Edukhabar
शनिबार, ०८ बैशाख २०८१
शिक्षामा यो साता

सम्बन्धन दिन आयोगलाई दवाव

आइतबार, १३ असार २०७८
काठमाडौं - गत साता खासगरी कानुन अनुसार आवश्यक मापदण्ड पूरा नगरेको एक निजी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि प्रधानमन्त्री र शिक्षामन्त्रीले चिकित्सा शिक्षा आयोगलाई दबाब दिएको विषयमा केन्द्रित रह्यो । सामुदायिक विद्यालयमा आकर्षण बढ्दै जादा निजी विद्यालय बन्द भएको समाचार प्रकिशत भएको छ । यस्तै अन्य विषयहरुमा बन्दाबन्दी खुकुलो हुँदै जादा विभिन्न तहका परीक्षा सञ्चालनको तयारि भइरहेको तथा विभिन्न प्रकारका प्रकोप र बाढीका कारण विद्यालयको भौतिक पूर्वाधारमा क्षति पुगेको लगायतका रहेका छन् । 
 
- समाचारमा उल्लेख भए अनुसार नेपालका विभिन्न विश्वविद्यालयका १२ जना पूर्व उपकूलपतिहरूले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई चिकित्सा शिक्षा आयोग, आयोगका उपाध्यक्ष र विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न आग्रह गर्दै पत्र लेखेका छन् । पत्रमा चिकित्सा शिक्षा आयोगको मापदण्ड अनुसार मापदण्ड पूरा नगरेको बि एण्ड सि मेडिकल कलेजलाई सम्बन्धन दिन आयोगलाई दबाव दिइएको विषय उल्लेख गरिएको छ । वैशाखको अन्तिम ९मे १४० मा काठमाण्डौ विश्वविद्यालयले कलेजलाई सम्बन्धन दिनका लागि आयोगलाई सिफारिस गरेको थियो । आयोगका पदाधिकारीका अनुसार कलेजले पाँच वर्ष अगाडिदेखिको आसय पत्र नवीकरण नगरेकाले सम्बन्धन दिन नसकिने बताएका छन् । पूर्व उपकूलपतिहरूले आयोगका उपाध्यक्षलाई धम्काइएको विषयमा पनि ध्यानाकर्षण गराएका छन् । सरकारले विश्वविद्यालयहरूको स्वायत्ततामा पनि ध्यान दिन आग्रह गरेका छन् । यसै गरी स्वास्थ्य मन्त्रीले चिकित्सा शिक्षा आयोगलाई बि एण्ड सि कलेजलाई शिक्षण अस्पतालको रुपमा सम्बन्धन दिने विषयको निर्णय प्रधानमन्त्री समक्ष पेस गर्न आयोगलाई निर्देशन दिएको पनि समाचारमा उल्लेख गरिएको छ । 
 
हिमालयन टाइम्सको मुख्य पृष्ठमा असार ५ गते प्रकाशित तेर्से माध्यमिक विद्यालयको तस्वीर । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले विद्यालय उच्च जोखिममा परेको छ । 
 
विद्यालयका भवनहरू निर्माण गर्दा उपयुर्क्त स्थान छनौट नगरेका कारण थुप्रै विद्यालयहरु प्राकृतिक प्रकोप बाढी पहिरोको जोखिममा पर्ने गरेका छन् । विद्यालयहरुका लागि उपलब्ध गराउने जग्गा वस्तीबाट अलग हुने र प्राकृतिक प्रकोपको उच्च जोखिममा पर्ने क्षेत्रमा हुने गर्छ । 
 
- ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूको शिक्षण सिकाइ सुधार हुदैँ जादा विस्तारै निजी विद्यालयहरू बन्द हुदैँ गएको समाचारमा उल्लेख गरिएको छ । केही निजी विद्यालय सञ्चालकहरू आफैले विद्यालय बन्द गरी विद्यार्थीलाई सामुदायिक विद्यालयमा पठाएका छन् । बक्तिया गाउँपालिका ३, हात्तीसुढे स्थित चाइल्ड लर्निङ इङ्गलिस बोर्डिङ स्कुलका निर्देशकका अनुसार गाउँमै सामुदायिक विद्यालयमा अङग्रेजी माध्यमको पढाइ शुरु भएपछी विद्यालयका नर्सरीदेखि कक्षा ४ सम्मका १०१ विद्यार्थी सामुदायिक विद्यालयमा पठाएको उल्लेख गरिएको छ । समाचार अनुसार सामुदायिक विद्यालयको व्यवस्थापन पनि सुधार भएको छ । अभिभावक तथा अन्य सरोकारवालाहरूका अनुसार स्थानीय सरकारले विद्यालयको पूर्वाधार तथा गुणस्तरमा ध्यान दिदाँ सकारात्मक प्रभाव परेको उल्लेख गरिएको छ । 
यो समाचारले शिक्षा क्षेत्रमा संघीयताको महत्व बढाएको छ । विद्यालय शिक्षाको जिम्मेवारी पालिकामा हस्तान्तरण भएपश्चात् पालिकाहरुले सामुदायिक विद्यालयको सुधारमा आफ्नो भूमिकालाई महत्त्व दिएका छन् । पालिकाका नवप्रवर्तनात्मक अभ्यासहरू देशैभरी प्रयोगमा आउन सक्छन् । अर्कातिर अङ्ग्रेजी माध्यमलाई नै गुणस्तर देख्ने विषयमा भने ध्यान दिनु आवश्यक छ । 
 
- कोभिड सङ्क्रमणको दर घट्दै जादा शैक्षिक संस्थाहरूले रोकिएका परीक्षाहरू सञ्चालनको तयारी गरेका छन् । विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग तथा कक्षा १२ को परीक्षा सञ्चालनको तयारी भइरहेको समाचारमा उल्लेख छ । यस्तै समाचार अनुसार अवस्था सामान्य भएमा कक्षा ११ को परीक्षा साउनमा र कक्षा १२ को परीक्षा भदौसम्ममा सञ्चालन गरिने छ । 
 
- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र कोरिया अन्तरराष्ट्रिय सहयोग निकायका बीच सम्झौता भए अनुसार निर्माण कामदार उत्पादन गर्न प्रदेश २ महत्तरीको बर्दिबासमा पोलिटेक्निक शिक्षालय स्थापना गरिने भएको छ । यो परियोजनामा कोइका मार्फत कोरियन सरकारले ८।६ मिलियन डलर खर्च गर्नेछ । परियोजना सन् २०२१ मा शुरु भई सात वर्ष सञ्चालनमा रहनेछ । 
 
- अर्को एक समाचार अनुसार नयाँ शैक्षिक सत्र शुरु भएसँगै तनहुँको दमौली स्थित पुस्तक पसलमा किताब किन्न अभिभावकको लामो लाइन लागेको उल्लेख गरिएको छ । गण्डकी पुस्तक पसलका सञ्चालकले अझै केही किताबहरु नआइसकेको उल्लेख गरेका छन् । 
 
- एक विचारमूलक आलेखमा वैकल्पिक सिकाइका विभिन्न चुनौतीहरुको वारेमा उल्लेख गरिएको छ । लेखकका अनुसार अनलाइन शिक्षणका लागि कम्प्युटर, ल्यापटप तथा स्मार्ट मोबाइल आवश्यक पर्ने भएकाले यसले अतिरिक्त खर्च बढाउँछ । अनलाइन शिक्षणलाई प्रभावकारी बनाउनका लागि यसमा श्रव्य  दृश्य सामग्री ९कथा, छोटा फिल्म, वृत्तचित्र आदि० प्रस्तुत गर्दै विद्यार्थी सहभागीतामा जोड दिएर सिकाइमा विद्यार्थीको रुचि बढाउनु पर्नेमा लेखकले जोड दिएका छन् । 
 
‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्समा गत असार २ देखि ८ गते सम्म प्रकाशित शिक्षा सम्बन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।
 
यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Political Matters : Medical Education Commission pressured to grant affiliation to B&C Medical College !

प्रतिक्रिया