Edukhabar
आइतबार, ०६ साउन २०८१
बहस

शिक्षामा ‘शिशिर’ फाटोस्, वसन्त पलाओस् !

बुधबार, ०४ माघ २०७९

शिशिर अर्थात् ‘चिसो’, ‘सर्दी’ । अहिले यही ‘सर्दी’ शिक्षामा छ । यो सर्दी विद्यालयको बालविकासदेखि विश्वविद्यालयसम्म व्याप्त छ । यही व्याप्त सर्दीको उपचार खोजिरहेका छन्, विद्यालयदेखि विश्वविद्यालयसम्मका सरोकारवाला ।

विशेषतः सार्वजनिक शिक्षाप्रति आम धारणा सकारात्मक छैन । युवाहरुले यहाँको शिक्षामा अवसर देखेका छैनन् । उनीहरु प्वाँख हालेर राम्रो अवसरको खोजीमा विदेश ताकिरहेका छन् । यो सबैलाई उत्तिक्कै दुःखको कुरा हो । शिक्षा खत्तम भयो, बर्बाद भयो भनेर चिन्ता गर्नेहरुको समूह बढ्दै छ ।

चिन्तन गर्नेहरुका कुरा पनि सरकारमा गएकाहरुले ‘एक कानले सुन्ने, अर्को कानले उडाउने’ गर्दा अर्को दिक्दारीको विषय बन्ने गरेको छ ।

अभ्यास गर्नेहरुको अनुसरण र विस्तार प्रति अनदेखा गरिदाँ राम्रा अभ्यासहरु छोपिएका छन् । सँधै वेवास्ता गरे पछि राम्रा अभ्यास गर्नेहरुमा पनि विस्तारै जाँगर मर्दो रहेछ । राम्रा अभ्यासले परिवर्तन ल्याएको देख्दा पनि राज्यका निकायले निरन्तरतामा ध्यान नदिनु अर्को विडम्वना भएको छ ।

यही परिवेशबाट गुज्रिरहेको शैक्षिक सदाबहादर ऋतुहरुबीच शिशिरको सुरुवाती माघ महिनाको पहिलो साता (माघ ३ गते) शिशिर खनाल संघीय शिक्षा मन्त्रीका रुपमा शिक्षाको बागडोर सम्हाल्न आएका छन् । उनको आगमनसँगै धेरैले उनीप्रति आशाले हेरेका छन् । सार्वजनिक शिक्षा प्रति उनको लगाव र विगतको अभ्यासले उनलाई शिक्षामा केही गर्ने ‘हुट्हुटी’ भएका सम्भावनाका व्यक्तिका रुपमा सञ्चार माध्याम र सामाजिक सञ्जालमा चित्रण गरिएको छ । 

शिक्षामा गर्नुपर्ने कयौं विषयहरु बाँकी छन् । ती बाँकी विषयहरुलाई शिक्षामन्त्री बनेका खनालले क्रमैसँग सम्बोधन गर्नुपर्ने जरुरी छ । हुन त सत्तामा बसेर काम गर्न र बाहिर बसेर भन्नमा आकाश जमिनको फरक छ । यही फरकको दूरीलाई घटाउने कामलाई सदैव प्राथमिकतामा राख्न सकेको खण्डमा मात्र सफलताको चुली चढ्न उनलाई कठिन हुने छैन । त्यस निम्ति उनले ‘आफ्नो मान्छे’ र ‘पराई मान्छे’ बीचको भिन्नता खुट्याउनु पर्छ । यस क्रममा सबैभन्दा खतरा पनि ‘आफ्नो मान्छे’ बाटै हुने सत्यलाई बिर्सेको दिन उनको ओरालो यात्रा शुरु हुने छ । राम्रो मान्छे राम्रो ठाउँ र सानो कोटरीबाट मुक्त भएर ठूलो घेरा मार्फत् काम गर्न सकेको खण्डमा उनले नतिजा दिन सक्नेछन् । 

शिक्षक, शिक्षण, शिक्षालय, शिक्षार्थी, शिल्प इत्यादिमा आएको असन्तुलनलाई सन्तुलन दिदैं शिक्षाको रखवाला हुन सकेमा इतिहासमा नाम कायम गर्न त सकिन्छ नै, त्यो भन्दा बढी शिक्षामा क्षति व्यहोरिरहेका शिक्षक, विद्यार्थी, अभिभावकलगतयले समयमै ठूलो राहत महशुस गर्न पाउने छन् ।

शिक्षा मन्त्री खनाललाई नेपालको शिक्षाचित्रबारे प्रष्ट जानकारी छ । समस्या कहाँ छ, सम्भावना के छ ? समाधान के हो ? सञ्चार माध्याम र सामाजिक सञ्जालमा गरिएको चित्रणहरुमा नजर डुलाउँदा बुझ्न सकिन्छ – यस्ता प्रश्नको उत्तर खनालसँग छ । यसैले अब शिक्षा मन्त्री खनालले शिक्षाको तथ्यांकलाई केलाएर नीति, अध्ययन अनुसन्धानका सिफारिशहरुलाई वस्तुगत तवरले व्यवहारमा प्रयोग गर्ने अपेक्षा गरौं । 

देशको संरचना बदलिएर नयाँ संविधान जारी भएको पनि ७ बर्ष भईसक्यो तर नयाँ संरचना अनुसार नीति नियम निर्माण नहुँदा शिक्षा क्षेत्र भद्रगोल छ । धेरैको पर्खाइमा रहेको, अघिल्लो सरकारहरुले आँट गर्न नसकेको कारण शिक्षा मन्त्रीको पद बहाल गरेसँगै तेर्सिएको प्रश्न : ‘शिक्षा मन्त्रीज्यू, ‘संघीय शिक्षा ऐन ल्याउने हिम्मत छ ?’ लाई व्यवहार परक तवरले जवाफ दिनु पर्ने मुख्य काम नयाँ मन्त्रीले गर्न सक्लान् ? ‘कागजी घोडा’ मा मात्र नरमाई, निर्वाचन अघि शिक्षाका सवालमा आफूले आफ्नो पार्टिले र सरोकारवालाले उठाएका मुद्धाहरुलाई व्यवहारमा लागू गर्ने कार्यसूची बनाउँदै काम गर्न सक्लान् ? 

शिक्षामा भित्रिएको ‘कु’राजनीतिले समग्र शिक्षा कुपोषणको प्रहारबाट उम्कन सकेको छैन । यसभित्र गाडिएको राजनीतिक जराले शैक्षिक प्रणाली र प्रशासनलाई रुखो बनाएको छ । त्यसभित्र रहेको अदृष्य र संस्थागत हस्तक्षेप र भागबण्डा, ठेक्का प्रथा र कमिसनतन्त्रले थिलथिलो बनेको शिक्षालाई सत्ता भागबण्डाको छायाँ पर्न नदिई काम गर्ने चुनौति शिक्षा मन्त्री खनालसामु छ । यी सबै विषयलाई सदाका लागि किनारा लगाई स्थानीय तहमा गएको माध्यमिक विद्यालय तहसम्मको शिक्षाको अधिकारलाई पूर्णतः कार्यान्वयन गराउन कसरत गर्नुपर्छ । शिक्षाका सवालमा गतिलो काम गरेका स्थानीय सरकारहरुलाई थप प्रोत्साहन गर्ने कामको देखिने गरी अगुवाई गनुपर्छ ।

शिक्षामा अधिकाँश कर्मचारी र शिक्षकहरुको दलगत आवद्धताको स्वार्थ अर्को पेचिलो मुद्धा हो । यसलाई पर्गेल्न सानो तिनो निष्ठा र धैर्यताबाट सम्भव हुँदैन । भातृसंगठन नबनाउने दलको प्रतिनिधित्व गर्दै शिक्षा मन्त्रालयको नेतृत्वमा पुगेका खनालका सामु सबै भन्दा ठूलो चुनौती अरु दलका भातृसंगठनका सदस्यहरु हुनेमा कुनै शंका छैन । उनीहरुसँगको सम्बन्ध र दूरी शिक्षाका सवालमा मात्रै केन्द्रित गर्न सक्छन् कि उनीहरुले गर्दै आएको बिचौलियाको अभ्यासमा नै साक्षि बस्छन् त्यो समयले नै देखाउला । 

यतिखेर उनलाई शंकाको सुविधा छ । गरेर देखाउने यही हो सूवर्ण अवसर । यसलाई मात्र मन्त्रीको फेहरिस्तमा सिंगार्ने औपचारिकतामा सीमित गरेको खण्डमा धेरै मानिसहरु निराश हुनेछन् । नयाँ मन्त्रीमा धेरैले कालो बादलभित्र चाँदीको घेराका रुपमा अथ्र्याएका छन् । शिक्षा क्षेत्र कसरी उत्साहित हुन्छ ? ? यसका राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रिय अभ्यास कस्ता छन् ? यी प्रत्येक प्रश्नको भु्क्तभागीका रुपमा शिक्षामन्त्रीको छवि निर्माण गरिएको छ । 

त्यसैले शिक्षामन्त्रीज्यू, शिक्षामा ‘शिशिर’ फाटोस्, वसन्त पलाओस् !

प्रतिक्रिया