Edukhabar
विहीबार, ०६ बैशाख २०८१
शिक्षामा यो साता

भौतिक रुपमै सञ्चालनको तयारीमा शैक्षिक संस्थाहरु

आइतबार, ०९ फागुन २०७७

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९) को खोप शुरु भएर अवस्था सुरक्षित हुदैँ जाँदा देशभरीका शैक्षिक संस्थाहरु भौतिक रुपमै सञ्चालनको तयारीमा लागेका छन् । गत साता भरीका समाचारहरूमा माथिल्ला कक्षाहरुमा हुने प्रयोगात्मक क्रियाकलाप, राम्रो नतिजाका लागि क्रियाकलापमा आधारित पाठ्यक्रम, निजी विद्यालयको शुल्क र शैक्षिक विकृति विरुद्धको अभियान र विद्यालयको सुरक्षासँग सम्बन्धित रहेका छन् । 

समाचारमा उल्लेख भए अनुसार चैतबाट त्रिभुवन विश्वविद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन शुरु हुने भएको छ । त्रिविमा नयाँ शैक्षिक सत्र शुरु भएको ३ महिनापछि कक्षा सञ्चालन हुदैँछन् । त्रिविका सम्बन्धन प्राप्त केही क्याम्पसहरुले भने स्थानीय तहको अनुमतिमा पठनपाठन शुरु गरिसकेका छन् । त्रिविका रजिष्ट्रारले कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएका कारण पठनपाठन ढिलो हुन गएको वताएका छन् ।  उनका अनुसार त्रिविले मङ्सिरबाट विभिन्न तहका परीक्षाहरु लिइरहेको छ । सन् १९५९ मा स्थापना भएको विश्वविद्यालयका एक हजार एक सय २४  सम्बन्धन प्राप्त क्याम्पसहरु छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड खोपका लागि शैक्षिक संस्थाका शिक्षक तथा कर्मचारीलाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र लेखेको समाचार प्रकाशन भएको छ । यसपहिले शिक्षाका विभिन्न सरोकारवालाहरू राष्ट्रिय शिक्षक महासंघ, अभिभावक संघ, निजी विद्यालय सञ्चालकहरुका संस्थाहरुले पनि शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पहिले नै देशभरका सात सय ५३ पालिकाका शिक्षा शाखालाई शिक्षक विवरण तयार गर्न परिपत्र गरेको थियो । 

अर्को एक समाचार अनुसार संघीय ढाँचा अनुसार एसइइ परीक्षा सञ्चालनको जिम्मेवारी प्रदेश तथा स्थानीयमा नदिएर केन्द्रमै राखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले पुरानै विधि अनुसार कक्षा १० को एसइइ परीक्षा सञ्चालन गर्नु संविधानको भावना विपरीत हुन्छ । शिक्षा मन्त्रालयले भने एसइइ परीक्षा सञ्चालनका सम्बन्धमा चार विकल्पहरु विद्यालय, स्थानीय, प्रदेश र केन्द्र मन्त्रीपरिषद्मा प्रस्ताव गरेको थियो । 

समाचारमा उल्लेख भए अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालू शैक्षिक सत्र जेठसम्म लम्बाउने तयारी गरेको छ । मन्त्रीपरिषद्ले नियमावली संशोधन गर्दै एसइइ केन्द्रबाट गर्न र शैक्षिक सत्रको समय थप्न स्वीकृति दिएको हो । शैक्षिक सत्र वैशाखमा शुरु भएर चैतमा सकिने गरेको थियो, कोभिड महामारीको कारणले गर्दा २ महिना थप हुने भएको हो । यसअनुसार विद्यालय तहका सबै परीक्षाहरु जेठमा सम्पन्न भई असारबाट नयाँ शैक्षिक सत्र शुरु हुनेछ । 

अर्को एक समाचार अनुसार तनहुँमा ६० वर्ष उमेरका २२ आमाहरुले विद्यालयमा अध्ययन गरिरहेका छन् । एउटै उमेर समूहकाहरुलाई शिक्षणमा सहजता भएको समाचारमा उल्लेख छ । 

एउटा पाठक पत्रमा निजी विद्यालयले सरस्वती पूजाको बहानामा निःशुल्क भर्ना भनेर गरेको विज्ञापनको पछी नलाग्न अभिभावकलाई आग्रह गरिएको छ । शिक्षाकी देवीको रुपमा देशभरी नै सरस्वती पूजा गर्ने गरिन्छ । यो निजी विद्यालयको बालबालिकालाई अक्षर चिनाउने नाममा आकर्षित गर्ने एक विधिमात्र हो भनेर लेखकले उल्लेख गरेका छन् । 

शैक्षिक विकृतिका विरुद्ध गरिएको अभियानमा शैक्षिक संस्थाहरुमा राजनीतिक भागवण्डामा पदाधिकारी नियुक्ति गर्ने कार्य रोक्नुपर्ने माग गरिएको छ । त्रिभुवन विश्वविद्यालय क्याम्पस किर्तिपुरमा वृहत नागरिक आन्दोलनको रुपमा प्रदर्शन भएको छ । यो नागरिक आन्दोलन शैक्षिक विकृतिका विरुद्ध लक्षित छ । राज्यले उपयुक्त शैक्षिक नीति तय गर्न नसक्दा लाखौँ व्यक्ति वेरोजगार भएको प्राध्यापक तथा विद्यार्थीले वताएका छन् । अभियानका सहभागिहरुले राज्यले निजीकरण र व्यापारीकरणमा दिएको प्रोत्साहनप्रति असन्तुष्टी जनाएका छन् । 

समाचारमा उल्लेख भए अनुसार दुई दशकभन्दा बढी समयदेखि विवादमा रहेको गेटा मेडिकल कलेज सञ्चालनको अन्तिम चरणमा पुगेको छ । समाचार अनुसार अब कुनै अवरोध नभए सुदूरपश्चिम प्रदेशमा पहिलो मेडिकल कलेज एकवर्षभित्रै सञ्चालनमा आउनेछ । 

यस्तै एक विचार मूलक आलेखमा लेखकले सिकाउने मुख्य कुरा के हो भन्दै शिक्षकले सामना गरिरहेका मुख्य समस्याहरु र सिकाइमा आएका अवरोधहरुका लागि पाठ्यक्रमका अस्पष्ट उद्देश्यहरु र महत्वाकांक्षी पाठ्यक्रम एउटा कारण हो भन्नेमा जोड दिएका छन् ।  पाठ्यपुस्तक एउटा राम्रो सिकाइ स्रोत भएपनि यो आफैमा पूर्ण हुन सक्दैन । यदि पाठ्यपुस्तक नदिए शिक्षकहरु शिक्षणको सुरक्षित क्षेत्रबाट चुनौतीतर्फ आउने थिए र सुधार हुने थियो भन्नेमा लेखकले जोड दिएका छन् । 

अर्को एक विचारमूलक आलेखमा वर्तमान शिक्षाले लैङ्गिक भूमिकाको बुझाइमा परिवर्तन ल्याउनुपर्ने विषयमा जोड दिइएको छ । तर वर्तमान पाठ्यपुस्तकहरुले आमाले घरको काम गरेको र बाबुहरुले कार्यालयमा काम गरेको प्रस्तुत गरेको लेखमा उल्लेख  छ । 

विद्यार्थीको मृत्युमा विद्यालय कर्मचारीको संलग्नता शीर्षकको समाचार अनुसार झापाको चम्मापुर माध्यमिक विद्यालयका कर्मचारी विद्यार्थी हत्याको विषयमा पक्राउ परेका छन् । विद्यालय र अभिभावकले उजुरी दर्ता गरेपछि अनुसन्धानका लागि प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । स्रोतहरुका अनुसार उनले केहि हप्ता पहिले कक्षा ४ मा पढ्ने १० वर्षीय विद्यार्थीको कान तानेर सजाय दिएका थिए । 

यस्तै अर्को एक समाचार अनुसार कक्षा १० का विद्यार्थीलाई शारीरिक सजाय दिएको विषयमा जिल्लास्तरमा विद्यार्थी युनियनहरुले चासो दिएका छन् । समाचार अनुसार विद्यार्थी युनियनका प्रतिनिधिले ती शिक्षकले राजीनामा गर्नुपर्ने माग गरेका छन् । शिक्षकले स्थानीय सरकारका पदाधिकारी समक्ष माफि मागेर अब यस्तो नगर्ने प्रतिबद्धता जनाएका छ्न । 

यस्तै अर्को समाचारमा १७ वर्षीय छात्रालाई बलात्कार पछि हत्या गरिएको समाचारसँगै सन्त धर्म माध्यमिक विद्यालय गोडाकेदारेश्वर वैतडीका शिक्षक र विद्यार्थी त्रसित भएका छन् । 

समाचारहरुमा छात्रा र महिलाहरुमाथि भएका हिंसाका विषयहरु नियमित आइरहेका छन् । यस्ता घट्नाहरुले विद्यार्थीको मानसिक स्वास्थ्यमा मात्र असर नगरी नियमित विद्यालय नै सुरक्षित नभएको हो कि भन्ने प्रश्न सिर्जना गरेको छ । 

तस्वीर  : लिटिल गार्डेन एकेडेमी बेनीका विद्यार्थीले भागिरथी भट्टको हत्यारा पत्ता नलाग्दा आफूहरू असुरक्षित महशुष गरेको भन्दै प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन् । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशन भएको थियो । 

अन्य समाचारहरुमा सिरिजुङ्गा ३ तेललोकको पुन्डरुवा आधारभूत विद्यालय आगलागीबाट क्षति भएको तथा लर्ड बुद्ध एजुकेशन फाउन्डेसन र चार्टड एकाउन्टेन्ट एसोसियसन नेपालका बीच शैक्षिक सहकार्य र छात्रवृति सम्बन्धमा सम्झौता भएको छ । 

‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्समा माघ २८ देखि फागुन ४ गते सम्म प्रकाशित शिक्षा सम्बन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Preparations for reopening of Academic Institutions with physical classes

प्रतिक्रिया