Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

मन्त्रीको निजी सचिवालयमा शिक्षकको काज !

मंगलबार, २८ पुस २०७७

नवलपरासी - शिक्षकको काज वा सरुवा कहाँ हुन्छ ? 

प्रश्नको उत्तर सजिलो छ – विद्यालयमा ! 

तर, सबै शिक्षकको हकमा यो उत्तर नमिल्ने उदाहरण कावासोती नगरपालिका १४, त्रिभुवननगर स्थित जनता माध्यमिक विद्यालयका एक जना शिक्षकको काज सरुवाले पुष्टि गरेको छ । 

उक्त विद्यालयका शिक्षक मिन बहादुर लामाको काज सरुवा विद्यालयमा नभएर एक जना मन्त्रीको निजी सचिवालयमा भएको छ । शिक्षक दरबन्दी मिलानको काम शुरु भएकाले जिल्लान्तर सरुवा नगर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले रोक लगाएको एक साता पनि नवित्दै सोमबार उनको काज सरुवा गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी बर्दघाट सुस्ता पुर्वका इकाइ प्रमुख कृष्णचन्द्र पोख्रेलले लामालाई युवा तथा खेलकुद मन्त्री दावा लामाको निजी सचिवालयमा मुकाम तोकेका छन् । 

सत्ताधारी दल भित्रको किचलोका कारण प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसँगै तत्कालिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहित ७ जना मन्त्रीहरुले राजिनामा गरेपछि भएको मन्त्रीमण्डल फेरबदलमा लामा मन्त्री भएका थिए । तत्कालिन मन्त्री जगतबहादुर विश्वकर्मालाई हटाएर ओलीले लामालाई मन्त्री बनाएका हुन् । 

संसद विघटन गरेपछि विस्तार गरिएको उक्त मन्त्रीमण्डल असंबैधानिक भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ । तर, पनि आफ्नो सचिवालयलाई पूर्णता दिन मन्त्री लामाले उनलाई सचिवालयमा ल्याउन सरुवा गराउन लगाएका हुन् । साविकको निमावी तहको अँग्रेजी विषयका स्थायी शिक्षक लामा मन्त्री लामाका पारिवारिक सदस्य हुन् । 

केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाको काज सम्बन्धि निर्देशनका आधारमा उक्त काज सरुवा गरिएको पोख्रेलले बताए । केन्द्रले गत पुस २० गते सोमबार जिल्लान्तर सरुवामा रोक लगाउने निर्णय गरे पछि २२ गते बुधबार इकाइलाई काज सरुवा गर्न पत्राचार गरेको थियो । सोही आधारमा इकाइले गरेको पत्राचार पछि विद्यालयले गएको आईतबार र कावासोती नगरपालिकाले सोमबार सहमती दिए लगत्तै पोखरेलले सोमबारै लामाको काज तोकेका हुन् । 

'केन्द्रबाट प्राप्त निर्देशन र यहाँ पुरा गर्नु पर्ने आवश्यक विधि प्रकृया पुरा गरेर उहाँको काज सरुवाको निर्णय गरिएको हो' पोख्ररेलले भने 'अब उहाँको ठाउँमा नगरपालिकाले सट्टा शिक्षकको व्यवस्था गर्ने छ र उहाँको तलब भत्ता काठमाडौंबाटै भुक्तान हुने छ ।'

तर, उक्त काज सरुवालाई जिल्लाका शैक्षिक अभियन्ताहरुले अमिल्दो रहेको टिप्पणी गरेका छन् । राज्यको संरक्षणमा गर्न हुने नहुने काम सबै भएको भन्दै एक जना शिक्षकले यसलाई ''नैतिकतासँग जोडेर हेर्नु पर्ने' बताए । 

'एक जना  शिक्षकको मुख्य काम भनेको बालबालिका पढाउने हो, तर शिक्षक विद्यालयमा भन्दा मन्त्रीको निजी सचिवालयमा काम गर्न ईच्छुक हुन्छ भने यसलाई शक्तिको पछि लाग्ने संस्कारका रुपमा बुझ्नु पर्छ' ती शिक्षकले 'भने कुनै पनि राजनीतिक दल निकट संघ संगठनको  कार्यकारी पदमा बस्न शिक्षकलाई बञ्देज गरिएको अवस्थामा मन्त्रीकै निजी सचिवालयमा बस्न काज सरुवा लिने / दिने कुरा नैतिकतासँग जोडिएको प्रश्न हो ।'

उक्त विद्यायलयका प्रधानाध्यापक गिरिराज गिरीले आफ्नो वृत्ति विकास हुन्छ काज सरुवा गरिदिन सहमती दिनु भनेर निवेदन दिएपछि वाधा दिन मन नलागेकोले सहमती दिएको बताए । विगत तीन बर्ष देखि पढाईरहेका लामाको ठाउँमा राख्ने सट्टा शिक्षकका बारेमा प्रकृया शुरु गर्न नगरपालिकालाई अनुरोध गरिसकेको उनले बताए । 

'उहाँको वृत्ति विकास हुन्छ भने मैले किन रोक्नु जस्तो लाग्यो' उनले भने 'कम्तिमा एक शैक्षिक सत्र भरि बालबालिकालाई एउटै शिक्षकले पढाउनु पर्छ भनेर यो बिचमा विद्यालयमा आउने छैन, यो अवधिको तलब भत्ता पनि दावी गर्ने छैन भन्ने प्रतिवद्धता पत्र सहित उहाँलाई विद्यालयले सहमती दिएको हो ।'

विद्यालयमा २१ जना स्थायी दरबन्दी सहित ३९ जना शिक्षक छन् । कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालयमा ७ सय ८५ विद्यार्थी छन् । 

जिल्लाभरी स्थायी शिक्षकको संख्या १ हजार ७ सय ८५ र सामुदायिक विद्यालयको संख्या ३ सय १२ रहेको इकाइसँग तथ्याङ्क छ । 

प्रतिक्रिया