भर्चुअल कक्षा : अरु बेला चुपचाप, जुनबेला पानी पर्छ त्यही बेला छाता !


बर्ष दिनसम्म थलिएर बल्लतल्ल उठ्न लागेको शिक्षा क्षेत्रमा कोरोना भाइरस कोभिड १९ को नयाँ भेरियण्ट देखा परेसँगै थप समस्या उत्पन्न भएको छ । अधिकांश बालबालिका कोरोना संक्रमित हुन थाले पछि शिक्षा क्षेत्रमा एक किसिमको अन्योलता छाएको छ । देशका प्रमुख शहरमा अर्थात खासगरी भारतीय सिमासँग जोडिएका प्रमुख शहरमा संक्रमणको जोखिम बढेसँगै त्यस क्षेत्रका विद्यालयहरु बन्द हुन थालेका छन् । कोभिड – १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को सिफारिस र स्वास्थ्य मन्त्रालयको अनुरोधमा संघीय सरकारले १४ जिल्लाका प्रमुख शहरहरुमा भौतिक उपस्थितिलाई रोकेर भर्चुअल कक्षा मार्फत शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने गरी वैशाख मसान्त सम्मका लागि विद्यालय तथा कलेजहरु बन्द गर्न निर्देशन दिएको छ । केन्द्रीय सरकारको निर्देशनको आधारमा सम्बन्धित स्थानीय सरकारले पनि आफू मातहतका विद्यालयहरु बन्दका लागि निर्देशन गरिसकेका छन् ।  

गतवर्ष चैतको दोस्रो साताबाट बन्द गरिएका विद्यालय र कलेजहरु कोरोना भाइरसको संक्रमणको डरले करिब नौ महिनासम्म बन्द नै रहिरहे । औपचारिक रूपमा पुसको पहिलो साताबाट मात्र खुलेका विद्यालय र कलेजहरु पूर्ण रुपमा चार महिनासम्म पनि सञ्चालन हुन नपाउँदै बन्द हुनु आम विद्यार्थी र अभिभावककको लागि चिन्ताको विषय बनेको छ । संक्रमित हुनेको संख्या दिनप्रतिदिन तिव्र गतिमा बढ्दै गईरहेको अवस्थामा अब विद्यालय र कलेज कहिले खुल्ने हो भन्न सकिने अवस्था छैन । यसले आफ्ना बालबालिकाहरुको भविष्य बिग्रने हो कि भन्ने चिन्ता अभिभावकहरुमा थपिएको छ भने विद्यार्थीमा थप तनाव सिर्जना भएको देखिन्छ । शिक्षकहरुमा एक किसिमको अन्योलता छाएको छ ।

एकपटक देखा परिसकेको आपतकालिन अवस्थाबाट पाठ सिकेर अब आउने त्यस्तै प्रकारका आपतकालिन अवस्थालाई कसरी टार्ने भन्ने कुनै पनि योजनाको पूर्वतयारी नगर्दा यस्ता समस्याहरुबाट हामी सधै नै पिरोलिरहुनु परेको छ । जुनबेला पानी पर्छ त्यही बेला छाता किन्नका लागि बजार जाने हाम्रो सोच र मानसिकता भएकै कारण बारम्बार हामी यस्ता अकस्मात देखापर्ने संकटहरुबाट पिरोलिरहेका हुन्छाँै, अनि हामी फेरि झल्यास्स व्यूँझने प्रयत्न गर्छौ तर त्यो संकटबाट उम्कने हजार प्रयत्न गरेपनि उम्कन सक्दैनौं ।

कोरोना समस्याले निम्ताएका समस्याहरुबाट संकटग्रस्त शिक्षा क्षेत्रलाई जिवन्त राख्ने कोशिस नगर्दा, आउँदा दिनहरुमा पनि यस्तै समस्या दोहोरिन सक्छ भन्ने आँकलन गर्न नसक्दा र वैकल्पिक उपायहरूको छनौट गरी तयारी अवस्थामा नरहदाँ शिक्षा क्षेत्र बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको यथार्थ हो । यो हामी सबैको ठूलो कमजोरी र भूल हो । कोरोना महामारीलाई राज्यले चुनौती होइन एउटा अवसरको रुपमा लिएर विकल्पको खोजि गरी तयारी अवस्थामा रहन सक्नुपर्थ्यो, त्यसो गर्न सकेन । उक्त महामारीबाट पाठ सिकेर हरेक विद्यालयलाई सूचना र प्रविधिले जोड्न सक्नु पर्दथ्यो, त्यो पनि गर्न सकेन ।

के यस्तै समस्या बारम्बार आइरहे सधैंभरि विद्यालय बन्द राखिराख्न मिल्छ ? सधैं विद्यालय बन्द भइरहे बालबालिकाहरुको भविष्य के हुने हो ? 

स्वास्थ्य मन्त्रालयले भौतिक उपस्थितिलाई रोकेर भर्चुअल कक्षा सञ्चालन गर्न भनेको छ तर कतिपय शिक्षकहरुलाई भर्चुअल कक्षा सञ्चालनको सम्बधमा ज्ञान पनि नहुन सक्छ । शिक्षकहरुमा भर्चुअल कक्षा सञ्चालन गर्ने कार्य क्षमताको अभाव हुँदा हितग्राहीका लागि फाइदा पनि नपुग्न सक्छ । भर्चुअल कक्षाको सम्बन्धमा शिक्षक, विद्यार्थी र अभिभावक तिनै पक्षमा राम्ररी ज्ञान हुनु जरुरी हुन्छ । भर्चुअल कक्षा सञ्चालन गर्न के–कस्ता पूर्वाधारहरुको  विकास गरिनु पर्दछ ? यस सम्बन्धमा शिक्षकलाई तालिम छ कि छैन ? विद्यार्थीमा भर्चुअल कक्षाको सम्बधमा जानकारी छ कि छैन ? शिक्षक लगायत  विद्यार्थी तथा अभिभावकहरु भर्चुअल कक्षा सञ्चालनका लागि आवश्यक पर्ने सामाग्रीहरुको पहुँचमा छन कि छैनन् ? के यस्ता विषयवस्तुहरुको सम्बन्धमा राज्य र राज्यका सेवा प्रदायक निकायद्वारा गम्भीर भएर सोचिएको छ ? 

देशको शहरमा रहेका एकाध विद्यालयहरु र तिनै विद्यालयमा अध्ययन गर्ने केही विद्यार्थीको  अवस्थालाई हेरेर यो निर्णय लिइनु कतिको जायज र न्यायपूर्ण हुन्छ ? के निर्णयकर्ताबाट यस विषयलाई गम्भीरतापूर्वक सोचेरै निर्णय लिएको हो ?

देशका अधिकांश ठाउँमा विद्यार्थीका लागि बस्न उपयुक्त विद्यालय भवन र कक्षा कोठा छैनन्, कक्षा कोठामा आवश्यक पर्ने भौतिक पूर्वाधारको निर्माण गरिएको छैन । बिजुली, खानेपानी, बस्ने डेक्सबेञ्च, कालोपाटी÷ सेतोपाटी र चक डस्टर तथा मार्कर समेत उपलब्ध हुन÷ गराउन  नसक्ने विद्यालयहरुले कसरी भर्चुअल कक्षा सञ्चालन गर्न सक्षम होलान् ? 

हाम्रा सामुदायिक विद्यालयहरुको अवस्था हेर्दा सामान्य कक्षा सञ्चालन गर्न त नसक्ने अवस्था देखिन्छ भने भर्चुअल कक्षा कसरी सञ्चालन गर्लान्, यो कुराको हेक्का राखिएको छ कि छैन ? 

हामीलाई थाह थियो कि कोरोना संक्रमणको जोखिम पुःन बढ्नेछ । संक्रमित को गणित हेर्दा शून्यमा झरेकै थिएन । छिमेकी देशहरुमा संक्रमित हुनेको संख्या उस्तै उस्तै नै थियो । कतिपय मूलुकहरुमा लकडाउन हटाएर पनि पुःन लगाइएको अवस्था थियो । संक्रमित मानिसहरूको मृत्यु भइरहेको अवस्था थियो । तरपनि हामी ति घटनाहरुलाई नजर अन्दाज मात्र गर्यौं । ति घटनाहरुलाई हेरेर र विगतमा हामीले भोगेका समस्याहरुबाट पाठ सिकेर आगामी दिनमा आउने संभावित घटनाहरु लिएर अगाडि बढ्ने कोशिस कहिल्यै गरेनौं । 

भौतिक उपस्थितिमा सञ्चालन गरिने कक्षा बाहेकको कुनै पनि विकल्पको खोजी गरेर तयारी अवस्थामा रहने जमर्को नै गरेनौँ । त्यसका लागि आवश्यक पर्ने पूर्वाधारको विकासमा जोड दिनुको सट्टा कानमा तेल हालेर बस्ने काम भयो । 

भोलि आउने कुनैपनि आपतकालिन अवस्थामा भौतिक उपस्थितिबिना नै आधुनिक सूचना र प्रविधिका नविनतम सामग्रीहरुको प्रयोग गर्दै शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिन राज्यले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकहरुको लागि आवश्यक पर्ने सामग्रीहरुको पहुँच पुर्याउने खालको कार्यक्रम ल्याउन अव ढिलो गर्नुहुँदैन । 

हरेक विद्यालयलाई सूचना र प्रविधिको पहुँच भित्र राख्न, भर्चुअल कक्षा लगायत अन्य वैकल्पिक कक्षा सञ्चालन गर्नका लागि आवश्यक पर्ने कम्प्युटर, ईण्टरनेट, प्रोजेक्टरको व्यवस्था मिलाउन अब राज्य पछि पर्नु हुदैन । यसको अलवा अभिभावकहरुमा सुचना र प्रविधिको पहुँच अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु ल्याइनु आवश्यक छ । त्यस्तै अभिभावक शिक्षा, विद्यार्थी सचेतना, शिक्षकको क्षमता अभिवृद्धि गर्ने जस्ता कार्यक्रमहरु ल्याइनु पर्दछ । 

अभिभावक शिक्षा मार्फत आफ्ना बालबालिकाहरुलाई कुनैपनि शिक्षण संस्थाले अनलाइन मार्फत प्रवर्धन गरेका शिक्षण सिकाइ क्रियाकलाप सम्बन्धी कक्षाहरुमा नियमित रुपमा सहभागी हुन प्रेरित गरिनु पर्दछ ।

राज्यले यस्ता कुराहरुमा ध्यान दिने हो भने भोली आउने जस्तोसुकै संकटको घडीमा पनि भौतिक उपस्थितिबिना नै सिकाइलाई निरन्तरता दिन सकिन्छ । बालबालिकाले घरमा नै बसेर आफ्नो शिक्षकको सम्पर्कमा रहेर मज्जाले सिकाइलाई निरन्तरता दिन सक्छन् । सूचना र प्रविधिको नविनतम साधनहरुको प्रयोगले शैक्षिक गुणस्तर वृद्धिमा समेत सहयोग पुर्याउने छ ।

रिजाल जनता नमुना माध्यमिक विद्यालय, विराटनगर–२ का माध्यमिक तहका शिक्षक हुन् ।