Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

पूर्व निर्धारित परीक्षा यथावत सञ्चालन गर्न सकिने

सोमबार, १६ चैत्र २०७७

काठमाडौं - वायु प्रदुषणका कारण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय भए पनि यस अघि नै निर्धारण भएका परीक्षाहरु नियमित सञ्चालन गर्न सकिने शिक्षा मन्त्रालयले जनाएको छ । सोमबार शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको मन्त्रालय र अन्र्तगतका उच्च अधिकारीहरु सहितको बैठकले पूर्व निर्धारित कार्यतालिका अनुसार विभिन्न विश्वविद्यालय र उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरुले सञ्चालन गरिरहेका परीक्षाहरु भने नियमित गर्न सक्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । 

'पूर्व निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालयहरु तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरुले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरु सञ्चालन गर्न सक्ने छन्' निर्णयमा भनिएको छ । 

सरकारले आगामी शुक्रबार सम्म देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणबाट बालबालिकालाई बचाउन भन्दै मंगलबार देखि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको हो । यो अवधिमा आफ्ना बालबालिकाहरुलाई घर भित्रै रहने व्यवस्था मिलाई स्वास्थ्य प्रतिकुलताबाट जोगाउन सबै अभिभावकहरुलाई मन्त्रालयले अनुरोध समेत गरेको छ । यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदुषणका कारण स्वास्थ्य समस्या देखा पर्ने हुँदा सचेत रहन आग्रह गरेको थियो । सोही आग्रहका आधारमा शिक्षा मन्त्रालयले उक्त निर्णय गरेको हो । 

केही दिन यता काठमाडौं लगायत देशका विभिन्न स्थानमा वायु प्रदुषण बढेसँगै स्वास्थ्य समस्यामा जटिलता थपिँदै गएको छ । 

कोभिड - १९ संक्रमणको दोश्रो लहर आउन सक्ने भन्दै सरकारले यस अघि नै सभा जुलुस, बैठक, भेला गर्न रोक लगाईसकेको छ । 

प्रतिक्रिया