Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

विद्यालय बन्द गर्नु परे 'डिसिसिएमसी'सँग समन्वय गर्नु पर्ने

शुक्रबार, ०३ बैशाख २०७८

काठमाडौं - विद्यालय बन्द गर्ने वा नगर्ने कुरा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को समन्वयमा गर्नु पर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको छ । शुक्रबार शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ सहित मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

जब की गत असोज २० गते मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७ मा स्थानीय सरकार र विद्यालयको भूमिकालाई आत्मसात गरिएको थियो । तर शुक्रबार मन्त्री श्रेष्ठ सहितको बैठकले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने डिसिसिएमसीलाई जिम्मेवार बनाउने निर्णय गरेको हो । 

यो निर्णय सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, शहर वा स्थान विशेषको हकमा डिसिसिएमसीको समन्वयमा विद्यालय बन्द गर्ने वा खोल्ने कार्य हुने छ । 

कोरोना भाईरस कोभिड १९ को नयाँ भेरियण्टको संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई जोखिमका रुपमा राखेको भोलिपल्ट मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी तीन बुँदे प्रेस विज्ञप्तिमा बन्द गरिएका विद्यालयहरू पुनः सञ्चालन गर्दा सो कार्यढाँचामा तोकिएका विधि तथा प्रकृयाहरूको पालना गर्न अनुरोध गरिएको छ । साथै विद्यालयहरू बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका अनुसार गर्न भनिएको छ । गत बर्ष जेठ १८ गते मन्त्रालयले विभिन्न पाँच वर्गमा छुट्याएर वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका जारी गरेको थियो । 

संक्रमण पुनः बढ्दो अवस्थामा रहेको र त्यसबाट विशेषतः विद्यालय जाने उमेर समूहका विद्यार्थीमा संक्रमण फैलिन सक्ने भनी व्यक्त भएका चिन्ता र चासो प्रति मन्त्रालय गम्भिर रहेको विज्ञप्तिमा उल्लेख छ । शिक्षण संस्थामा अनावश्यक भय त्रास सिर्जना गर्न नहुने र स्वास्थ्य सम्वेदनशीलतालाई ख्याल गरी थप सजगता अपनाउन आग्रह गर्दै विज्ञप्तिमा गत चैत्र ३० गते सरोकारवालासँग भएको अन्तरक्रियामा प्राप्त सुझावहरू समेतका आधारमा नेपाल सरकारबाट थप निर्णय वा निर्देशन नभएसम्म निम्न अनुसार गर्नु गराउनु हुन अनुरोध गरिएको छ :

- सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहवाट तय गरिएका थप मापदण्डको पनि पालन गर्नु गराउनु हुन तथा शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने, सावुन पानीले हात धुने र व्यक्तिमा संक्रमणको लक्षण पाइएमा तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी वनाउनु हुन ।

- शिक्षण संस्थाहरू सञ्चालन गर्दा भीडभाड नहुने गरी विद्यार्थीको संख्या एवम् संस्थाको मौजुदा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको संक्रमणको पछिल्लो अवस्था समेतलाई विचार गरी स्थानीय तहसँग समन्वय एवम् परामर्श गरी आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाइ सम्वन्धित संस्थाले सिकाई कृयाकलाप सञ्चालन गर्ने व्यवस्था मिलाउनु हुन । तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्नु, नगराउनुहुनका साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयवाट जारी भएको विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७ को अनुशरण गर्नुहुन ।

प्रतिक्रिया