Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षक दरबन्दी मिलानसँगै जिल्लान्तर सरुवा रोक्का

मंगलबार, २१ पुस २०७७

भक्तपुर - लामो समय देखि उल्झनमा रहँदै आएको दरबन्दी मिलानको काम शुरु गरेसँगै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरूवामा रोक लगाएको छ । जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइलाई सोमबार परिपत्र गर्दै केन्द्रले दरबन्दी मिलानको कार्य भईरहेको र यो काम सक्न केही समय लाग्ने भएकाले त्यतिञ्जेल सम्म जिल्लान्तर सरुवा नगर्न भनेको हो । 

‘विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राख्ने' उक्त परिपत्रमा भनिएको छ, ‘शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिको लागि जिल्लागत विवरणसमेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यका लागि केन्द्रको पूर्वअनुमतिमा गरिने जिल्लान्तर सरूवाबाहेक सबै तह र श्रेणीका शिक्षकहरूको जिलान्तर सरूवा अर्को सूचना प्रकाशित नहुन्जेलका लागि रोक्का गरिएको छ ।'

शहर बजार तथा सुगम जिल्लामा रहन चाहने शिक्षकको मानसिकताका कारण दरबन्दी मिलानको विषय लामो समय देखि उल्झनमा रहँदै आएको छ । यस विषयमा  अध्ययन गर्न सरकारले पूर्व सचिव महाश्रम शर्माको नेतृत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो । तर दरबन्दी मिलानको काम शुरु नहुँदा आवश्यक ठाउँमा शिक्षक नपुग्ने र अनावश्यक ठाउँमा थुप्रने समस्या हुँदै आएको छ । यस्तो अवस्थालाई सुधार गर्न केन्द्रले गत पुस २ गतेबाट शिक्षक दरबन्दी मिलान शुरु गरेको थियो । 

पढ्नुहोस् : शिक्षक दरबन्दी मिलान शुरु, रिक्त दरबन्दी भएकाले सरुवा भने नहुने

तर अहिले पनि विभिन्न तरिकाबाट सरुवाका कार्य भईरहेको देखिए पछि यो निर्णय गरिएको केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले बताए । 

हामीले दरबन्दी मिलानको कार्य शुरु गरिसकेका छौं, यहि बेला कतै सरुवा हुने र कतै नहुने हुँदा असमानता देखियो, यसलाई समान बनाउन यो निर्णय गरिएको हो, उनले भने, नयाँ विज्ञापनका लागि पदसंख्या माग गर्दा पनि सरुवा गर्ने क्रम जारी भएपछि काममा अवरोध हुने देखियो । 

अब रिक्त पदको विवरण यकिन भएर विज्ञापन भईसके पछि मात्रै सरुवाका बारेमा निर्णय गर्ने केन्द्रको योजना छ ।  

प्रतिक्रिया