Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

सदस्य खाली भएसँगै परीक्षाका काम अलपत्र, सर्च कमिटि गठन गर्न प्रधानमन्त्री समक्ष निवेदन

आइतबार, ०७ मंसिर २०७७

काठमाडौं - त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा सदस्य खाली भएसँगै परीक्षा लगायतका नियमित काम अलपत्र परेका छन् । तत्कालिन सदस्य प्रा.डा. चिन्तामणि पोखरेल निलम्बनमा परे पछि उनले गर्दै आएको दैनिक कामकाज चलाउने गरी कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले प्रा.डा. हेमराज ढकाललाई नियुक्त गरेका थिए । २०७४ कात्तिक २७ गते तत्कालिन देउवा सरकारको पालामा नियुक्त पोखरेलको अवधि गत कात्तिक २७ गते सकिए पछि ढकालको कार्यकाल स्वतः सकिएको हो । 

आयोगमा प्राध्यापकबाट नियुक्त हुने सदस्य कार्यकारी हुने प्रावधान छ । तर, त्यही पद खाली भए पछि विश्वविद्यालयमा उपप्राध्यापक र कर्मचारीको परीक्षाका कामहरु अलपत्र परेका छन् । गत बर्ष फागुनमै खुलेको ४ सय पदको खुल्ला तर्फको कर्मचारी नियुक्तिको प्रकृया सँगै आगामी १४ गते देखि हुने करीव ३ सय कर्मचारीको आन्तरिक लिखित परीक्षा समेत प्रभावित हुने देखिएको छ । गत महिना २५ गते उपप्राध्यापक पदको लिखित नतिजा सार्वजनिक भए पनि अन्र्तवार्ता लगायतका आवश्यक कार्यको मिति तोक्ने काम हुन सकेको छैन । आगामी १८ गते सम्म कृति बुझाउने म्याद तय भए पनि सदस्यको नियुक्ति नभए सम्म अन्र्तवार्ताको म्याद तय हुन सक्दैन । 

त्रिवि सेवा आयोगका पदाधिकारी नियुक्तिका लागि कुलपति अर्थात् प्रधानमन्त्रीले सहकुलपति अर्थात् शिक्षा मन्त्रीको संयोजकत्वमा विश्वविद्यालय सभाका २ जना सदस्य सहितको सर्च कमिटि गठन गर्नु पर्ने ऐनमा व्यवस्था छ । सर्च कमिटि गठन गर्न आग्रह गर्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री ओली समक्ष निवेदन दर्ता गरेको उनको निजी सचिवालय श्रोतले जनाएको छ । सदस्य नियुक्तिको आधार, अहिले रिक्त हुन आएको अवस्था र गर्नु पर्ने प्रकृया उल्लेख गरेर गएको बिहीबार प्रधानमन्त्री कार्यालयमा पत्र दर्ता गराएको उक्त श्रोतले बतायो ।   

'हामीले तत्काल सदस्य नियुक्ति गर्न जरुरी रहेको विषयलाई ऐनमा भएको व्यवस्था उल्लेख गरेर प्रधानमन्त्री समक्ष पत्र पेश गरिसकेका छौं' उक्त श्रोतले भन्यो, 'त्यही पत्रमा सर्च कमिटिमा रहने २ जना सदस्यहरुको नाम सहित तोक लागेर आउँछ होला भन्ने लागेको छ ।'

प्रधानमन्त्रीबाट पत्र पाउना साथ सदस्य नियुक्तिको प्रकृया शुरु हुने र एक दुई दिन मै प्रधानमन्त्री समक्ष सिफारिस गर्ने उक्त श्रोतको दावी छ । 

कर्मचारीको परीक्षामा नतिजा हेरफेर गरेको अभियोग सहित सेवा आयोगका तत्कालिन अध्यक्ष प्रा.डा. चैतन्य शर्मा र सदस्य पोखरेल सहित १० जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ असार १८ गते मुद्दा चलाए पछि खाली भएको सदस्यको काम गर्ने गरी प्रधानमन्त्री ओलीले ढकाललाई नियुक्त गरेका थिए । विश्वविद्यालयमा पद बाँडफाँट हुँदा सेवा आयोगको सदस्यको भाग तत्कालिन माओवादीलाई परेको थियो । आयोग सदस्य हुनका लागि प्राध्यापक हुनै पर्ने प्रावधान भए पनि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ निकट मानिने गोरखाका ढकाल पुनः नियुक्ति हुने चर्चा पनि आयोग भित्र चल्न थालेको छ । ढकाल भने गत कात्तिक १० गते विश्वविद्यालयको प्राध्यापकबाट अवकास भईसकेका छन् । तै पनि यस अघि आयोगमा भएको अभ्यासको नजिर र प्राध्यापक भनेको कहिल्यै अवकास नहुने पद भएको तर्क सहित उनकै नियुक्ति गर्ने गरी सिफारिस गर्न श्रेष्ठले मन्त्री पोखरेललाई सम्झाईसकेको श्रोतको दावी छ । 

तत्कालिन अध्यक्ष शर्माको म्याद २०७६ साउन ६ गते सकिए पछि नयाँ अध्यक्षका रुपमा प्रा.डा. लालु प्रसाद पौडेलको नियुक्ति भईसकेको छ । त्रिवि सेवा आयोगमा अध्यक्ष सहित लोक सेवा आगोगका प्रतिनिधि र वरिष्ठ प्राध्यापक मध्येबाट कुलपतिले नियुक्त गरेका २ सदस्य रहने प्रावधान छ । लोक सेवाका तर्फबाट अहिले ब्रम्हदेव राय सदस्य छन् । 

प्रतिक्रिया