयको महत्वपूर्ण निकाय भएकोले मन्त्रीले आफू निकट व्यक्तिलाई नै योजनाको प्रमुख बनाउने प्रचलन छ । सोही अनुसार अर्याललाई जिम्मेवारी दिईए पनि मन्त्रीको सचिवालयसँग तालमेल नमिले पछि गत बर्ष उनलाई आयोगमा सरुवा गरिएको थियो । अहिले योजनाको जिम्मेवारी केन्द्रका महानिर्देशक डा. तुलसी थपलियालाई दिईएको शिक्षा मन्त्री पोखरेल निकट श्रोतले जनाएको छ । 

'सरुवामा निकट भन्दा पनि बरिष्ठतालाई मानक बनाईएको छ' मन्त्री निकट उक्त श्रोतले दावी गर्दै भन्यो, 'सबै कर्मचारी नै हुन् को आफ्नो को अर्को भन्ने मान्यता मन्त्री र सचिवालयमा छैन, आवश्यकता, काम र औचित्यको आधारमा सरुवा गरिएको हो ।'

तीन महिना अघि योजना महाशाखा प्रमुख भएका सहसचिव कृष्णप्रसाद काप्रीको भदौ अन्तिम साता प्रदेश २ मा सरुवा भएसँगै योजना महाशाखा नेतृत्व विहीन थियो । काप्री सँगै पूनर्निर्माण प्राधिकरण अन्र्तगत केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मा सरुवा भएका उच्च शिक्षा महाशाखाका प्रमुख रामशरण सापकोटाको ठाउँमा केन्द्रबाट ईमनारायण श्रेष्ठलाई सरुवा गरिएको छ । उनलाई खाली रहेको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको समेत जिम्मेवारी तोकिएको छ । यस अघि सापकोटालाई पनि यसैगरी उक्त जिम्मेवारी तोकिएको थियो ।   

सिनियर २ जना उपसचिव मध्ये विद्यालय शिक्षक किताबखानाका कायम मुकायम प्रमुख दिनेश श्रेष्ठलाई आयोगको कामु् प्रशासकीय प्रमुखको जिम्मेवारी तोकिएको छ । किताबखानामा भने पूनर्निर्माण प्राधिकरण (शिक्षा) अन्र्तगत जिल्ला आयोजना कार्यान्वयन इकाई सिन्धुलीका प्रमुख शिवकुमार सापकोटालाई कामु तोकिएको छ । उनको ठाउँमा भने प्राधिकरणले कर्मचारी खटाउने छ । 

प्रतिक्रिया