Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

सेवा आयोगमा पूर्व सदस्यकै निरन्तरता

बुधबार, १० मंसिर २०७७

काठमाडौं - त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा पूर्व सदस्य प्रा.डा. हेमराज ढकाललाई नै निरन्तरता दिईएको छ । कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले ढकाललाई नै निरन्तरता दिने निर्णय गरेसँगै उनले बुधबार पदवहाली गरेका छन् । 

सहकुलपति समेत रहेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेल संयोजकत्वमा भौतिक शास्त्रका विभागीय प्रमुख प्रा.डा. विनिल अर्याल र व्यवस्थापनका डीन प्रा.डा. डिल्लीराज शर्मा सहितको यस अघि नै गठन भएको सर्च कमिटिकै सिफारिसका आधारमा ढकाललाई निरन्तरता दिईएको हो ।  ढकालको निरन्तरतासँगै रोकिएका विभिन्न परीक्षाका प्रकृया जारी रहने अनुमान गरिएको छ । 

कर्मचारीको परीक्षामा नतिजा हेरफेर गरेको अभियोग सहित सेवा आयोगका तत्कालिन अध्यक्ष प्रा.डा. चैतन्य शर्मा सहित १० जनाको निलम्बनमा सदस्य प्रा.डा. चिन्तामणि पोखरेल पनि परेका थिए । पोखरेलको निलम्बन पछि उनले गर्दै आएको दैनिक कामकाज चलाउन ओलीले ढकाललाई नियुक्त गरेका थिए । २०७४ कात्तिक २७ गते तत्कालिन देउवा सरकारको पालामा नियुक्त पोखरेलको अवधि गत कात्तिक २७ गते सकिए पछि ढकालको कार्यकाल स्वतः सकिएको थियो । 

खाली रहेको पदमा अर्को व्यक्ति राख्नु भन्दा ढकाललाई नै निरन्तरता दिदाँ कार्य सम्पादन निरन्तर रहने तर्क सहित मन्त्री पोखरेल नेतृत्वको सर्च कमिटिले ढकालको नाम सिफारिस गरेको थियो । विश्वविद्यालयमा पद बाँडफाँट हुँदा सेवा आयोगको सदस्यको भाग तत्कालिन माओवादीलाई परेको थियो । गोरखाका ढकाल नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । ढकाल गत कात्तिक १० गते विश्वविद्यालयको प्राध्यापकबाट अवकास भईसकेका छन् । तर, यस अघि आयोगमा भएको अभ्यासको नजिर र प्राध्यापक भनेको कहिल्यै अवकास नहुने पद भएको तर्क सहित उनकै नियुक्ति गर्ने गरी सिफारिस गर्न श्रेष्ठले मन्त्री पोखरेललाई सम्झाएको खबर सार्वजनिक भईसकेको थियो । 

पढ्नुहोस् : सदस्य खाली भएसँगै परीक्षाका काम अलपत्र, सर्च कमिटि गठन गर्न प्रधानमन्त्री समक्ष निवेदन 

प्रतिक्रिया