Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षकका लागि स्वर्णिम अवकास योजना, राहत शिक्षकलाई अवधि जरुरी नपर्ने

बुधबार, १७ मंसिर २०७७

मकवानपुर - पेन्सनको अवधि पुरा भएका तर उमेर हद नकटेका कारण पेशामै रहेका शिक्षकलाई लक्षित गर्दै मकवानपुरगढी गाउँपालिकाले स्वर्णिम अवकास योजना ल्याएको छ । नयाँ पुस्तालाई शिक्षण पेशामा आकर्षित गरी समयानुकल शिक्षण गर्नका लागि कार्यक्रम ल्याएको पालिकाका अध्यक्ष विदुर हुमागाईंले बताए । २० बर्ष सेवा गरेर पेन्सन पाकेका तर ६० बर्ष उमेर नपुगेका कारण सेवामै रहेका शिक्षकलाई लक्षित गर्दै यो कार्यक्रम ल्याईएको हो । 

'अघिल्लो पुस्ताले राम्रो काम गर्नु भयो, उहाँहरुलाई धन्यवाद छ, अब समय अनुसार प्रविधि मैत्री रुपमा शिक्षण गर्न उहाँहरुलाई पनि समस्या पर्ने भएकाले नयाँ पुस्ता आकर्षित गर्नु पर्छ भन्ने तात्पर्यले हामीले यो योजना ल्याएका हौं' हुमागाईले भने 'ऐन नियमले गरेको व्यवस्था र विधिका आधारमा पालिकाले नयाँ पुस्ताका शिक्षक नियुक्ति गर्ने छ ।'

यसरी अवकासमा जान ईच्छुक शिक्षकलाई सेवा अवधिका आधारमा विभिन्न ५ वर्गमा विभाजन गरिएको छ । सोही अनुसार शिक्षकले राहत रकम पाउने छन् । तर राहत शिक्षकका हकमा भने जुन सुकै उमेर समूहकाले पनि प्रोत्साहन रकम पाउन सक्ने छन् । उनीहरुलाई कुनै पनि अवधि जरुरी नपर्ने व्यवस्था गरिएको छ । 

आठ बर्ष भन्दा बढी सेवा अवधि बाँकी भएका शिक्षकले पाँच लाख रुपैंया प्रोत्साहन रकम पाउने छन् भने पाँच देखी सात बर्ष सेवा अवधि बाँकी भएकाले चार लाख, दुई देखि चार बर्षकाले तीन लाख र एक बर्ष देखि दुई बर्ष सेवा अवधि बाँकी भएकाले दुई लाख रुपैंया प्रोत्साहन रकम पाउने छन् । राहत शिक्षकले भने एकमुष्ठ तीन लाख रुपैंया पाउने छन् ।

पालिका भित्र रहेका ४० सामुदायिक विद्यालय मध्ये नौ वटा माध्यमिक तहका विद्यालय छन् । यी सबै विद्यालयमा गरी एक सय १४ जना स्थायी शिक्षक छन् भने अस्थायी र राहत गरी एक सय एक जना रहेका छन् । यी मध्ये १० देखि १५ जनाले यो कार्यक्रममा भाग लिने अपेक्षा गरिएको पालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले बताए । 

योजनामा सहभागी हुन चाहने शिक्षकले पुष मसान्त भित्र आवेदन दिनु पर्ने र एकपटक निवेदन दिए पछि फिर्ता लिन वा कार्यक्रममा भाग लिन्न भन्न नपाईने गरी सूचना जारी गरिएको पालिकाका सूचना अधिकारी युवराज पौडेलले बताए । 

प्रतिक्रिया