स्थानीय पाठ्यक्रम : विवेक पुर्‍याए श्रीखण्ड नत्र खुर्पाको बिंड !


हाम्रो देशको शिक्षा प्रणाली अनुसार कक्षा ८ सम्मको शिक्षालाई आधारभूत शिक्षा भनिएको छ । संविधानमा विद्यालय तहको शिक्षालाइ स्थानीय तह अन्तरगत राखी कक्षा १ देखि ८ सम्मको आधारभूत शिक्षामा १०० पूर्णाड्ढको स्थानीय बिषय पढाईने छ भन्ने व्यबस्था गरिएको छ । शिक्षामा एकद्वार प्रणाली अन्तरगत केन्द्रीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तकहरुबाट नै पठनपाठन र मूल्याड्ढन गर्ने व्यवस्था थियो । अहिलेको शिक्षाको पुनसंरचना अन्तरगत स्थानीय तहलाई आधारभूत शिक्षाका लागि पाठ्यक्रम निर्माणको अधिकार दिईएको  छ । तर स्थानीय तहहरुले यो अधिकार र अवसरलाई उपयोग गर्न सकिरहेका छैनन् । कतिपय स्थानीय तहहरुमा जनप्रतिनिधी, विद्यालय प्रशासन तथा शिक्षकहरु अझै पनि अनभिज्ञ रहेको अवस्था छ । यसरी हेर्दा एकातिर स्थानीय पाठ्यपुस्तकमा के कस्ता बिषयबस्तुहरुको छनौट गर्ने भन्ने बारेमा स्थानीय तहमा जनप्रतिनीधि, विज्ञ, विशेषज्ञ, शिक्षक, अभिभावक लगायतका सरोकारवालाहरुका बीचमा प्राज्ञिक बहस भएको छैन भने अर्कोतिर स्थानीय तहमा शिक्षाको व्यबस्थापन गर्ने प्रष्ट योजना तथा कार्यान्वयन पक्ष अन्यौलग्रस्त देखिन्छ । 

स्थानीय पाठ्यक्रम निर्माण गर्दा सामाजिक, आर्थिक, साँस्कृतिक, भौगोलिक, ऐतिहासिक, प्राकृतिक, लगायतका क्षेत्रहरुलाई आधार बनाउन जरुरी हुन्छ । भौगोलिक अवस्थालाई आधार बनाउँदा पहाड, तराई, हिमालमा पाईने जैविकि विविधता अनुसार हरेक स्थानीय तहहरुमा गर्न सकिने कृषि उत्पादनको संभावनालाई पाठ्यक्रम र पाठ्यपुस्तकमा समावेश गर्न सकेमा त्यहाँका विद्यार्थीले आफ्नो पढाई लेखाई सकेपछि आधुनिक, यान्त्रिक, व्यवसायिक एवं निर्यातमुखी खेति प्रणालीको अवलम्बन गर्न सक्दछन् ।  कृषि, पशुपालन, फलपूmल, तरकारी, नगदेवाली, माहुरी पालन, रेशम खेति मत्स्य पालन, पंछी पालन लगायतका क्षेत्रहरुमा स्वरोजगार बनी आयआर्जन गर्न सक्दछन् । स्थानीय तहका शिक्षित युवाहरुमा आधारभूत शिक्षाको जगबाट स्वाबलम्बन बन्न सक्ने बाटाहरु खुल्न सक्दछन् । शिक्षा स्वरोजगार मैत्री बन्न सक्दछ । आय आर्जनसंग जोडिन सक्दछ । यसर्थ स्थानीय पाठ्यक्रम निर्माण गर्दा उल्लेखित कृषि शिक्षाका बिषयबस्तुलाई पाठ्यक्रममा समावेश गर्न जरुरी देखिन्छ ।   

हरेक समाजमा शिक्षाको साँस्कृतिक कार्य हुन्छ । शिक्षाको साँस्कृतिक कार्य अन्तरगत समाजमा रहेका चालचलन, रितिरिवाज, भाषा एवं साँस्कृतिक चाल चलनहरुलाई लोप हुनबाट बचाउने काममा शिक्षाको ठूलो भूमिका हुन्छ । अहिले समाजमा इतिहास र सस्कृतिसंग जोडिएका हाम्रा पुर्खाहरुले आविष्कार गरेका कतिपय स्थानीय उपकरणहरु जस्तै जाँतो, ढिंकी, चेपुवाकोल, पानी घट्टहरु लोप हुँदैछन् । कृषि तथा पशुपालसंग सम्बन्धित उपकरणहरुमा हँसिया, खुर्पेटो, नाम्लो, दाम्लो, कुटो, कोदालो, ठेकी, मदानी, चौंठी लगायतका बोलीचालीका भाषा र पुराना समाग्रीहरुको लोप हुँदै छन् । यसर्थ उल्लेखित समयको माग अनुसार जीवनयापन गर्नको लागि पुर्खाहरुले प्रचलनमा ल्याएका बस्तुहरुलाई नयाँ पिंढीमा पुस्तान्तरण गर्नु आजको आवश्यकता हो । समाजमा प्रचलित बाजा, गाजा, डम्फो, मादल, सारङ्गी, झ्याली, सोरठी, रोदी आदि संस्कृति झल्काउने सम्पदाहरुलाई पनि स्थानीय पाठ्यक्रममा समेट्नु पर्दछ । साँस्कृतिक सम्पदा र चालचलनहरु भूगोल र सम्प्रदाय अनुसार फरक फरक हन सक्दछन् । त्यसैले हरेक स्थानीय तहहरुले आ–आफ्ना  साँस्कृतिक, धार्मिक, पुरातात्विक एवं ऐतिहासिक सम्पदाहरुको पहिचान, विकास र संरक्षणकोलागि स्थानीय तहमा निर्मित पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सक्नु पर्दछ । 

 हरेक स्थानीय तहमा बसोवास गर्ने विभिन्न उमेर समूहका मानिसहरुको लागि आत्मअनुशासन सबै भन्दा ठूलो  आभूषण हो । अहिले शिक्षाले असल चरित्र भएका नागरिकहरु उत्पादन हुन नसकेका सामाजिक बुझाई छ । शिक्षाले माता, पिताभक्त श्रवण कुमाररुपी छोराछोरीहरु र गुरुजनहरुले  एकलव्यरुपी चेलाहरु उत्पादन हुन सकेको अवस्था छैन । जन्म दिने बुवा, आमाको महत्व, गुरुको महिमा, परिवारका सदस्यहरुको वीचमा आपसी समझदारी, लंैगिक सहभाव, ठूलोलाई आदर, सानोलाई माया, शिष्ट, सभ्य, उदार र शालीन व्यक्तित्व  निर्माणमा  आधारभूत शिक्षाको ठूलो महत्व हुन्छ ।  त्यसैले स्थानीय पाठ्यव्रmमले साँस्कारिक एवं नैतिक शिक्षाका बिषयबस्तुलाई शिक्षण सिकाइको माध्यम बनाउनु पर्दछ । यसको साथै समाजका बालबालिकाहरुलाई सामाजिक समस्याको रुपमा रहेका क्षेत्रीय एव जातीय अन्धविश्वासहरुलाई शंसोधन, परिमार्जन एवं परिवर्तनगरी आधुनिक समाज निर्माण गर्नु आजको आवश्यकता हो । त्यसैले आधुनिक सोंच, चिन्तन र अभ्यास गर्नसक्ने सचेत नागरिक उत्पादन गर्न स्थानीय पाठ्यक्रमले भूमिका खेल्नु पर्दछ । 

हाम्रो देश विविधताले भरिएको छ । समाजमा भिन्न जात जाति, भाषा, भाषी, धर्म, संस्कृति, चालचलन, भेषभूषा तथा रहन सहनहरु छन् । यी विविध समुदायहरुका बीचमा आपसी समझदारी, धार्मिक सहिष्णुता, साँस्कृतिक अन्तरघुलन, भाषिक तथा चलन चल्तीहरुलाई आपसी स्वीकारोक्ति, एकले अर्काको इज्जत, सम्मान र आदरगर्ने संस्कृतिको विकास गर्नसक्ने शिक्षा अहिलेको आवस्यकता हो । यसको लागि सबै सम्प्रदायका धर्म, भाषा, चाड, पर्व लगायतलाई पाठ्यक्रममा स्थान दिन आवश्यक ठानिन्छ । आजका बालबालिकाहरु भोलिका नागरिक हुने भएकोले आधाभूत शिक्षाको जगबाट नै उनीहरुलाई लोकतान्त्रिक, अनुशासित, परोपकारी, क्षमाशील, मानवतावादी, सामाजिक  व्यक्ति तथा व्यक्तित्व निर्माण गर्नको लागि तदनुरुपको बिषयबस्तुको छनौट गर्न आवश्यक हुन्छ । 

हाम्रा हरेक स्थानीय तहहरु कुनै न कुनै रुपमा धार्मिक, साँस्कृतिक, पुरातात्विक, तथा ऐतिहासिक  महत्वले प्रख्यात छन् । बालबालिकाहरुले आफ्नो गाउँ, ठाउँ, क्षेत्र, प्रान्त तथा देशमा भएका महत्वपूर्ण  धरोहरहरुको बारेमा जान्नु पर्दछ । बुझ्नु पर्दछ । आफ्नो देशको इतिहासको गौरव गर्नसक्ने, अग्रज पुस्ताको योगदानलाई इज्जत गर्न सक्ने, वीर विरङ्गनाहरुबाट प्रेरणा लिन सक्ने किसिमको ज्ञान बालबालिकाहरुमा हस्तान्तरण गर्नु आजको आवश्यकता हो । दृष्टान्तका लागि राष्ट्रिय रुपमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहबाट राष्ट्रिय एकताको भावना, भिमसेन थापाबाट सार्र्वभौमिकताको महत्व, रामशाहबाट सामाजिक न्याय जस्ता प्रेरणाहरु प्रदानगरी व्यबहारमा अनुसरण गर्ने शिक्षण सिकाइमा आवश्यक भएजस्तै स्थानीय तहमा रहेका समाजलाई विभिन्न क्षेत्रमा योगदान दिएका अग्रजहरुको कार्यबाट प्रोत्साहन प्राप्तगर्न सकिने बिषयबस्तुहरुको छनौट पनि आवश्यक ठानिन्छ । 

अन्त्यमा समाजका पुराना सबै साँस्कृतिक कृयाकलापहरु खराब छैनन् र आधुनिकताका नाममा आयातित नयाँ कुराहरु सबै असल नहुन सक्छन् । एकातिर स्थानीय पाठ्यक्रमले समाजमा रहेका अन्धविश्वासमा आधारित रुढीवादी साँस्कृतिक चलन र प्रचलनहरुलाई शंसोधन तथा परिमार्जन गर्न आवस्यक हुन्छ भने अर्कोतिर कतिपय आधुनिक सामाजिक मूल्य र मान्यताहरुलाई स्थापित गर्दै समाजलाई गतिशील बनाउनु पर्ने हुन्छ । तसर्थ स्थानीय पाठ्यक्रम निर्माणको लागि व्यक्ति, समाज र सिङ्गो मुलुकलाई साँस्कृतिक, सामाजिक एवं आर्थिक रुपमा बदल्न सक्ने बिषयबस्तुको छनौट गर्न सकेमा स्थानीय पाठ्यक्रममा उपयोगी हुन सक्दछ । स्थानीय पाठ्यक्रममा स्थानीय तहको अनुहार झल्कन सक्छ । आधुनिक समाज जग बन्न सक्छ ।