Edukhabar
मंगलबार, २२ असोज २०८१
विचार / विमर्श

मानव स्रोत विकास योजना विना उच्च शिक्षामा लगानी बालुवामा पानी

बुधबार, ०४ फागुन २०७८

विश्वविद्यालयको शिक्षा हासिल गर्न समय र पैसा दुबै खर्च हुन्छ । यो स्वभाविक हो कि उच्च शिक्षा हासिल गर्नेहरु पढाई सके पछि कामको संसारमा प्रवेश गर्न चाहन्छन् । तर एउटा व्यक्तिले उच्च शिक्षा हासिल गर्ने क्रममा आफुलाई ऋणमा चुर्लुम्म डुबाउनुका साथै अध्ययनका लागि लामो समय खर्चेको हुन्छ । 

यो सत्य हो कि विश्वविद्यालयबाट सफलता पूर्वक अध्ययन सकेर निस्केका व्यक्तिले विश्वविद्यालय नगएका व्यक्ति भन्दा बढी नै आय आर्जन गर्न सक्छ । तर के यो सँधै र सबैका लागि सत्य हो ? बेलायतमा गरिएको  एक अनुसन्धानका अनुसार विश्वविद्यालय शिक्षामा भएको खर्चका तुलनामा विश्वविद्यालय उत्तीर्ण एक तिहाई पुरुषहरुले आफ्नो तलवमा थोरै मात्र वढोत्तरी भएको पाएका थिए ।

यो अनुसन्धानबाट आएको तथ्य त होइन तर विभिन्न देशमा धेरै मानिसहरुको सोचाइ के रहेको छ भने विश्वविद्यालय शिक्षाका लागि मरिहत्ते गर्नु भनेको समय र पैसाको बर्बादी हो । धेरै मानिसहरुको सोच के पनि रहेको छ भने  विश्वविद्यालयमा खर्चिने पैसा, समय र प्रयत्नलाई कामको अनुभव हासिल गर्न र पैसा कमाउन तिर लगाउन सकियो भने जीवन सजिलो हुन्छ रे । 

के यो सत्य हो ? के यो समाज र देशका लागि पचाउन सकिने विचार हो ? 

के विश्वविद्यालय शिक्षामा गरिएको लगानी देश र समाजका लागि फलदायी हुँदैन ?

विश्वविद्यालय शिक्षाले हाम्रो समाजमा ठुलो भूमिका खेलेको हुन्छ । भोलिका असल नागरिकहरुलाई विश्वविद्यालयले नयाँ अनुसन्धान र प्रविधि प्रति परिचित गराउँछ । विश्वविद्यालयले व्यक्तिमा स्वतन्त्र र सिर्जनात्मक सोचको पनि विकास गर्छ । यो भन्दा अझै महत्वपूर्ण कुरो हो विश्वविद्यालय शिक्षाले व्यक्तिमा असल मूल्य र मान्यताहरुको विकासमा ठुलो भूमिका खेल्छ ।  

यसका साथै आत्मज्ञानको प्रर्वधन, रोजगारीको सिर्जना र नागरिक सहभागितामा वृद्धि गर्न विश्वविद्यालय शिक्षाले ठुलो भूमिका खेलेको हुन्छ । विश्वविद्यालय केवल अध्ययन र अध्यापन गर्ने गराउने संस्था मात्रै होइनन् । यीनले त समाजलाई चलायमान पनि बनाउँछन् । विश्वविद्यालयमा ज्ञानको निर्माण हुन्छ, त्यही ज्ञानको संचार गरिन्छ र निर्मित ज्ञानलाई चुनौती पनि दिइन्छ । 

के हाम्रा विश्वविद्यालयहरु यी कामहरु सम्पादन गरिरहेका छन् त ?

उद्यमी मार्क जुकरबर्ग र बिल गेट्सलाई उदाहरणका  रुपमा लिने हो भने उनीहरु विश्वविद्यालय शिक्षा बिना नै धेरै अगाडी निस्कन सफल भए । त्यसैले कामको संसारमा प्रवेश गरेर व्यक्तिले हासिल गर्ने सीप र अनुभव नै ठुलो हो कि भन्ने अबका विश्वविद्यालयहरुले सोच्नु पर्ने हो कि ?

के विश्वविद्यालय शिक्षा असान्दर्भिक हुँदै गैरहेको छ ? के यसले विश्वविद्यालय उत्तीर्णहरुलाई ऋणमा मात्रै डुबाउँछ वा कामको अनुभव बिना नै कामको संसारमा अलपत्र पार्छ ? नीति निर्माताहरुले अब यी विचारहरुका बारेमा सोच्नु पर्छ कि पर्दैन ? अनुसन्धानकर्ताहरुले अब आफ्नो ध्यान यतातिर दिने कि नदिने ?

विश्वविद्यालय शिक्षा हासिल गर्न एउटा व्यक्तिले आफ्नो जीवनका केही अमूल्य वर्ष खर्चेको हुन्छ । तर नेपालमा अहिले आएर डिग्री केवल सामाजिक स्टेटसका लागि मात्रै सिमित भएको छ । डिग्री सिरानीमा राखेर खाडी मुलुक तिर श्रम गर्न जाने युवाहरुको ताँती नेपालको विमानस्थलमा सँधै देख्न पाइन्छ । देशमै भएकाहरु जसले जागिर पाए उनीहरु पनि न्यून तलबमा काम गर्न बाध्य छन् । उदाहरणका लागि एउटा स्नातकोत्तर गरेको व्यक्तिले एउटा निजी विद्यालयमा धेरै कम तलबमा काम गरिरहेको अवस्था छ । आजका युवाहरुलाई यो ट्रेडमिलबाट मुक्त गर्न आवश्यक छैन र ?

व्यक्तिगत स्तरमा विश्वविद्यालय शिक्षाले व्यक्तिलाई उसको कामको संसारमा मार्केटिंग गर्न सहयोग गर्छ । चाहे कुनै सीपका रुपमा होस् वा योग्यताको प्रमाणका रुपमा होस् विश्वविद्यालय शिक्षाले व्यक्तिमा आत्माअनुशासन र वौद्धिक क्षमताको विकास गर्न ठुलो मद्दत गर्छ । तर मुद्रा स्फिति जस्तै यो पनि सत्य हो कि जति बढी मान्छे विश्वविद्यालय जान्छन् त्यति नै विश्वविद्यालयका डिग्रीको महत्व घट्दै गैरहेको छ ।

हिजो आज कतिपय जागिरका लागि विश्वविद्यालयबाट प्राप्त डिग्री खोजिन्छ तर यसका लागि बिगतमा हाईस्कुल शिक्षाको प्रमाणपत्र नै पर्याप्त थियो । पश्चिमा मुलुकमा त अहिले पनि धेरै मान्छेहरु विश्वविद्यालय शिक्षाका लागि मरिहत्ते गर्दैनन् । एउटा डिप्लोमा लिएर कामको संसारमा प्रवेश गर्नेहरुको संख्या ठुलो छ । श्रम बजार र शिक्षालाई पनि त्यही अनुसार व्यवस्थित गरेका छन् । के सबैका लागि विश्वविद्यालय शिक्षाको ढोका खुल्ला गर्नुपर्छ ? ज्ञानको निर्माण, ज्ञानको संचार र ज्ञानलाई चुनौती दिनसक्ने व्यक्तिले मात्रै विश्वविद्यालय प्रवेश गर्न पाउनुपर्ने होइन र ? बाँकी विद्यार्थीका लागि कलेज वा पोलिटेक्निक शिक्षा पर्याप्त हुदैन र ?

प्रत्येक चिजको कम वा बढी मुल्य हुन्छ नै तर यो मुल्य उचित हुनु पनि त्यत्तिकै आवश्यक हुन्छ । मध्यमवर्गका लागि विश्वविद्यालय शिक्षा महँगो र पहुँच बाहिर भयो भने अनुमान गर्नुस त कस्तो खाले मानिसहरु हाम्रो समाजमा होलान् । काम नलाग्ने र साना–साना ईच्छा मात्रै भएका सामुदायिक नियम पनि पालन नगर्ने र आफ्नो दायित्व पनि नबुझ्ने नागरिक मात्रै उत्पादन हुनेछन् । योग्य बन्न र समाजका लागि असल नागरिक उत्पादन गर्न शिक्षा आवश्यक पर्छ । त्यसैले उच्च शिक्षा सस्तो र सुलभ मुल्यमा प्रदान गर्नु राज्यको कर्तव्य हो । पैसाका आधारमा विश्वविद्यालयलाई वर्गीकरण गरेर कुनै अमुक विश्वविद्यालयलाई उच्च श्रेणीमा राख्नु राम्रो होइन । उच्च शिक्षाका लागि कम आम्दानी हुने, मेहनती र राम्रो ग्रेड ल्याउने परिवारका सन्तानलाई सरकारले नै सहयोग गर्नुपर्छ ।  

ऋण लागोस् वा समय लागोस् शिक्षित हुनु समाजका लागि अति आवश्यक हुन्छ । ऋण, समय र प्रयत्न लाग्छ भन्नु न तर्क संगत हुन्छ न त दिगो नै हुन्छ । देश विकास र सभ्य समाजका लागि विश्वविद्यालय शिक्षामा लगानी गर्नु राज्यको दायित्व हो । शिक्षाको मूल्य तोक्नु राम्रो होइन । शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न यसलाई सबैले मूल्य तिर्न सक्ने बनाउनुपर्छ ।

महँगो उच्च शिक्षा आफैमा समस्या हो । शिक्षालाई सबैको पहुँचमा पुर्याउनु नै आउने युगका लागि शुभ संकेत हो । केही पेशाहरुका सवालमा डिग्री नभए पनि फरक पर्दैन तर केही अरु पेशाहरु उच्च शिक्षा बिना कल्पना गर्न पनि सकिदैन । तसर्थ केही पेशाका लागि विश्वविद्यालयका डिग्री आवश्यक हुन्छन् । तर डिग्री कसरी हासिल गरिन्छन् भन्ने अझै महत्वपूर्ण हुन्छ । विश्वविद्यालय शिक्षाले अख्तियार गर्ने शिक्षण–सिकाइ प्रक्रियाले डिग्रीको गुणस्तरमा अहम भूमिका खेलेको हुन्छ ।

नेपालको सवालमा विश्वविद्यालयमा शिक्षण गरिने केही विषयहरु असान्दर्भिक भैसकेका छन् । तर यस्ता विषयहरुको शिक्षण अहिले पनि जारी छ । कतिपय डिग्रीहरु कामको संसारमा वा दैनिक जीवनमा प्रयोगमा आउने गरी विश्वविद्यालयहरुले विकास गरी अध्ययन अध्यापन गर्नु अहिलेको आवश्यकता हो । घोकन्ते उच्च शिक्षा परीक्षा दिएको केही घण्टाभित्र बिर्सिन्छ । यस्तो उच्च शिक्षामा किन लगानी गरिरहनु ? के पढ्दै छौ र सिकाइलाई कहाँ प्रयोगमा ल्याउने हो भन्ने कुरो सुनिच्चित नभएसम्म उच्चशिक्षाका डिग्रीको कुनै महत्व रहँदैन ।

ज्ञान आर्जन वा निर्माण कसरी गर्ने, व्यक्तिलाई सोच्न कसरी सिकाउने र जगतलाई वैज्ञानिक रुपमा हेर्न कसरी सिकाउने भन्ने कुरोमा विश्वविद्यालय शिक्षाले जोड दिनुपर्छ । हाम्रो जीवनमा कमनसेन्सले हामीलाई ठुलो सहयोग गर्छ तर विश्वविद्यालय शिक्षाले कमनसेन्सबाट माथि उठेर समालोचनात्मक ढंगले सोच्न सक्ने नागरिक (आलोचनात्मक विचारक) तयार गर्न सक्षम हुनुपर्छ । 

यसरी नै विश्वविद्यालयले कुनै कामका लागि व्यक्तिलाई तयार गर्छ तर केहीले मात्रै यस्ता ज्ञान र सीप हासिल गर्न सक्ने भएकाले विश्वविद्यालय शिक्षा सबैका लागि भने होइन । यदि उच्च शिक्षा सबैलाई दिने हो भने समय र पैसाको बर्बादी नै हो । यदि आफ्नो व्यक्तिगत विकासबाट आफु सन्तुष्ट हुनसक्नु भएको छैन भने विश्वविद्यालय पढ्न जानु राम्रो हुन्छ । किनकि संसार वा दुनियाँलाई फरक ढंगले हेर्न थाल्ने हो भने विश्वविद्यालयले यो ढोका खोल्ने काम गर्छ ।

उच्च शिक्षा हासिल गर्ने व्यक्तिले अरु भन्दा बढी कमाउने मात्रै होइन उसले आफ्नो जीवनलाई गुणस्तरयुक्त बनाउनुका साथै देशको अर्थतन्त्रमा ठुलो योगदान पुर्याउन सक्षम हुन्छ । अहिलेका विश्वविद्यालयमा पढाइने विषयहरु धेरै नै भए । यसका साथै जनशक्ति बेरोजगार रहेको अवस्थामा विश्वविद्यालयले आफ्ना मौजुदा कार्यक्रमहरु पुनरावलोकन गर्नु पर्ने आवश्यकता पनि त्यत्तिकै टड्कारो रुपमा देखिन्छ ।

नेपाल सरकारको मानवस्रोत विकास योजना विना नै विश्वविद्यालयहरुले विभिन्न क्षेत्रका जनशक्ति उत्पादन गरिरहेका छन् । तर उत्पादित बहुमत जनशक्ति बेरोजगार रहेका र नेपालमा जागिर नपाएर खाडी मुलुक तर्फ निर्यात भैरहेको अवस्था छ । यहाँ निर मनन योग्य कुरो के छ भने नेपालका विश्वविद्यालयहरुले वितरण गरेका डिग्री आवश्यक भएर खाडीमुलुकले कामदार मागेका होइनन् । डिग्रीलाई सिरानीमुनि राखेर नेपाली कामदार विदेशिन वाध्य भएका मात्रै हुन्। 

उदाहरणका लागि नेपालको शिक्षा मन्त्रालय सँधै तदर्थ भएर अगाडी बढेको देखिन्छ । यहाँसम्म कि नेपालको विद्यालय शिक्षणका लागि आगामी १० वर्ष भित्र कति जना बि. एड. र कति जना एम.एड. उत्पादन गर्ने भन्ने योजना समेत छैन । देशमा आपूर्ति हुने शिक्षक संख्या भन्दा कैयौ गुणा बढी बि.एड. र एम.एड. विश्वविद्यालयबाट उत्पादन भैरहेका छन् । यही संख्याका आधारमा शिक्षक लाइसेन्स पनि धमाधम वितरण भैरहेका छन् । जहाँ पायो त्यही बि.एड. र एम.एड. पढाउने क्याम्पस खोल्ने काम भएको छ । यस्ता क्याम्पसबाट कस्ता जनशक्ति उत्पादन हुने हुन् कसैको चासो देखिदैन ।

विश्वविद्यालयले त शिक्षा मन्त्रालयको माग र मापदण्डका आधारमा शिक्षक उत्पादन गर्नु पर्ने होइन र ? यसरी नै आवश्यकताका आधारमा अन्य क्षेत्रहरुका लागि आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गर्नु पर्ने होइन र ?
नेपालमा विश्वविद्यालयबाट निस्केको जनशक्ति जाने ठाउँ भनेको या त निजामती सेवा हो या शिक्षण पेशा हो । राष्ट्रिय मानव स्रोत विकास योजनाका आधारमा अहिलेसम्म देशलाई चाहिने आवश्यक जनशक्ति पहिचान गरेर योजनामा समेट्ने काम नै भएको छैन । सबै पेशाहरुलाई सरकारले नियमन गर्ने काम त झन् परको कुरो हो । शिक्षा मन्त्रालयले वास्तविक आवश्यकता पहिचानका आधारमा अरु सबै सम्बन्धित निकायहरुको पूर्ण र सक्रिय सहभागितामा देशका लागि आवश्यक पर्ने मानव स्रोत विकास योजना बनाउने हो भने अहिले अध्ययन अध्यापन भैरहेका कतिपय विषयहरु खारेज गरेर त्यो लगानी देशको पोलिटेक्निक शिक्षामा लगाउन सकिन्छ । 

मानव स्रोत विकास योजना बनाउने काममा नेपाल सरकार गम्भिर नभए उच्च शिक्षामा गरिएको लगानी बालुवामा पानी खन्याउनु जस्तै हुनेछ । अनि उच्च शिक्षामा गरिएको लगानी समय र पैसाको वर्वादी नै हो कि भन्ने विचार बलियो हुदै नजाला भन्न सकिदैन । साथै ’मास्टर्स’ सकेको सन्तानले बिदेश जानको लागि पासपोर्ट बनाउन पैसा माग्दा बाबाले भन्न नपरोस् कि, “मैले यत्रो वर्ष गरेको लगानी र तँैले गरेको मेहनत त बेकार भयो नि होइन ?

लेखक क्यानडाका रजिष्टर्ड सोसल वर्कर हुन् । 

प्रतिक्रिया