Edukhabar
शनिबार, ०८ बैशाख २०८१
शिक्षामा यो साता

शुल्क, महामारी र हिंसा केन्द्रित साता

आइतबार, २३ कार्तिक २०७७

काठमाडौं - गत साताका शिक्षासँग सम्बन्धित समाचारमा दुखद् अन्तरर्राष्ट्रिय विषयहरु पनि प्रकाशन भए । अफगानिस्तानको कावुल विश्वविद्यालयमा भएको हिंसामा परी १९ विद्यार्थीले ज्यान गुमाएका छन् । यसै गरी देहरादुनको निजी वुद्धिस्ट विद्यालयमा नेपाली विद्यार्थीलाई शारीरिक सजाय दिएको विषय पनि चर्चामा रह्यो । 

केही पालिकामा विद्यालय खुल्ने र केही पालिकामा बन्द हुने गरेको विषय र मन्त्रालयले दुई शैक्षिक सत्रलाई गाभ्ने तयारी गरेको तथा काठमाडौं विश्वविद्यालयको शुल्क विवाद पनि साताका अन्य समाचारका विषय रहे ।  
अनलाइन कक्षाको शुल्क सम्बन्धमा अभिभावक र निजी विद्यालयका सञ्चालकहरुका बीचमा निरन्तर असहमति भएको विषय सञ्चार माध्यममा प्रकाशित भएको  छ । यो निष्कर्षमा नपुग्ने एउटा नियमित सवाल बनेको छ र सधै विवादको उत्कर्षमा पुगिरहेको हुन्छ । यस्तै कोभिडका कारण रोकिएको कक्षा ११ को परीक्षाका लागि सिन्धुलीका विद्यार्थीले दोहोरो शुल्क तिर्नुपरेको समाचार प्रकाशन भएको छ । विद्यार्थी नेताले एउटै परीक्षाका लागि दोहोरो शुल्क तिर्नुपर्ने निर्णय पुनरावलोकनका लागि माग गरेका छन् र यसलाई पुर्नविचार नगरिए आफूहरु चुप लागेर नबस्ने बताएका छन् । 

यस्तै गरी कोरोना महामारीको कारण काठमाडौं विश्वविद्यालयमा पनि भर्चुअल शिक्षाको शुल्क सम्बन्धि विवाद भएको छ । विश्वविद्यालयले सामान्य अवस्थामा कक्षा कोठामा हुने पठनपाठनकै शैलीमा शुल्क लिने भनेपछि विद्यार्थीले त्यसमा असन्तुष्टी जनाएका हुन् । 

पालिकाहरुको शिक्षासँग सम्बन्धित समाचारहरु निकै कम मात्र प्रकाशित भए । सर्लाहीको व्रम्हपुरी नगरपालिकाले अनियमितताको विषयलाई उठाइरहेका श्री सुवेदार नन्दलाल जनता माध्यमिक विद्यालयका पाँच शिक्षकलाई सरुवा गरेको छ । विद्यालयको बजेटबाट पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले कमिसन माग गरेको आंशका गरिएको छ । यस्तै तनहुँको व्यास नगरपालिकाले मंसिर २ सम्म विद्यालय नखोल्न निर्देशन दिएको छ । मेयरको अध्यक्षतामा सरोकारवाला सहितको वैठकले कोरोनाको त्रास बढिरहेको अवस्था भएकाले भौतिक रुपमा विद्यालय सञ्चालन नगर्ने निर्णय गरेको समाचारमा उल्लेख छ । 

अर्को एक समाचार अनुसार नाम्खा गाउँपालिकामा भौतिक रुपमै विद्यालयमा पठनपाठन शुरु भएको छ । वडा नम्बर ६ का तीन विद्यालय कोभिड महामारीकै बीचमा पनि निरन्तर सञ्चालन भइरहेका छन् । पालिका प्रमुखले स्थानीय सरोकारवालाहरुसँग छलफल गरेर विद्यालय खोल्ने निर्णय गरिएको बताएका छन् । 

कोभिड महामारीले कर्णालीका विद्यालयहरुमा पनि असर पुगेको समाचारमा उल्लेख गरिएको छ । शैक्षिक सत्रको शुरुबाटै कोभिडको असरले गर्दा यो वर्ष एउटा पनि कक्षा सञ्चालन हुन सकेको छैन । समाचार अनुसार एउटा कक्षा पनि पढाइ नभएको अवस्थामा परीक्षामा बस्न र माथिल्लो कक्षामा पढ्नका लागि विद्यार्थीहरु नै आफै तयार र विश्वस्त नभएको वताएका छन् । 

स्वरोजगार शिक्षामा जोड दिएको विषयसँग सम्बन्धित समाचार प्रकाशन भएको छ । गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकमा अवस्थित मणिकाम देवी माविले पर्यटन र हिमाल आरोहणसँग सम्बन्धित विषयको शिक्षण शुरु गरेको छ । पर्यटनमा विद्यार्थीको आर्कषण बढाउन कक्षा ११ र १२ मा यी विषय शिक्षण गर्ने गण्डकी प्रदेशको पहिलो विद्यालय बनेको छ । गाउँका ७५ प्रतिशत युवाहरु पर्यटन क्षेत्रमा संलग्न भएकाले सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्नका लागि यो विषयको पठनपाठन शुरु गरिएको प्रअ धन कुमार गुरुङले बताएका छन् । समाचार अनुसार यसबाट अभिभावक र विद्यार्थी दुवै उत्तीकै लाभान्वित हुनेछन् । 

कोभिड महामारीले विद्यालय शिक्षामा शहर र ग्रामीण क्षेत्र, धनी र गरिब तथा लैङ्गिक रुपमा असन्तुलन बढाएको विषयमा केन्द्रित विचारमूलक आलेख प्रकाशन भएको छ । आलेखमा उल्लेख भए अनुसार प्रविधिलाई विद्यालय शिक्षा सुधारको केन्द्रमा राखिएको छ । विद्यालय शिक्षाका सबै समस्या समाधानका लागि प्रविधिलाई प्राथमिकतामा राख्दै सबै बालबालिकालाई पहुँचमा नपु¥याई शिक्षालाई भर्चुअल बनाउनेमा मात्र जोड दिइएको छ । सरकारले कोभिड पश्चात शिक्षालाई कसरी लैजाने स्पष्ट दृष्टीकोण बनाउन जरुरी देखिएको छ । आलेखमा बालबालिकालाई मनोसामाजिक परामर्श दिने, विद्यालय व्यवस्थापनसँग जोडिएका कोभिडका विषयहरु सम्बोधन गर्ने, सिकाइको क्षति न्यूनीकरण तथा मिश्रित शिक्षणका लागि शिक्षकलाई तालिम दिने जस्ता विषयमा स्पष्ट योजना र रणनीति तयार गर्नुपर्नेमा जोड दिइएको छ । 

गत साता देहरादुनमा नेपाली विद्यार्थीलाई दिइएको शारीरिक सजायको विषय धेरै चर्चामा रह्यो । दशैँ मनाउन नेपाल आउनका लागि विदाको निवेदन दिदै गर्दा विद्यालयका प्रधानाध्यापकले ५१ विद्यार्थीलाई पिटेका थिए । 

तस्वीर : शाक्य एकेडेमीका प्रधानाध्यापक तथा रिम्पोचे ज्ञानबज्र जसले विद्यार्थीलाई कुटपिट गरेका थिए । समाचार अनुसार दशैका लागि विदाको अनुरोध गर्दा उनीहरु कुटिएका हुन् ।  

सोही विषयमा प्रकाशित समाचार अनुसार विद्यालयबाट केही विद्यार्थी नेपालतर्फ भागेका पनि छन् । नेपाली विद्यार्थी र शिक्षकहरुलाई उनीहरूको चाहना विपरित होस्टेलमा थुनेर राखिएको छ । यस्तै समाचारमा जनाइए अनुसार विद्यालयको सेवासँग धेरै विद्यार्थी सन्तुष्ट नभएको र उनीहरु विद्यालय छोडि कहिल्यै पनि नफर्कने सोचमा रहेका छन् । 

’बलत्कार र यौन शिक्षा’ शीर्षकमा प्रकाशित एक विचारमूलक आलेखमा बढ्दो बलत्कारका घटनाको सम्बोधनका लागि शिक्षा एक प्रभावकारी औजार हुन सक्छ भनिएको छ । लेखमा उल्लेख भए अनुसार कोही व्यक्ति पनि अपराधिक मानसिकताले जन्मिएको हुदैँन तर सिकाइ र हुर्काइका क्रममा अपराधी बन्न पुग्छ । आलेखमा कडा कानुन र जन्म कैदले मात्र यस्ता समस्या समाधान गर्न सक्दैनन् तर समयमै उपलब्ध गराइने यौन शिक्षा र लैङ्गिकताका विषयहरु यसका लागि प्रभावकारी हुन सक्छन् भनिएको छ । 

शिक्षा नीति तथा अभ्यास केन्द्रका सदस्य सचिवको विचारमूलक आलेख मधेसको शिक्षा र त्यसको सामाजिक(राजनीतिक आयाममा केन्द्रित छ । मधेसको कमजोर शिक्षाका लागि ऐतिहासिक रुपमै राजनीतिक वेवास्ता, सामाजिक साँस्कृतिक पक्षहरु, केन्द्र सरकार र मधेसी जनताको वीचको छुटेको सम्बन्ध तथा विगतदेखि हालसम्म मधेसमा भएको लगानी जिम्मेवार छन् भन्ने उल्लेख गरिएको छ । आलेखमा ऐतिहासिक रुपमै भएको सामाजिक राजनीतिक अन्यायलाई ध्यान दिई सरकार र नागिरक आन्दोलनबाट न्यायको सुनिश्चितता हुनेगरी मातृभाषामा जीवनोपयगी शिक्षा दिनुपर्नेमा जोड दिइएको छ । 

यो साता शिक्षा मन्त्रालयले चालू शैक्षिक सत्र र आगामी शैक्षिक सत्र २०७८ मिलान गर्ने गरी आन्तरिक तयारी गरिरहेको भन्ने समाचार पनि प्रकाशन भएको छ । यसका लागि मन्त्रालयले विद्यालय सञ्चालन कार्यढाँचा तयार गरिरहेको छ । चालू शैक्षिक सत्र २०७७ कोरोना महामारिका कारण सञ्चालन हुन सकेको छैन् । 

यस्तै अष्ट्रेलियामा नेपाली विद्यार्थीमा मानसिक स्वास्थ्य समस्या बढेको र ६ जनाले आत्महत्या गरेको समाचारमा उल्लेख छ । 

साताका अन्य समाचारहरुमा नेशनल मेडिकल कलेज विरगंजले परीक्षामा सहभागी हुन नदिने भन्दै विद्यार्थीबाट अतिरिक्त एक लाख शुल्क उठाएको, कक्षा १२ का ३०,६०० विद्यार्थीका लागि ४००५ वटा परीक्षा केन्द्र तोकिएको, नेपाल विद्यार्थी संघले कोरोना परीक्षण र उपचार निशुल्क गर्न माग गर्दै प्रदर्शन गरेको तथा त्रिवि समाजशास्त्रका सहायक प्राध्यापकमाथि कुटपिट गरेको आरोपमा कैलालीबाट पक्राउ परेका ओझालाई रिहा गर्न माग गरेको, तलब लिन गएका वैतडीको डिलाशैनी गाउँपालिका स्थित डाडाँबाघ प्राथमिक विद्यालयका प्रअ मृत फेला परेको र त्रिविका आंशिक शिक्षकहरुले एक वर्षदेखि तलब नपाएको रहेका छन् ।

‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्स एवं अनलाईनहरु नयाँ पत्रिका, माई रिपव्लिका र सेतोपाटीमा कात्तिक १२ देखि १८ गते सम्म  प्रकाशित शिक्षा सम्वन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Week of Fees, Pandemic and Violence

प्रतिक्रिया