Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षक विद्यार्थीलाई मासिक ९९ रुपैँयामा डाटा र भ्वाईस सेवा, खर्च सरकारले व्यहोर्ने

आइतबार, ११ असोज २०७७

काठमाडौं - कोरोना भाईरस (कोभिड-१९) का कारण पठनपाठनमा आईपरेको समस्या समाधान गर्न सरकारले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई सहुलियत दरमा डाटा र भ्वाईस सेवा उपलब्ध गराउने भएको छ । गत मंगलबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्वारा सार्वजनिक विद्यालय शिक्षा सम्बन्धि आकस्मिक कार्ययोजना कार्यान्वयनका लागि उक्त सेवा उपलब्ध गराउन नेपाल टेलिकम तयार भएको हो । उक्त सेवा लिए वापत प्रति एक जनाका लागि मासिक ९९ रुपैंया खर्च लाग्ने टेलिकमले जनाएको छ । उक्त रकम शिक्षक विद्यार्थीले तिर्न नपर्ने गरी सरकारले नै व्यहोर्ने छ । 

टेलिकम, सञ्चार मन्त्रालय र शिक्षा मन्त्रालय बीच भएको छलफलका आधारमा टेलिकमले आफूले दिन सक्ने सहुलियत उपलब्ध गराउन राजी भएको थियो । सोही आधारमा टेलिकमले प्रस्ताव पठाएको हो । जस अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई क्लोज युजर ग्रुपमा आवद्ध गराई निशुल्क रुपमा पाठशाला सीयूजी सिमकार्ड र महिनाको ९९ रुपैंयामा असिमति कुराकानी गर्न सकिने सुविधा दिने निर्णय गरेको टेलिकमले जनाएको छ । यसैगरी ५ जिवी डाटा सेवा र बल्क एसएमएस सुविधा समेत उपलब्ध गराउने टेलिकमले निर्णय गरेको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा राखिएका पठनपाठनका सामग्री यही शुल्कबाट प्रयोग गर्न सकिने छ । टेलिकमले गरेको प्रस्ताव अनुसार उक्त सीमकार्डबाट शिक्षक, विद्यार्थी र अभिभावकबिच असिमित कुराकानी गर्न, केन्द्रको वेभ पोर्टल चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस पठाउन सकिने छ । 

टेलिकमले प्रस्ताव गरेको सेवाका लागि लाग्ने खर्चको जोहो गर्न शिक्षा मन्त्री पोखरेलले अर्थ मन्त्रालयमा प्रस्ताव लगेका मन्त्री निकट श्रोतले जनाएको छ । यसका लागि सरकारलाई रकमको खाँचो छैन । किन भने शिक्षाका लागि बजेटमा छुट्याईएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सहित दिवा खाजा र सेनिटरी प्याडको रकम कोभिडका कारण यस बर्ष खर्च भएको छैन । सरकारले यो रकम यसमा खर्च गर्न सक्छ । स्थानीय सरकारलाई उपलब्ध गराईएको ससर्त अनुदान रकम पनि यसमा खर्च गर्न सकिने छ । कुन रकम खर्च गर्ने भनेर शिक्षाले निर्णय गर्न नसक्ने भएकाले अर्थ मन्त्रालयमा प्रस्ताव लगिएको हो । 

'आकस्मिक कार्ययोजना कार्यान्वयनका लागि लाग्ने खर्चका बारेमा निर्णय गरिदिन हामीले प्रस्ताव तयार पारेर अर्थमा लगिसकेका छौं' उक्त श्रोतले भन्यो 'चाँडै नै निर्णय हुने छ र जतिसक्दो छिटो यो सेवा शिक्षक विद्यार्थीले नि:शुल्क प्राप्त गर्ने छन् ।'

उक्त ग्रुप बनाउनका लागि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधुरीलाई एउटा सीमकार्ड तथा विद्यालयका प्रत्येक शिक्षकको सिमकार्डको फोन नम्बरलाई संकलन गर्ने, प्रत्येक विद्यालयका फोनलाई क्लोज युजर ग्रुपमा आवद्ध गराउने र यो सेवा वापतको शुल्क निर्धारण गरिएको टेलिकमले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत टेलिकमले पनि लाग्ने खर्च व्यहोरेर ९९ रुपैंयाको सेवा निर्धारण गरेको जनाएको छ । 

यदी कुनै विद्यालयका विद्यार्थी र परिवारको एक सदस्यसँग नेपाल टेलिकमको सीम नभएको अवस्थामा माग बमोजिम निशुल्क सीप उपलब्ध गराईने छ । निशुल्क सीमकार्डका लागि शिक्षक र अभिभावकको नागरिकता र विद्यार्थीको परिचयपत्रको फोटोकपी र एक प्रति फोटो चाहिन्छ । विद्यार्थील आफ्नै वा अभिभावकको नाममा सिमकार्ड लिन सक्नेछन् । उक्त सीम लिनका लागि विद्यालयले एकमुष्ठ रुपमा फारम भरेर स्थानीय निकायका सिफारिस सहित टेलिकमको नजिकको कार्यालयबाट समेत लिन सक्ने छन् । 

यदी कुनै विद्यालयमा ईण्टरनेट सेवा पुगेको छैन भने केन्द्रले विद्यालयको गाउँपालिका सहितको विवरण उपलब्ध गराएमा वायरलेस, ब्रोडब्याण्ड प्रविधिबाट ईण्टरनेट सेवा उपलब्ध गराई आफ्नो कार्ययोजना अनुसार सेवा विस्तार गर्ने पनि टेलिकमले जनाएको छ । 

प्रतिक्रिया