Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शैक्षिक संस्था बन्द नगर्न प्याब्सनको माग, जहाँ समस्या, त्यहाँ सावधानी अपनाउन सुझाव

आइतबार, २९ चैत्र २०७७

काठमाडौं - देशका सबै ठाउँलाई एउटै रुपमा नहेरी जहाँ समस्या हुन्छ त्यहाँ मात्रै स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गरी शैक्षिक गतिविधि सञ्चालनको वातावरण सृजना गरिदिन निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सनले माग गरको छ । कोरोना भाईरस (कोभिड - १९) को नयाँ भेरियण्टका कारण बढ्दै गएको संक्रमण जोखिमलाई ध्यान दिदैं स्वास्थ्य सावधानी नअपनाए शैक्षिक संस्था बन्द हुने स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक भईरहेका बेला प्याब्सनको यो धारणा सार्वजनिक भएको हो । मुलुकभरी कोरोना संक्रमणको वृद्धि दर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गर्न प्याव्सनले सरकारसँग आग्रह गरेको छ । 

संगठनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले जारी गरेको विज्ञप्तिमा विगतको बन्दाबन्दीको अनुभवलाई स्मरण गर्न आग्रह गर्दै महामारीका सन्दर्भमा विद्यालय सञ्चालन गर्न तयार गरिएको कार्यढाँचा अनुसार  शिक्षालयहरुका गतिविधिहरु सञ्चालन गर्न सान्दर्भिक भएको उल्लेख छ । उक्त कार्यढाँचामा स्थानीय अवस्थाको विश्लेषण गर्दै स्थानीय सरकारले विद्यालय सञ्चालन गर्न सक्ने व्यवस्था छ । 

तर पछिल्लो समय स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्ने गरी सिफारिस गरेसँगै अन्योल बढ्दो छ । कतिपय विद्यालयहरुमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले उक्त सिफारिस गरेको थियो । सोही आधारमा शनिबार बसेको कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले उक्त सिफारिस मन्त्रीपरिषद्मा लैजाने छलफल गरेको सार्वजनिक भएको थियो । त्यस लगत्तै आईतबार प्याब्सनले आफ्नो धारणा सार्वजनिक गरेको हो । 

प्याब्सनको विज्ञप्ति पढ्नुहोस् 

कोभिड–१९को संक्रमणको दोस्रो लहर विश्वका केहि देश लगायत छिमेकी मुलुक भारतमा अत्यन्तै तीव्र गतिमा फैलिरहेको समाचार आई रहेको परिप्रेक्ष्यमा नेपालमा समेत बढ्दै गएको संक्रमणसँगै सरकारका सम्बन्धित निकायहरुले आवश्यक छलफल, अन्तक्र्रिया गरी राय सुझाव लिने दिने कार्य तीव्र गतिमा भइरहेको छ । उक्त कार्यसँगसँगै विभिन्न सञ्चार माध्यमहरु लगायत सामाजिक सञ्जालमा फैलिरहेका समाचारहरुले नेपाली जनमानसको मनोविज्ञानमा पारेको प्रभावलाई हाम्रो संगठनले नजिकबाट नियालि रहेको छ । २०७६ चैत्र ११ गतेबाट गरिएको बन्दाबन्दीले विश्वका कतिपय मुलुक सँगसँगै नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, आर्थिक क्षेत्र र रोजगारीको क्षेत्र लगायत जनजीविकाका विभिन्न पक्षमा पारेको प्रभावहरु आम नेपाली जनताले अनुभूत गरिसकेका छन् । बन्दाबन्दी मात्र रोकथामको उपाय होइन भन्ने प्रमाणित भईसकेको छ । बन्दाबन्दी पश्चात बामे सर्न थालेको जनजीवन पुन अस्तव्यस्त हुन सक्ने समाचार तथा हल्लाहरुले आम जनतामा सकारात्मक भन्दा नकारात्मक प्रभावहरु पारेको छ । यस्ता समाचारहरु कसैका लागि पनि हितकर होइनन् भन्ने हाम्रो ठम्याई छ ।

सरकारकै केहि निकायहरुले विद्यालयहरु भौतिक रुपमा बन्द गराई अनलाईनबाट पठ्नपाठन जारी राख्ने भनि ऋऋःऋ लाई सिफारिस गरिएको भन्ने समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ । भारतसँग खुल्ला सीमानाका कारण नेपालमा कुनै पनि बेला संक्रमणले तिव्रता हासिल गर्न सक्ने सम्भावना, केहि दिन यता नोपलको संक्रमण दर बढ्दो क्रममा रहनु,  नेपाल भित्र आम जनमानसद्वारा स्वास्थ्य सावधानीमा चरम लापरवाही भइरहनु आदि कुराले हामी सबैलाई अत्यन्त चिन्तित तुल्याएको छ । 

कोरोनाको दोस्रो लहरले १८ वर्ष मुनिका बालबालिकाहरु समेत प्रभावित हुन सक्ने पुष्टि भइरहँदा र बालबालिकाहरुकालागी भ्याक्सिनको परीक्षण समेत भइनसकेको सन्दर्भमा उक्त समूहलाई संक्रमित हुनबाट जोगाईराख्न अपनाउनु पर्ने स्वास्थ्य सावधानीका सन्दर्भमा निजी लगानीका विद्यालयहरुको छाता संगठनको नाताले निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन, नेपाल (प्याब्सन) अत्यन्तै गम्भीर रहेको व्यहोरा अनुरोध छ । आफ्ना सदस्य विद्यालयहरुलाई स्वास्थ्य सावधानीका पूर्ववत उपायहरु अनिवार्य र कडि कडाउका साथ अपनाई पठ्नपाठनका साथै अन्य गतिविधि सञ्चालन गर्न गराउन मिति २०७७÷१२÷१९ मा आन्तरिक परिपत्र समेत जारि गरि सकिएको छ ।

यसै सन्दर्भमा नेपालको भौगोलिक विकटता, अभिभावकहरुको आर्थिक तथा सामाजिक अवस्था, ईन्टरनेटको उपलब्धताको अभाव, शिक्षकहरुको प्राविधिक दक्षता जस्ता कारणले नेपालको सामुदायिक तथा सार्वजनिक शिक्षालयमा मात्र नभएर निजी शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुकोे पनि ५०% क्षेत्र अनलाईन शिक्षाले समेट्न नसक्ने कुरा विगतको बन्दाबन्दीमा गरिएको प्रयोगले प्रमाणित गरि सकेको छ ।

अतः कोरोना संक्रमण र यसको प्रभाव न्यूनीकरणका लागि नेपाल सरकारले तयार गरेको स्वास्थ्य सावधानी सम्बन्धी उपायहरुलाई हरेक क्षेत्रमा कडि कडाउका साथ लागु गर्न गराउन स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारका सम्बन्धित निकायहरुलाई जिम्मेवारी सहित सक्रिय बनाउनु अहिलेको प्राथमिकता हुनुपर्छ । कोरोनालाई जीवनको एउटा हिस्साको रुपमा स्वीकार्दै कोरोनासँग संघर्ष गर्दै जनजीवनलाई यथासम्भव सहज बनाउने तर्फ पहल कदमी गर्न जरुरी छ । विगतको बन्दाबन्दी पश्चातः विद्यालय सञ्चालन गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल समेत गरि तयार गरेको कार्यढाँचा अनुसार  शिक्षालयहरुका गतिविधिहरु सञ्चालन गर्न सान्दर्भिक भएको छ । आवश्यकता अनुसार शिक्षालयहरुमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु सरकारका सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ । शिक्षालयहरुमा कार्यरत शिक्षक–कर्मचारीहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग हाम्रो अनुरोध छ । 

सबै शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्न गराउन विशेष भूमिका निर्वाह गर्न सबै शिक्षक–कर्मचारीहरुलाई अनुरोध छ । 

आ–आफ्ना बालबालिकाहरुलाई संक्रमणबाट जोगिन मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दुरीको अवलम्बनका साथै स्वास्थ्यवर्धक खानपिन गराउने जस्ता कार्यहरुमा सहयोग पु¥याईदिनुहुन आम अभिभावकहरुलाई अनुरोध छ ।

मुलुकभरी कोरोना संक्रमणको वृद्धि दर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भए सम्बधित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्र केहि निश्चित समयका लागी मात्र प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सृजना गरिदिनहुन नेपाल सरकार सँग माग गर्दछौं ।

प्रतिक्रिया