Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

शिक्षार्थीको अन्तरहृदयको आवाज सुनियोस्

शुक्रबार, २५ भदौ २०७८

कोरोना भाईरस कोभिड १९ को जोखिमका कारण लामो समय देखि विद्यार्थी घर मै थुनिएर बस्न वाध्य छन् । त्यसो त शिक्षण संस्थाहरुले वैकल्पिक शिक्षण सिकाइ अनलाइन कक्षाहरु चलाएका छन् । विशेष गरेर शहरी क्षेत्रका शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीले यस्ता अनलाईन कक्षामा सहभागी हुने अवसर पाएका भएता पनि दुरदराजमा ग्रामिण क्षेत्रका विद्यालयहरुमा अनलाइन शिक्षण सिकाइको पहुँच नभएको तथ्याङ्कहरुले देखाएका छन् । ५० प्रतिशत भन्दा बढि विद्यार्थी लामो समयदेखि पढाई लेखाईबाट बञ्चित छन् । वैकल्पिक शिक्षण सिकाइमा जोडिएका विद्यार्थीको सिकाइ उपलब्धी पनि अत्यन्त न्यून रहेको तथ्याङ्कहरुले पुष्टि गरेको अवस्था छ । 

कोभिड–१९ का कारण लामो समयदेखि बन्द भएका शैक्षिक संस्थाहरु सञ्चालन हुने वातावरण बन्दै गएको छ । अहिलेसम्म शैक्षिक शत्र २०७८ को विद्यार्थी भर्ना नै हुन सकेको छैन । उच्चशिक्षाका परीक्षाहरु सञ्चालन हुन सकेका छैनन् । विगत दुई बर्षदेखि सिथिल भएको शिक्षण सिकाइ प्रकृयाका कारण विद्यार्थीमा मानसिक पिडा थपिएको छ । शैक्षिक क्यालेण्डर नै फरिने हो की भन्ने मानसिक तनावमा विद्यार्थी छन् । अझै पनि काठमाडौं लगायत विभिन्न ठाउँहरुमा कोरोनाको प्रभाव छ । 

शैक्षिक संस्थाहरु बन्द भए पछि विद्यालय शिक्षादेखि उच्चतहसम्मका लाखौं शिक्षार्थी आ–आप्mनो घरमा बन्द भएर बस्न पर्दा उनीहरु मानसिक रुपमा हैरान भएका छन् । यस्तो  अवस्थामा उनीहरुलाई सकारात्मक सोचको विकास गर्न मनोपरामर्शको आवश्यकता छ । एकातिर ५० प्रतिशतको  हाराहारीमा अनलाइन कक्षाबाट बञ्चित भएका विद्यार्थीले पनि प्रभावकारी सिकाइ गर्न सकेका छैनन् भने अर्कोतिर भर्चुअल कक्षाको पहुँच नभएका विद्यार्थीले शिक्षण सिकाइ गर्न नै पाएका छैनन् । अनलाइन शिक्षण सिकाइमा संलग्न विद्यार्थीको संख्या अत्यन्त न्यून छ । कतिपय विद्यालयहरुमा ४० प्रतिशतको हाराहारीमा मात्र विद्यार्थी अनलाइन कक्षामा जोडिएका छन् । अब अनलाइनमा धेरै पाठहरु पढेका र एउटा पनि अनलाइन कक्षा लिन नपाएका विद्यार्थीलाई शिक्षकहरुले कसरी एउटै कक्षामा पढाउने ? यो पनि एउटा समस्याको रुपमा देखिएको छ । 

त्यसो त अनलाईन कक्षाहरुमा जोडिएका विद्यार्थीको सिकाइ उपलब्धी पनि सन्तोषजनक हुन सकेको छैन । तथापि अनलाइन कक्षामा संलग्न हुने र नहुने विद्यार्थीको बिचमा सिकाइको अन्तर हुनु स्वभाविक ठानिन्छ । यस सन्दर्भमा विभिन्न उमेर समूहका विद्यार्थीलाई कसरी शिक्षण सिकाइमा संलग्न गराउने र  उपलब्ध हुनसक्ने अवसर प्रदान गर्ने भन्ने बिषय आजको मुख्य चुनौति हो । 

शैक्षिक शत्र २०७७ मा परीक्षा नै दिन नपाई कक्षा चढेका वा चढाईएका विद्यार्थीको मनोदशालाई अध्ययन गरी उनीहरुको मनोविज्ञानमा सकारात्मक सोचाईको विकास गर्न सकेमात्र पठन पाठन प्रभावकारी हुन सक्दछ । आइन्सटाइनले मानिसको एउटा मूल्यवान चीज भनेको उसको अन्तरहृदयको आवाज हो भनेका छन् । बालबालिकाहरुको हृदयको आवाजलाई नसुनीकन गरेको शिक्षण प्रभावकारी हुन सक्दैन । बालबालिकाहरुको कलिलो मस्तिष्कमा परेको असरले उनीहरुको प्रगतीमा बाधा अवरोध सिर्जना गरेको हुन्छ । यस अर्थमा विद्यार्थीका समस्याहरुको पहिचान गर्नको लागि मनोपरामर्श गर्न जरुरी छ । 

अहिलेको अवस्थामा अभिभावक, गुरुजन, विद्यालय प्रशासन लगायत परिवारका सदस्यहरुले विद्यार्थीको मनोवल बढाउने काम गर्नु पर्दछ । घरमा अभिभावकले र कक्षामा गुरुजनहरुले विद्यार्थीमा सकारात्मक चिन्तनको विकास गराउन भूमिका खेल्नु पर्दछ । यसो गर्दा अनलाइन कक्षामा पढाई छुटेकाहरुलाई अतिरिक्त कक्षा सञ्चालन गरी सिकाइका उद्देस्यहरु हासिल गर्ने र गराउने कार्य एउटा उपाय बन्न सक्छ । अथवा कक्षामा जानेकोले नजानेकोलाई सिकाउने ‘पियर टु पियर’ लर्निङ् गराउने अर्को उपाय बन्न सक्छ । यसका अतिरिक्त विद्यार्थी, गरुजन र अभिभावकहरुसंगको मनोपरामर्शबाट कुनै उपायको खोजी गर्न सकिएला । यस तर्फ शिक्षालय, शिक्षकहरु र अभिभावकहरु निकै नै चनाखो हुनु पर्ने बेला आएको छ । 

शैक्षिक सत्रको तीन महिना विति सकेको अवस्थामा जुन बाटो र पाटोबाट हेर्दा पनि शैक्षिक शत्र २०७८ को पढाई लेखाई एवं शैक्षिक क्रियाकलाप अगाडि देखिएका चुनौतिहरु धेरै छन् । शिक्षण सिकाइलाई खरायो दौडाईमा हिडाउँदा विद्यार्थीले तहगत एवं पाठगत शैक्षिक उपलब्धीहरु हासिल गर्न सक्दैनन् । यस सन्दर्भमा सबन्धित निकायहरुले सोचबुझका साथ शिक्षा क्षेत्रका तमाम समस्याहरु समाधान गर्न सक्नु पर्दछ । 

बैशाख देखि शिक्षण संस्थाहरु बन्द भएपछि किशोर किशोरीहरु पढाई लेखाइबाट मात्र बञ्चित छैनन् उनीहरु विभिन्न मनोवैज्ञानिक समस्याहरुबाट ग्रस्त भएका छन् । साथीसंगीहरुबाट पनि छुट्टिएका छन् । शिक्षक शिक्षिकाहरुबाट टाढिएका छन् । सामाजीकीकरण हुन पाएका छैनन् । स्वतन्त्र हिँड्डुल, भेटघाट लगायतका क्रियाकलापहरु गर्न  पाएका छैनन् । विद्यार्थीमा भएको आन्तरिक असन्तुष्टी, द्वन्द, नैराष्यता, उदासिनता जस्ता समस्याहरुले उनीहरुको पढाई लेखाईमा वाधागरी रहेका हुन सक्दछन् । तसर्थ बुवा, आमा, अभिभावक, शिक्षक तथा शिक्षालय प्रशासनले उनीहरुको मनोविज्ञान बुझीकन सकारात्मक सोचको विकास गराउनु पर्दछ ।  

विद्यार्थी जीवनमा ज्ञान आर्जनका माध्यमहरु धेरै हुन्छन् । शिक्षालयहरुमा भेलाभई साथीसंगी, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक शिक्षिका, अवलोकन, अन्तरक्रिया, छलफल, पुस्तकालय, खेलकुद, वादविवाद लगायतका माध्यमबाट ज्ञान आर्जन हुन्छ । उल्लेखित बाटा र पाटाहरु बन्द हुँदा यसको असर विद्यार्थीको मानसिकतामा पर्न स्वभाविक नै हो । तथापि हामीले चाहेर यो अवस्था आएको होइन । इतिहासमा पनि विभिन्न कालखण्डहरुमा यस्ता महामारीहरु आउने गरेको, शिक्षण संस्थाहरु ठप्प हुने गरेको र पछि सम्पूर्ण कुराहरु सहज भएको जस्ता बिषयहरुको प्रशिक्षण दिएर उनीहरुको विचलित मानसिकलाई सकारात्मक बनाउन सकिन्छ । 

शिक्षाविद ह्वाइट र लिपिटले मौलिक तथा विद्यार्थी केन्द्रीत शिक्षण सिकाइको लागि सिक्ने व्यक्ति मानसिक रुपमा तयार हुनुपर्ने कुरामा जोड दिएका छन् । हाम्रा शिक्षालयहरुमा शिक्षा मनोविज्ञानको पक्ष अत्यन्त कमजोर भएको मनोविदहरु बताउँछन् । शिक्षालयहरुमा मनोपरामर्श दाताको आवश्यकताको महसुस भएको नै पाईदैन । गुरुजनहरुसंग बालमनोविज्ञानको प्राज्ञिक गुण कमजोर रहेको तथ्याङ्कहरुले बताउँछन् । यस सन्दर्भमा लामो समयसम्म शिक्षालयहरुबाट टाढा रहेका शिक्षार्थीहरुलाई मानसिक रुपमा सकारात्मक बनाऔं । यसको लागि आ–आप्mनो ठाउँबाट शिक्षर्थीहरु अन्तरहृदयको आवाज सुनौं । उनीहरुका समस्याहरु बुझौं । समस्या समाधानका उपायहरु सुझाऔं । 

प्रतिक्रिया