Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

गणित शिक्षण–सिकाइमा अडियो पाठ

शुक्रबार, ०७ असोज २०७९

आधुनिक जमानामा पनि अडियो पाठ !

त्यस माथि गणितको शिक्षण–सिकाइमा यो त झन् कसरी सहज हुन सक्छ !

सूचना प्रविधिको उच्चतम् विकास र विस्तारले विद्यार्थीको सिकाइलाई फरक तरिकाले पनि सहजीकरण गर्ने सम्भावनाका प्रसस्त ढोका खोलेको वर्तमान समयमा यो संशय स्वभाविक लाग्न सक्छ ! 

त्यसो त संसारमा धेरै जसो नयाँ कुराहरू पहिलो पटक प्रस्तुत गर्दा विभिन्न किसिमका चुनौती, संशय र शंका सामना गरेको ईतिहास साक्षी छ । शैक्षणिक विधिमा कुनै पनि विधि सर्वमान्य विधि नभएको कुरा सबैले अनुभव गरेकै कुरा हो । कुनै पनि विधिको आफ्नै किसिमका सवल पक्ष र उक्त विधिले सम्बोधन गर्न नसक्ने कुराहरू हुन्छन् । उदाहरणका लागि प्रवचन विधि संसारमा बढि आलोचित हुने विधि भए पनि यसको प्रयोग पनि उत्तिकै रूपमा गरिएको पाइन्छ । 

गणित विषयलाई अझ बढि जटिल, निरस, धेरै विद्यार्थीले मन नपराउने आदि जस्ता आरोपहरूबाट पनि चिनिन्छ । गणितलाई सजिलो बनाउने विभिन्न उपायहरू बेला बेलामा आउने गरेको कुरा हामी सुन्न र पढ्न पाइरहेका छौं । जस अनुसार गणित सिकाइमा आधुनिक किसिमका तरिका अपनाउने गर्दछौं । क्रियाकलापमा आधारित सिकाइ, परियोजनामा आधारित सिकाइ, खोजमा आधारित सिकाइ, समस्यामा आधारित सिकाइ, आदि जस्ता शैक्षणिक रणनितिहरू अपनाएको पाईन्छ । गणितमा बिभिन्न किसिमका एनिमेसनहरू, भिज्युलहरू, कम्प्युटर सफ्टवेरहरूको प्रयोग आदि जस्ता उपायको गणित शिक्षाका विज्ञहरुले वकालत बिभिन्न गरि आएको पाउँछौं । 

अडियो पाठको उपयोगिता 

यो लेखमा अडियो पाठलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरालाई मध्यनजर गरिएको छ । नेपालमा अझ पनि ईण्टरनेटको पहुँच नपुगेका धेरै ठाउँ छन् । अडियो पाठको उपाय अपनाउँदा त्यस्ता ठाउँका विद्यार्थीलाई गणित सिक्ने अवसर जुटाउन सकिन्छ ।

प्रविधिले फड्को मारेको अहिलेको युगमा गणित  शिक्षण–सिकाइमा अडियो पाठको उपयोगिता के कस्ता गणितीय बिषयवस्तुको सिकाइमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरा यहाँ प्रस्तुत गरिएको छ । 

हामीले इण्टरनेटमा खोज्यौं भने, विभिन्न किसिमका पोडकाष्टहरू शिक्षण–सिकाइमा प्रयोग भएको पाउँछौं । यस्ता पोडकास्टहरू गणितका बिभिन्न विषयको बारेमा र गणितीय वस्तुहरूको अवधारणाको बारेमा पोडकाष्टहरू बनाएको पाइन्छ । तर, अडियो पाठ बनाएर विद्यार्थीको सिक्ने सामग्रीको रुपमा प्रयोग गर्दा कस्ता किसिमका उपलब्धिहरु हुन सक्छन् ? 

अडियो पाठहरू निर्माण गर्दाको शुरु–शुरुमा त अडियो पाठ कसरि बढि प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराको चिन्तन मनन्बाट धेरै कुराहरूको उपायहरू निकालियो । जस्तो, गणितीय विषय बस्तुको अवधारणामा अडियो पाठ बढि प्रभावकारि हुने भएकाले गणितीय अवधारणाको अडियो पाठबाट शुरु गरियो । अवधारणामा काम गर्दा गर्दै साना साना (१–२ चरण) का हिसाबहरूको पाठ पनि अति प्रभावकारि हुने महशुस गरियो । यस्ता पाठहरूमा विद्यार्थीको तार्किक क्षमताको सदुपयोग गर्नु पर्दछ । विद्यार्थीका विचारहरूको सदुपयोग गर्न सक्ने क्षमता अडियो पाठले राख्दछ । कुन समस्यालाई कसरी बुझ्ने, कसरी हिसाब गर्ने, कुन सुत्र लगाउने भन्ने कुराहरूको बारेमा माइण्ड म्याप गराउँदा गणित सिकाइ प्रभावकारी हुन्छ । 

४५ मिनेट लगाएर कक्षामा पढाउने वा विद्यार्थीले सिक्ने कुरालाई १०–१२ मिनेटको अडियो पाठमा समेट्न सकिने रहेछ । यसरि हेर्दा अडियो पाठको समयको सन्दर्भमा झन् प्रभावकारि हुने देखियो । अडियो पाठमा हामीले मेडिटेसनको (जस्तो, सामान किन्न पसल गएको सोच्न लगाउने, समानको मुल्य सोधेको, १०% छुट दिइएको, आदि) प्रयोग गर्न सकिने रहेछ । 

त्यस्तै, अडियो पाठमा कथा, कविता, डाइलग, आदिको प्रयोग गर्दा पाठहरू अझ बढि प्रभावकारी हुन्छ । यी कुराहरू अडियो पाठ बनाउँदै गर्दा सिकिएका कुराहरू हुन् । अरु तरिका र विद्यार्थीको सिकाइ उपलब्धिको बारेमा अध्ययन गर्न पर्ने भएकाले यसका बारेमा अध्ययन गरे पछि लेखिने आशा गरियो । तर, लामो चरणहरू हुने खालका हिसाब, ज्यामितिका साध्यको परिक्षण, लामो वाक्यमा दिइएका प्रश्नको बुझाईमा सहज बनाउन गाह्रो पर्ने अनुमान गरिन्छ । यसलाई सानो सानो भागमा बाँडेर केहि हद सम्म सम्बोधन गर्न सकिएला भन्ने अनुमान लगाउन सकिन्छ । 

- पोखरेल, माहिडोल विश्वविद्यालय थाइल्याण्डबाट साईन्स एण्ड टेक्नोलोजि एजुकेशनमा विद्यावारिधी गर्दै छन् । हाल उनी www.edukhabar.com ले Support to Student Learning through Interactive Voice Recording system - IVR  शिर्षकमा कक्षा ९ का विद्यार्थीको सिकाइको अवस्था अध्ययनका लागि गरिरहेको Experimental Research अन्तरगत सञ्चालित कार्यक्रममा अडियो कक्षा निर्माण समूहको गणित विषय विज्ञका रुपमा पनि संलग्न छन् । 

[email protected] 

प्रतिक्रिया