Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन रोक

आइतबार, ०१ माघ २०७९

काठमाडौं - कक्षा १ मा भर्नाका लागि लिईने प्रवेश परीक्षामा रोक लगाउँदै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले त्यस्ता कामको अनुगमन गर्न स्थानीय तह र जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ । केन्द्रको प्रारम्भिक बालविकास शाखाले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन नदिन र त्यसको तयारी गराइरहेको कार्य रोक्न निर्देशन दिएको हो । केन्द्रले स्थानीय तहलाई लेखेको पत्रमा ‘कक्षा १ मा भर्नाका लागि सञ्चालन गरिने तयारी कक्षा सञ्चालन समेत नगराउन’ तथा ‘अनुगमन गर्न’ समेत भनिएको छ । सो कामको समन्वयका लागि शिक्षा विकास तथा समन्वय इकाईहरुलाई पनि केन्द्रले निर्देशन दिएको छ । 

पत्रमा भनिएको छ : ‘राष्ट्रिय शिक्षा नीति, २०७६, अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धी ऐन, २०७५ र सोको नियमावली २०७७, शिक्षा ऐन २०२८ र नियमावली, २०५९ विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम २०७७ र आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रम २०७६ ले शिशुविकास केन्द्र, प्रारम्भिक बालविकास पूर्व प्राथमिक शिक्षा र आधारभूत तह (कक्षा १–३) मा बालबालिकाको भर्ना, विकास तथा सिकाइ क्रियाकलाप सञ्चालन, विकास तथा सिकाइको मूल्याङ्कन एवम् स्तरीकरण सम्वन्धमा स्पष्ट मार्गदर्शन गरेको छ ।’  

शिशु विकास केन्द्रको अवधारणा अनुसार स्थापना भएका मण्टेसरी र संस्थागत विद्यालयका पूर्व प्राथमिक कक्षाहरुमा बालबालिकाको सर्वाङ्गीण विकास हुने क्रियाकलाप नगरी पढाउने, घोकाउने तथा कण्ठ गराउने एवम् यस्तै प्रकृतिका गृहकार्य दिने क्रम देखिएको केन्द्रले जनाएको छ । कतिपय विद्यालयहरुले कक्षा १ मा भर्नाको लागि प्रवेश परीक्षा लिने गरेको पाइएको भन्दै केन्द्रले प्रवेश परीक्षाका लागि भनेर विभिन्न ठाउँमा तयारी कक्षाका नाममा बालबालिकाहरुलाई महिनौंदेखि घोकाउने कण्ठ गराउने जस्ता कार्यले बालबालिकाको सृजनात्मकता र अन्तर्निहित प्रतिभामा हानी पुग्ने उल्लेख गरेको छ । यस्ता कार्य हुने गरेको भनी सरोकारवाला र विज्ञहरूसमेतबाट गुनासो आएको भन्दै मण्टेसरी र संस्थागत विद्यालयका पूर्व प्राथमिक कक्षामा बालबालिकाको सर्वाङ्गीण विकास हुने क्रियाकलाप मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन केन्द्रले निर्देशन दिएको जनाएको छ । 

प्रतिक्रिया