Edukhabar
शनिबार, १५ बैशाख २०८१
शिक्षामा यो साता

नयाँ पाठ्यक्रम कार्यान्वयनको अनुमति

आइतबार, ११ माघ २०७७

काठमाडौं - गत साता प्रकाशित समाचार, सम्पादकीय र पाठक पत्रहरू कक्षा ११ को नयाँ पाठ्यक्रमको विषयसँग सम्बन्धित रहे । अन्य समाचारमा अत्याधिक चिसोका कारण रौतहट र सप्तरीमा विद्यालयहरु बन्द भएको तथा काठमाडौं उपत्यकामा दश महिना पछि विद्यालय पुन सञ्चालनमा आएको लगायतका रहेका थिए । 

समाचार अनुसार कक्षा १ र ११ मा यसै शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम अनुसारको पढाइ शुरु हुने भएको छ । नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न अदालतमा दायर गरेको रिट खारेज भएसँगै नयाँ पाठ्यक्रम लागू हुने भएको हो । नयाँ पाठ्यक्रम अनुसार कक्षा ११ र १२ मा संकाय हटाएर अनिवार्य र ऐच्छिक विषयहरुको व्यवस्था गरिएको छ । निजी विद्यालयहरु नयाँ पाठ्यक्रमको परीक्षणको समय देखि नै असन्तुष्ट थिए । सरकारले उनीहरुका माग प्रति वेवास्ता गर्दै नयाँ पाठ्यक्रम कार्यान्वयनमा जोड दिए पछि अदालतमा रिट दर्ता गरिएको थियो । कक्षा ११ र १२ अध्यापन गराउने विद्यालयको छाता संगठन उच्च माध्यमिक विद्यालय संघ (हिसान) ले नयाँ पाठ्यक्रमले विद्यालय र विद्यार्थीलाई अनावश्यक तनाव दिने उल्लेख गरेको छ । हिसानका पदाधिकारीहरुका अनुसार नयाँ पाठ्यक्रम अनुसार पढ्दा विद्यार्थीहरुलाई विश्वविद्यालयमा विज्ञान विषय अध्ययनमा कठिनाइ हुने र त्यसका लागि अतिरिक्त गणित अथवा जीव विज्ञान अध्ययन गर्नुपर्ने हुन्छ । समाचार अनुसार यदि कुनै विद्यार्थीले गणित पढ्न चाह्यो भने उसले सात वटा विषय पढ्नु पर्छ ।

गत साताको नेसनल मेडिकल कलेज वीरगंजले विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरेको समाचारकै विषयमा प्रकाशित एक सम्पादकीयमा चिकित्सा शिक्षाको अध्यारो पक्षको साथ साथै राज्यको सामाजिक न्यायको सुनिश्चितता गर्ने दायित्वको विषयमै जटिलता देखिएको छ । पाठक पत्रमा केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रिय सदस्य संलग्न कलेजलाई कारवाहीको दायरामा ल्याउनुपर्ने र छुट दिन नहुनेमा जोड दिइएको छ । चिकित्सा शिक्षा आयोग र डिन अफिसको निर्देशनको पालना नगर्ने र कुनै कारवाही नहुने कलेजमा कतै प्रधानमन्त्रीकै लगानी छ कि भन्ने शंका गर्न सकिने पाठक पत्रमा उल्लेख गरिएको छ । लेखकले सरकारले तत्कालै यस्ता कलेजको सम्बन्धन खारेज गर्नुपर्ने माग गरेका छन् । 

कोभिड पश्चातको समयलाई समेत ध्यान दिदैँ नेपाल शिक्षक महासंघ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लगायत विभिन्न संस्थाहरुको सहकार्यमा सिकाइ निरन्तरता अभियान शुरु भएको समाचार प्रकाशन भएको छ । 

सप्तरीको सप्तकोशी नगरपालिकाले चिसो बढेको हुँदा एक हप्ताका लागि सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । यसैगरी स्थानीय प्रशासनले रौतहटका गौर, गरुडा, पर्रोहा र राजपुर नगरपालिकाका सबै निजी र सामुदायिक विद्यालय ३ दिनका लागि बन्द गर्न आग्रह गरेको छ । एकदमै धेरै चिसो भएकाले विद्यालय खोलेर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न नसकिने भएकाले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।  

एकदमै धेरै गर्मि र चिसोले शिक्षण सिकाइ क्रियाकलापलाई प्रभाव पार्ने गरेको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता जटिलता तथा प्राकृतिक प्रकोपहरु तथा बदलिदो जलवायु परिवर्तन समेतलाई ध्यान दिनु जरुरी छ ।

काठमाडौं उपत्यकाका सबै स्थानीय तह अन्तर्गतका विद्यालयहरु कोभिड महामारिको दश महिनापछि पुन सञ्चालन हुन लागेका छन् । सरकारले कोभिड सङ्क्रमणको अवस्थालाई ध्यानमा राखी विद्यालय खोल्ने निर्णय गर्न सम्बन्धित पालिकाहरुलाई मङसिरको शुरुमा अधिकार दिएको थियो । विद्यालयहरुले अनलाइन कक्षा लिइरहेका कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई भौतिक रुपमै विद्यालमा बोलाएका छन् । सम्पादकीयमा एउटा विद्यालयले बालबालिकाहरूको मात्र स्वास्थ्य मापदण्ड पालनमा ध्यान दिन नसक्ने भएकाले सबै सरोकारवालाहरुले यसमा ध्यान दिनुपर्ने उल्लेख छ । 

एक विचारमूलक आलेखमा भारतको अनिवार्य व्यवसायिक शिक्षा र त्यसले लेखकको जीवनमा पारेको प्रभावका सम्बन्धमा चर्चा गरिएको छ । यस्तै अहिलेको कक्षा ८ सम्मको व्यवसायिक शिक्षा अपर्याप्त र अव्यवहारिक रहेको उल्लेख छ । लेखकले यस्तो व्यवसायिक शिक्षाको ज्ञान कक्षा १० सम्म नै व्यवस्था गरी विद्यार्थीलाई उद्यमी बन्न प्रोत्साहन गर्नुपर्छ भनिएको छ । यस्तै लेखकले व्यवसायिक शिक्षाका शिक्षक र विद्यालयले समुदाय तथा अन्य व्यापारीक सरोकारवालाहरुसँग सहकार्य गरी यसलाई प्रभावकारी बनाउनु पर्छ भन्नेमा जोड दिएका छन् । 

यस्तै अर्को एक समाचारमा मनसुनी प्रकोप र बाढीले विद्यालयको भौतिक पूर्वाधारमा पुगेको क्षतिको विषय समेटिएको छ । ढोरपाटन नगरपालिकाको नवचेतना प्राथमिक विद्यालयको भवन बाढीले बगाएपछि व्यवस्थापन समिति र युवाहरुले देश विदेशमा भवन निर्माणका लागि कोष बनाउने अभियान सञ्चालन गरेका छन् । तलको तस्वीरले पनि यस्तै अवस्था देखाएको छ । जाजरकोटको भेरी नगरपालिका ५ काफलचौरको प्राविधिक विद्यालयमा पूर्वाधारको अभावमा खुला स्थानमा पठनपाठन सञ्चालन भएको  छ । 

तस्वीर : जाजरकोटको भेरी नगरपालिका ५, काफलचौरको बहु प्राविधिक शिक्षालयमा भौतिक पूर्वाधारको अभावमा खुला स्थानमा पठनपाठन हुँदै । कान्तिपुर दैनिकमा माघ ४ मा प्रकाशित । 

विद्यार्थीले उपयुक्त वातावरणमा पढन् पाउनु उनीहरुको अधिकार नै हो । तथापि खुला स्थानमा पढ्ने विषयलाई नराम्रो मान्ने गरिन्छ । खुला स्थानबाट पनि थुप्रै कुराहरु सिक्न सक्ने अवसर हुने हुँदा यसलाई नराम्रै नै भन्नुपर्ने त होइन तर हाम्रो शिक्षाको अर्थ परीक्षाका लागि किताब पढ्ने भएकाले यसरी हेर्ने गरिएको छ । 

कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले गत बुधबार काठमाडांै विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापाको नियुक्ति गरे पनि गत साताका समाचारमा उक्त पदमा ४४ जना प्रतिस्पर्धीको आवेदन परेको विषय प्रकाशित भएको थियो । यस्तै गत साताका अन्य समाचारमा अध्ययनका लागि विदेशमा जान चाहने नेपाली विद्यार्थी लक्षित अनलाइन शैक्षिक मेला सञ्चालन, विदेशमा उच्च शिक्षा अध्ययन गर्न जादा विद्यार्थीलाई उपलब्ध हुन सक्ने अवसरहरू बारेमा  विशेष क्षेत्र छुट्याएर जानकारी उपलब्ध गराइएको, सप्तरीमा विद्यालय तहका बालबालिकालाई सहयोग उपलब्ध, भारतको दिल्लीमा अर्को सातादेखि विद्यालय खुल्ने लगायतका रहेका छन् ।

‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्समा पुस १२ देखि २८ गते सम्म प्रकाशित शिक्षा सम्बन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Court nods for new curriculum !

 

प्रतिक्रिया